७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना भाइरसबारे चीनमा राजदूतहरुलाई ब्रिफिङ, नेपालीको सुरक्षाबारे राजदूत पौडेलको चासो

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको परराष्ट्र मन्त्रालयले विदेशी राजदूतहरुलाई ब्रिफिङ गरेको छ। उक्त ब्रिफिङमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागि भएका छन्। उनले सो अवसरमा चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरुसँग नोभेल कोरोना भाइरसको नियन्त्रण तथा हुबेइ/वुहानमा रहेका नेपालीहरुको सुरक्षाबारे छलफल समेत गरेका छन्।

छलफलका क्रममा चिनियाँ पक्षले कोरोनाभाइरसको नियन्त्रणका लागि वुहान लगायतका शहरमा  विशेष कदम चाल्नुपरेको बारे सविस्तार वर्णन गर्दै यस असाधारण परिस्थितिमा चीनले अङ्गीकार गरेको नीतिप्रति समझदारी राखिदिन विदेशी दूतावासहरुलाई आह्वान गरेको छ। राजदूत पौड्यालले संक्रमण नियन्त्रणका लागि चीन सरकारले तत्काल चालेका प्रभावकारी कदमप्रति नेपालको समर्थन रहेको बताउँदै हुबेइ/वुहानमा रहेका नेपालीहरुको सुरक्षा एवम् हितका लागि आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरे।

खाद्यपदार्थ, पानी, ‍औषधि जस्ता अत्यावश्यक सामग्रीको अभाव भएमा सो को आपूर्तिका लागि सम्पर्क गर्न चीन सरकारले आपत्कालीन फोन नम्वर समेत  उपलब्ध गराएको छ। जसमा 027-87122256/027- 87811173 रहेको छ। साथै, मद्दतका लागि दूतावासको हटलाइन  नं 156 5072 0069 मा पनि सम्पर्क गर्नसकिने दूतावासले जनाएको छ।

नेपाल सरकार हुबेइ/वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकतानुसारको कदम चाल्न तयार रहेको बताउँदै दूतावासले संकटको घडीमा धैर्य तथा संयम अपनाउन अनुरोध गरेको छ। भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारले समयसमयमा दिने सुझाव पालना गर्न, भ्रमपूर्ण वा अतिशयोक्तिपूर्ण समाचार वा सूचनासँग सावधान रहन दूतावासले अनुरोध गरेको छ।

 

प्रकाशित: १४ माघ २०७६ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App