coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भ्रमण वर्षकाे चुनौतीपूर्ण सुरुवात

पोखरा - सन् २०१९ मा नेपालमा सबैगरी ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ। २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएका थिए। २०१८ को तुलनामा २०१९ को आगमनमा दुई प्रतिशत वृद्धि भएको बोर्डको भनाइ छ। बोर्डको तथ्यांकलाई आधार मान्दा ‘नेपाल भ्रमण वर्ष २०२०’ को २० लाख विदेशी पर्यटकको लक्ष्य पूरा गर्न कम्तीमा आठ लाख बढी विदेशी पाहुना भिœयाउनुपर्छ।

तर, यही अभियान सुरु भएको महिना दिन बित्न नपाउँदै पर्यटकको आउजाउमा व्यापक असर पार्ने गरी प्राकृतिक प्रकोपका घटना दोहोरिन थालेका छन्। यसका कारण भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न चुनौती थपिएको व्यवसायीको भनाइ छ। भ्रमण वर्ष २०२० नै चुनौतीपूर्ण घटनाका शृंखलाको मारमा परेको व्यवसायी बताउँछन्। एकपछि अर्काे चुनौती भ्रमण वर्ष २०२० लाई थपिएको उनीहरुको भनाइ छ।

केही समयअघि भारतमा नागरिकता विधेयकका कारण आन्दोलन चर्कियो। आन्दोलनका कारण भारत हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका विदेशी पर्यटक प्रभावित भए। त्यस्तै भारतमै वायु प्रदूषणका कारण पनि पर्यटकले भारतलाई नेपालसम्मको मार्ग बनाउन चाहेनन्। स्वयं भारतीय पर्यटक पनि आफ्नै मुलुकको अप्ठेरोका कारण हिँडडुल गर्न चाहेनन्।

त्यसपछि नेपालको पदयात्रा क्षेत्र हिमपातको चपेटामा प¥यो। विश्वमै चर्चित मानिएको अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेर हराएका चार कोरियाली र तीन नेपाली पदयात्री अझै सम्पर्कविहीन छन्। हिमपहिरो र निरन्तरको हिमपातका कारण अन्नपूर्ण क्षेत्रको पदयात्रा अझै रोकिएको छ। अझै केही महिना यो पदयात्रा खुल्ने सम्भावना नभएको व्यवसायी बताउँछन्। साहसिक मानिएका पदमार्ग हिमपहिरोको चपेटामा परेका कारण नेपालको पदमार्ग असुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा फैलिएको छ। लामो समयसम्म पदमार्ग नखुल्दा नेपालको पदयात्रामा आउने विदेशी अन्यत्र डाइभर्ट हुने चिन्ता व्यवसायीमा पलाएको छ।

भ्रमण वर्ष सुरु भएको महिना दिन बस्न नपाउँदै पर्यटकको आउजाउमा व्यापक असर पार्ने गरी प्राकृतिक प्रकोपका घटना दोहोरिन थालेका छन्। यसले भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न चुनौती थपिएको व्यवसायीको भनाइ छ।

विश्व बजारमा पर्यटन प्रवद्र्धनको जिम्मा लिएको निकाय पर्यटन बोर्ड यतिबेला नेतृत्वविहीन हुँदा त्यसले सरकारी अभियानलाई नै असर पार्ने व्यवसायीको भनाइ छ। त्यत्तिमात्र नभई केही दिनअघि मकवानपुरको दामनस्थित होटलमा निसासिएर आठ भारतीय पर्यटकले ज्यान गुमाउँदा नेपालका होटलको सुरक्षाप्रति पर्यटन क्षेत्रमा प्रश्न उब्जियो। नेपालका होटलमा एयर कन्डिसनको साटो हिटर बाल्नुपर्ने अवस्था रहेको भन्दै नेपालका होटलबारे नकारात्मक प्रचारप्रसार भएको छ। यसले पनि नेपालको पर्यटन आगमनमा पहिलो हिस्सा ओगट्ने छिमेकी मुलक भारतमा नकारात्मक सन्देश फैलिएको छ।

घटना यत्तिमा मात्र रोकिएको छैन, नेपालमा विदेशी पर्यटक भित्रिने टप १० भित्रका मुलुकमा पर्ने अस्ट्रेलियाको भीषण डढेलोका कारणले त्यो मुलुकबाट पनि आगामी दिनमा विदेशी पर्यटक नेपाल नआउने हुन् कि भन्ने चिन्ता व्यवसायीमा पलाएको छ। सन् २०१९ मा अस्ट्रेलियाबाट नेपाल आउने पर्यटकको संख्या ३८ हजार नौ सय ७२ थियो। आफ्नै मुलुक शोकमा डुबेका बेला अस्ट्रेलियाका पर्यटक रमाउनका लागि नबाहिरिन सक्ने व्यवसायीको अनुमान छ। त्यसले गर्दा २०२० मा नेपाल आउने अस्ट्रेलियन पर्यटक घट्न सक्ने आँकलन व्यवसायीको छ।

भ्रमण वर्ष २०२० लाई चुनौती थप्ने शृंखलामध्ये यतिबेला फैलिएको नोवल कोरोना भाइरसको त्रास बढ्दो छ। चीनमा केही समयअघि सुरु भएको यो भाइरसको संक्रमण अहिले नेपालसहित दर्जन मुलुकमा विस्तार भइसक्दा त्यसको मार नेपाल आउने चिनियाँ पर्यटकमा पर्न थालिसकेको छ। त्यही भारइसका कारण चिनियाँ पाहुना त्रसित भएका छन्। नयाँ वर्ष मनाउनका लागि नेपाल आउने तयारीमा रहेका चिनियाँ पर्यटकले यतिबेला धमाधम पोखराका होटलको बुकिङ रद्द गरिरहेका व्यवसायीले बताएका छन्। २०१९ मा नेपाली पर्यटन बजारको दोस्रो हिस्सा ओगटेको चिनियाँ पाहुनाको संख्या एक लाख ६८ हजार पाँच सय ४३ रहेको छ। २०१८ मा नेपाल भित्रिने चिनियाँको संख्या एक लाख ५३ हजार ६ सय ३३ थियो। 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रका अध्यक्ष हरि भुजेल अनुमान नै नगरिएको ‘रिस्क फ्याक्टर’का कारण भ्रमण वर्षलाई चुनौती थपिएको बताउँछन्। ‘न त व्यवसायीले देखे, न सरकारले नै देखेको र अनुमान गरेको रिस्क फ्याक्टर पर्यटन क्षेत्रमा चुनौतीको रुपमा देखिएका छन्,’ भूजेलले भने, ‘भ्रमण वर्ष २०२० ले सुरुवातमै मार खेप्नुरपरेको छ। भ्रमण वर्षका चुनौती शृंखलाबद्ध रुपमा भइरहेका छन्।’

पर्यटन क्षेत्रमा सानो घटना पनि संवेदनशील हुने भएकाले अहिले आन्तरिक तथा बाह्य रुपमा देखिएका घटनाले नेपाली पर्यटन बजार ठूलो मार परेको उनले बताए। ‘मान्छेले रोक्न सक्ने भन्दा पनि प्रकृतिका कारण अहिले विश्वव्यापी रुपमा चुनौती थपिएका छन्। त्यसको मार नेपालले पनि खेप्नुपरेको हो,’ उनले भने, ‘यस्ता चुनौती अझै बढ्ने संकेत देखिएको छ। बेलैमा होस नगर्ने हो भने पर्यटन क्षेत्र पलायनको मार्गमा जानेछ।’ भूजेलले पनि केही समयअघि नेपालमा देखिएको डेंगीको असरको संकेत यो पटक पर्यटन क्षेत्रमा देखिएकाले आगामी दिनमा डेंगीको प्रकोप थप पैmलिनसक्ने जोखिम रहेको बताए।

‘डेंगीको असर पनि देखियो। आगामी दिनमा पनि यसको प्रभाव पर्ने पक्का छ। त्यही डेंगीका कारण विदेशी पर्यटक नेपाल आउन डराइसकेका थिए,’ उनले भने, ‘अहिले फेरि चिनियाँको सिजन चलिरहँदा उस्तै त्रास छाएको छ। चीनमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला पर्यटन क्षेत्रले अप्ठेरो महसुस गरिसकेको छ।’ डढेलाको मारमा परेको अस्ट्रेलियाका पाहुना यो वर्ष घुमघाममा नजाने मुडमा रहेको हुनसक्ने र त्यसको प्रभाव पनि पर्यटन क्षेत्रमा पर्ने उनले बताए। नेपालको पदयात्रा मार्ग महिनौ अवरोध हुनेगरी आएको हिमपहिरोले पनि उत्तिकै असर पार्ने भूजेलले बताए। नेपाल आएका विदेशी पर्यटकमध्ये १६ प्रतिशत हाराहारीमा पदयात्रामा जान्छन्। पोखरा भित्रिएकामध्ये पनि करिब ४० प्रतिशत पाहुना आसपासका क्षेत्रको पदयात्रामा जाने अनुमान छ। पदमार्ग रोकिँदा पदयात्राका पर्यटक पनि रोकिने उनले बताए।

‘भ्रमण वर्ष २०२० सफल होला नहोला, तर, पर्यटन क्षेत्र नै ध्वस्त हुने अवस्था आउने गरी यो पटक विश्वव्यापी घटना हुन थालेका छन्,’ भूजेलले भने, ‘अहिलेकै शृंखला जारी रहने हो भने भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउने नभई व्यवसायी नै पलायन हुने अवस्था आउनेछ।’ पर्यटनमैत्री नीति नबन्दा पनि समस्या रहेको उनले बताए। अहिलेका घटनामध्ये मकवानपुरको होटलमा भएको जस्तो घटना आगामी दिनमा हुन नदिन व्यवसायीले सचेतना अपनाउनुपर्ने भए पनि प्राकृतिक रुपमा घटेका अरु घटना रोक्न मानवीय प्रयास सफल नहुने भएकाले पनि झनै चुनौतीपूर्ण रहेको भुजेलले बताए।

अर्का पर्यटन व्यवसायी ओमप्रकाश पाण्डे पनि भ्रमण वर्ष २०२० नै चुनौतीपूर्ण घटनाबाट सुरुवात भएको बताउँछन्। ‘घटनै घटना भइरहेका छन्। भ्रमण वर्षलाई नै यी घटनाको शृंखलाले चुनौती थपिदिएको छ,’ पाण्डेले भने, ‘प्राकृतिक घटना हामीले रोक्नसक्ने अवस्था रहन्न। जे होला होला भनेर बस्नुको विकल्प छैन। भ्रमण वर्षलाई सबैभन्दा बढी धक्का दिनेगरी अहिले चीनबाट फैलिएको कोरोना भाइरस रहेको उनले बताए। ‘होटल नै रित्तिने गरी चिनियाँ पाहुनाको बुकिङ रद्द भएको छ,’ पाण्डेले भने, ‘आगामी दिनमा यो संक्रमण अझै फैलिँदा थप चुनौतीपूर्ण हुने देखिएको छ।’

भ्रमण वर्ष २०२० का गण्डकी प्रदेशका सह–संयोजक अग्नि कँडेलले पनि २०२० को सुरुवात नै सुखद् हुन नसकेको बताउँछन्। ‘हामीले जुन उत्साहका साथ भ्रमण वर्षको सुरुवात गरेका थियौं,’ कँडेलले भने, ‘नतिजा त्यसविपरित देखिएको छ। आन्तरिक समस्या आफ्ना ठाउँमा छन्। बाहिरी समस्या झनै जटिल रुपमा देखिएका छन्।’ आन्तरिक रुपमा भएका घटनाका बावजुद पनि पर्यटक आगमन बढाउनका लागि आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको उनले बताए।

पर्यटनमा सबैभन्दा बढी चुनौती यतिबेला फैलिएको कोरोना भाइरसका कारण देखिएको कँडेलले बताए। ‘पर्यटन क्षेत्र नै तहसनहस हुने अवस्था आएको छ। चिनियाँ पाहुना धमाधम फर्कन थालेका छन्। बसाई अवधि रहेका पर्यटक पनि फर्कन थालेका छन्,’ उनले भने, ‘चुनौती घट्ने भन्दा पनि दिनहुँ थपिने क्रम चलिरहेको छ। आन्तरिक भन्दा पनि नेपालमा पर्यटक भित्रिने मूल स्रोतमा बढी समस्या हुँदा त्यसको मार खेप्नुपर्ने अवस्था आएको छ। यसको मारमा भ्रमण वर्ष परेको छ।’

पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछाने पनि भ्रमण वर्ष २०२० लाई चुनौतीको चाङ थपिएको बताउँछन्। ‘जब २०२० को अभियान सुरु भयो, एकाएक विश्वव्यापी घटनाक्रम बढ्न थाले,’ लामिछानेले भने, ‘भारतको नागरिकता विधेयक, एयर पोलुसन हुँदै नेपालको हिमआँधीको डर, होटलको सुरक्षा मामला, कोरोनाको विश्वव्यापी असर, अस्ट्रेलियाको आगलागी लगायत घटना थपिए। त्यसैको मारमा भ्रमण वर्षको सुरुवाती समय परेको छ।’ घटना भइसकेपछिको रेस्पोन्सले पनि पर्यटक आगमनमा असर पार्ने उनले बताए।

प्रकाशित: १४ माघ २०७६ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App