coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धादिङको खरीमा होमस्टे सञ्चालन

धादिङको खरीमा सञ्चालन गरिएको भदुवार कालिका होमस्टे। तस्बिर सौजन्यः राजाराम शर्मा

धादिङ - ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ। स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ। खासगरी व्यवस्थित होटल, लज नभएका स्थानमा होमस्टे राम्रो विकल्प हो। पाहुनाको स्वागत सत्कार गर्नु नेपालीको संस्कार नै हो। यही संस्कारलाई व्यवसायमा रुपान्तरण गरी आयको स्रोत बनाउन धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीमा भदुवार कालिका होमस्टे सञ्चालनमा ल्याइएको छ।

गत वर्ष नै उद्घाटन गर्ने तयारीमा रहेको होमस्टे नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यस वर्षबाट सुरुवात गरिएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर आलेले बताए। ‘भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालन गरेका हौं,’ उनले भने, ‘ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने र स्थानीयको आम्दानीको स्रोत बढाउँदै जाने मुख्य उद्देश्य राखेर खरीमा होमस्टे सञ्चालन गर्न सफल भएका हौं।’

नौवटा घरमा एकपटकमा ३० जनासम्म पाहुना राख्न सक्नेगरी सञ्चालनमा ल्याइएको होमस्टे केही समयपछि अन्य घरमा पनि सञ्चालन गरिने आलेले बताए। धादिङको सदरमुकाम धादिबेंसीबाट एक घण्टा मोटरबाटोमा रहेको भदुवार कालिका होमस्टेमा मगर खानाको परिकार चाख्न पाइन्छ। साथै सोरठी, घाटु लगायत मगर संस्कृतिको मनोरञ्जन लिन सकिने होमस्टे व्यवस्थापकको भनाइ छ।

होमस्टेमा स्थानीय स्तरमा बनेका खानाका परिकार र विषादीरसहित खानेकुरा रहने होमस्टे सञ्चालक एवं व्यवस्थापन समितिका सदस्य अर्चना थापाले बताइन्। ‘हामी गाउँमा उत्पादन भएको कोदो र चामलको रोटी तथा अन्य परिकार बनाउने गर्छौं,’ उनले भनिन्, ‘लोकल कुखुरा तथा बंगुरको मासुका विभिन्न परिकार यहाँका विशेष परिकार हुन्। सिजन अनुसारका विषादीरहित साग, सिम्लीकानको अचारलगायत परिकार पनि उपलब्ध छ।’ संघीय सांसद खेमप्रसाद लोहनीले होमस्टे उद्घाटन गरेका हुन्।

‘होमस्टेको छुट्टै विशेषता छ। आनन्द छ। महत्व छ। होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ,’ थापाले भनिन्, ‘त्यस्तै, यसमा आत्मियता पनि मिल्छ। एउटै परिवारजस्तै भएर बस्न सकिन्छ।’ बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरुलाई होमस्टे राम्रो विकल्प बन्न सक्छ। होमस्टेले स्थानीय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ। यद्यपि, त्यसबाट अझ लाभ लिन वा होमस्टेको आनन्द उठाउनका लागि पनि यो सुनौलो अवसर हुने गर्दछ।

होमस्टेको लागि पूर्वाधार निर्माण गर्नुमात्र ठूलो कुरा नभएको भन्दै यसलाई निरन्तरता दिन चुनौती रहेको होमस्टे व्यवस्थापन समिति सदस्य थापाले बताइन्। ‘होमस्टे सञ्चालन गरेर मात्रै हुँदैन, यसलाई नियमित रुपमा सञ्चालन गर्ने, पर्यटक भिœयाउन नयाँ योजना बनाउनुपर्छ,’ उनले भनिन्, ‘होमस्टेलाई नियमित रुपमा सञ्चालन गर्न र यहाँका मगर समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिको विकासका लागि सरोकारवालासँग सहयोगको अपेक्षा गरेका छौं।’

होमस्टे भनेका ग्रामीण पर्यटनका अगुवा हुन्। गाउँमा गएपछि संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन्। होमस्टे पर्यटकलाई सेवा दिने, रमाउने वातावरण बनाइदिने काममा लागेका छन्। होमस्टेमा आउने आगन्तुक पाहुनालाई मुख्य गेटबाट फूलमालाले स्वागत गर्ने गरिन्छ। त्यसपछि सिजन अनुसारको खाना, नास्ता दिने व्यवस्था छ। त्यसैगरी बेलुका घरघरमा पाहुनालाई खाना खुवाउने र घरघरमै उनीहरुलाई बासको व्यवस्था गरिन्छ। बेलुका स्थानीय लोक संस्कृति कार्यक्रमसमेत प्रस्तुत गर्ने गरेका छन्।

प्रकाशित: १४ माघ २०७६ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App