७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनबाट आउने जहाजलाई छुट्टै पार्किङ, विमानस्थलको जाँच कम्प्युटरबाट

काठमाडौं – सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ। भ्रमण वर्षको लक्ष्य प्राप्तिमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई नोवेल कोरोना भाइरस महँगो साबित हुने देखिन्छ। चीनको वुहान लगायत केही प्रान्तमा उक्त भाइरसको संक्रमण बढेसँगै त्यहाँको सरकारले आम नागरिकलाई आन्तरिक भ्रमणमै रोक लगाइसकेको छ।

गत वर्ष भारतका केही सहरमा फैलिएको विषालु हावाले अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा प्रभाव परेको थियो। सरकारले मुलुकमा नोवेल भाइरसको संक्रमण आउन नदिन प्रवेशको केन्द्रबिन्दु मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेषसर्तकता अपनाउन आग्रह गरेको छ। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन र हवाई उद्योग संघसँग सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रकोप र नेपालको तयारीबारे छलफल गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने पर्यटकमा भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। चीन लगायत कोरोना भाइरस प्रभावित देशबाट नेपाल आउने जहाजलाई अन्य यात्रुसँग सम्पर्क नहुने गरी व्यवस्थापन गर्न र त्यस्ता जहाजलाई छुट्टै पार्किङको व्यवस्था मिलाउनसमेत भट्टराईले निर्देशन दिएका छन्।

‘नेपाल अहिले पनि पर्यटनका लागि हरेक हिसाबले सुरक्षित गन्तव्य भएको र कोरोना भाइरसबाट सुरक्षित छ भन्ने विश्व समुदायलाई सन्देश दिन आवश्यक छ,’ उनले भने, ‘त्यसकोलागि नेपाल प्रवेश गर्ने नाकाहरुबाट प्रकोप भित्रिन नदिन थप कडाइ गर्न आवश्यक छ। ठूलोमात्रामा चिनीयाँ पर्यटक आउने रसुवागढी नाका लगायतका नेपाल प्रवेश गर्ने नाकाहरुमा विशेष सर्तकता अपनाउन आवश्यक छ।’

प्रकोपबारे सावधानी अपनाउन मन्त्रालय अन्तर्गतका पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलगायतलाई समेत मन्त्री भट्टराईले आग्रह गरेका छन्।मानिसहरु बढी आवतजावत गर्ने लुम्बिनी, पशुपतिनाथ, ठमेल, जनकपुर, पोखरा, चितवन लगायत ठाउँमा विशेष सावधानी अपनाउन मन्त्री भट्टराईको आग्रह छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विामानस्थलमा ‘डेडिकेटेड हेल्थ डेस्क’ स्थापना गरिएको उनले जानकारी गराए। ‘पहिला रहेको सानो डेस्कमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा थप कोठा र थप उपकरण राख्ने काम भएको छ,’ उनले भने। विमानस्थलमा कार्यरत कर्मचारीमा संक्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको समेत उनले बताए। ‘हामीले संक्रमण नहोस् भनेर विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पञ्जालगायत सुरक्षात्मक सामग्री उपलब्ध गराएका छौं,’ उनले भने।

कोरोना भाइरसको संक्रमण हुन नदिन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको र विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच सुरु भइसकेको समेत उनले जानकारी गराए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक देवेन्द्र केसीले प्रकोप प्रवेश गर्न नदिनविमानस्थलमा उच्च सतर्कता अपनाइएको जानकारी गराए। कुनै यात्रुलाई ज्वरो आएको वा रोगसँग सम्बन्धित अन्य कुनै आशंका भेटिएमा अलग्गै राख्ने र तुरुन्तै अस्पतालसम्म लैजाने व्यवस्था तयारी अवस्थामा रहेको जानकारी दिए।‘विमानस्थलका कर्मचारीलाई विशेष सतर्कता अपनाउन मास्क र पन्जा प्रयोग अनिवार्य गरिसकेका छौं,’ उनले भने।

विमानस्थलबाट प्रवेश गर्ने ठाउँमा विशेष हेल्थ डेस्क राखिएको उनले बताए। हेल्थ डेक्समा ‘थर्मल स्क्यानर’ जडान गरिएको र जहाजबाट ओर्लेर एयरपोर्ट छिर्ने यात्रुलाई उक्तथर्मल स्क्यानरको मद्दतले परीक्षण सुरु गरिएको समेत उनको भनाइ छ।

शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने व्यवस्था मिलाइएको समेत उनले जानकारी गराए।अध्यागमन र विमानस्थलका विभिन्न निकायमा खटिने कर्मचारीलाई सुरक्षित रहने उपाय अपनाउन पनि उनले आग्रह गरे। होटलहरुले बिरामी भेट्नासाथ अस्पताल पठाएर सहयोग गर्नुपर्नेमा उनको जोड रहेको थियो।

छलफलमा सहभागी निजी क्षेत्रका पर्यटनसम्बद्ध निकायले सरकारी निकायबाट नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश आउन जरुरी रहेको बताए। नेपालमा संक्रमण बढेको जस्ता भ्रामक समाचार सम्प्रेषण गरेर भ्रमण वर्षलाई प्रभावित नपार्न समेत सबैमा आग्रह गरेका छन्।नेपाल भ्रमणको लागि कोरोना भाइरसको कुनै प्रकोप नरहेको स्पष्ट पार्न आवश्यक रहेको उनीहरुको भनाइ थियो।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन अफ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्स (नाटा) लगायत निजी क्षेत्रका व्यवसायीको छलफलमा सहभागिता थियो। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष नेपाल भ्रमण गर्ने पर्यटकमा चिनियाँ दोस्रोस्थानमा थिए भने भारतीय सबैभन्दा बढी थिए।सन् २०१९ मा नेपालको इतिहासमै सर्वाधिक पर्यटक भित्रिएका थिए। २०१९ मा११ लाख ९७ हजार एक सय ९१ पर्यटकले नेपाल भ्रमण गरेकोमा २०१८ मा ११ लाख७३ हजार ७२ जना आए। २०१८ को तुलनामा २०१९ मा दुई प्रतिशतमात्रै पर्यटक बढेका थिए। सन् २०२० मा २० लाख पर्यटक पुग्नअघिल्लो वर्षभनदा आठ लाख बढी आउनुपर्ने हुन्छ।

प्रकाशित: १४ माघ २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App