८ वैशाख २०८१ शनिबार
राजनीति

राज्यका तीनै अंग एकैठाउँमा

फाइल तस्बिर

काठमाडाैँ – मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारलाई नयाँ डिजाइनसहितको पुनःसंरचना गरेर आकर्षक बनाइने भएको छ। राज्यका तीन अंगमध्ये हाल कार्यपालिका मात्र सिंहदबारभित्र रहे पनि अब न्यायपालिका र व्यवस्थापिका पनि भित्रै रहनेगरी सहरी विकास मन्त्रालयले सिंहदबारको नयाँ डिजाइन तयार गरेको हो।

मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गरेलगत्तै काम सुरु हुने सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जनाए। उनका अनुसार नयाँ डिजाइनमा निर्माण हुने सिंहदरबार परिसरमा राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाका सचिवालय तथा कार्यालय एकैठाउँमा ल्याइनेछ। यसैगरी सिंहदरबार परिसरका गेटहरूमा नयाँ रंगरोगन तथा मर्मत सम्भार हुनेछ। परिसरभित्र आकर्षक बगैंचा तथा पार्क थपिनेछन्।

परिसरभित्र रहेका साना टहरा हटाइने र पार्किङ पनि व्यवस्थित गरिनेछ। सुरक्षाकर्मी बस्ने ठाउँलाई पनि व्यवस्थित बनाइने छर प्रविधियुक्त बनाइने योजना रहेको छ। सुरक्षाको दृष्टिकोणबाट पनि थप व्यवस्थित बनाउन मन्त्रालयले तयार गरेको प्रस्तावमा उल्लेख छ।

८ सय ७ रोपनीमा फैलिएको सिंहदबारा व्यवस्थित र आकर्षक बनाउने गरी प्रस्ताव तयार गरेको अधिकारीको दाबी छ। चन्द्रशमशेरको पालमा सिंहदबार परिसर ९ सय ८० रोपनी क्षेत्रफलमा फैलिएको थियो। सिंहदरबार उनले नै बनाएका थिए। तर २०४१ सालमा पूर्वपट्टि र उत्तरपट्टि बाटो विस्तार गर्ने नाममा सिंहदबारको केही जग्गा काटिएपछि हाल ८ सय ७ रोपनी कायम छ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख रवीन्द्र बोहराले सर्वोच्च अदालतको नयाँ भवन पनि सिंहदरबार परिसरभित्र ल्याउन डिपिआर तयार भएको बताए। उनका अनुसार परामर्शदाताले डिपिआरको रिपोर्टसमेत बुझाइसकेको छ। हाल रहेको सर्वोच्च अदालतको भवनको ठिक पूर्वपट्टि नयाँ भवन निर्माण गर्ने निर्णय भएको प्रमुख बोहराले जनाए। अब बन्ने नयाँ भवन सिंहदरबार गेटभित्र आउने छ।

यसैगरी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सचिवालय भवन तथा कार्यालय पनि सिंहदरबार परिसरभित्र ल्याउन नयाँ भवन निर्माण सुरु भएको छ। २०६४ सालको संविधान सभाको निर्वाचनअघि तत्कालीन प्रतिनिधि सभाको बैठक तथा सचिवालयको कार्यालय पनि सिंहदरबार परिसरमै रहेको थियो। २०६४ को संविधान सभाको निर्वाचनपछि भने अन्तराष्ट्रिय सम्मेलन केन्द्रसँग भाडामा लिएर प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने गरिएको छ। हाल सिंहदरबारको पुतली बगैंचामा प्रतिनिधि सभा र राष्ट्रिय सभाको नयाँ भवन निर्माण भइरहेको सचिवालयले जनाएको छ। यी भवन निर्माण भएपछि सिंहदरबार परिसरको उत्तरपट्टि एउटा नयाँ गेट थपिने बोहराले जनाए।

सहरी विकास मन्त्रालयले तयार गरेको डिजाइनमा यसअघि सिंहदरबार परिसमा रहेको संसद् भवन भत्काएर स्टेट गेष्ट हाउस बनाउन प्रस्ताव गरिएको छ। भूकम्प आउनुअघि प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा अहिले रेक्टोफिटिङको काम भइरहेको छ। यो काम पूरा भएपछि मन्त्रिपरिषद्को बैठकको निर्णयबाट उक्त भवनमा नयाँ कार्यालय राखिने सहरी विकास सचिव अधिकारीले जनाए। मन्त्रालयले हाल पुल्चोकमा रहेको मन्त्री क्र्वाटर भवन भत्काएर त्यहाँ स्टेट गेष्ट हाउस बनाउने निर्णय गरेको छ। मन्त्रीहरूको आवासका लागि ललितपुरको भैंसेपाटीमा आधुनिक र आकर्षक भवन निर्माणको क्रममा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ माघ २०७६ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App