coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस अधिवेशन कात्तिक १५ देखि

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनको मिति कायमै राख्दै स्थानीय तहको कार्यतालिका संशोधन गरेको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको सहभागितामा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले यसअघिको कार्यतालिका संशोधन गरेको हो।

संशोधित कार्यतालिकाअनुसार २०७७ कात्तिक १६ गतेबाट स्थानीय तहको अधिवेशन सुरु गरेर २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय छ। यसअघि मंसिर ९ गतेबाट सुरु गरेर २५ गते जिल्ला अधिवेशन गर्नेगरी पुस ११ गतेको केन्द्रीय समितिले निर्णय गरेको थियो। तर, पौडेलसहितका असन्तुष्ट पक्षले आफूहरूको सहभागिताबिनै कार्यतालिका पारित गरिएको भन्दै संशोधन गर्नुपर्ने माग राख्दै आएका थिए। उनीहरूको माग सम्बोधन गर्नेगरी शुक्रबार सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताको बैठकले २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने मिति कायमै राख्दै तल्लो तहको कार्यतालिका संशोधन गर्ने सहमति गरेका थिए।

सोही सहमतिअनुसार सोमबार पेस भएको संशोधित कार्यतालिका बैठकले पारित गरेको छ। जसअनुसार वडा कात्तिक १६ गते, गाउँ÷नगरपालिका १८ गते, प्रदेशसभा क्षेत्र २१ गते, प्रतिनिधि सभा क्षेत्र २३ गते र जिल्ला २५ गते अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। प्रदेश अधिवेशन २०७७ मंसिर २९ गते गर्ने निर्णय गरेको छ। यसअघि कांग्रेसले पुस १५ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो।

बैठकले २०७६ चैत मसान्ताभित्र नयाँ सदस्यता वितरण र नवीकरण गर्ने समय निर्धारण गर्दै साउनमा सदस्यता छानबिन समितिले अन्तिम टुंगो लगाएर निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय भएको केन्द्रीय सदस्य श्यामकुमार घिमिरले जानकारी दिए। यसअघि वैशाखसम्म सदस्यता छानबिन गर्ने र साउनभित्र सदस्यता टुंगो लगाएर निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

असन्तुष्ट पक्षको मागअनुसार २०७७ मंसिर ९ गतेबाट सुरु गर्ने भनिएको अधिवेशन कात्तिक १५ बाट गर्नेगरी कार्यतालिका संशोधन गर्ने सहमति भएको छ।

त्यस्तै, बैठकले पार्टीको क्रियाशील सदस्यता छानबिनका लागि सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। शीर्ष नेताहरूबीच यसअघि नै सात सदस्यीय समिति गठन गर्ने समझदारी गरेका थिए। नरहरि आचार्य नेतृत्वमै सदस्यता छानबिन समिति गठन गर्न सहमत नेताहरूले संस्थापनबाट तीन, पौडेल पक्षबाट दुई र कृष्णप्रसाद सिटौला समूहबाट एकजना सदस्य रहनेगरी सहमति गरेका छन्। १३औं महाधिवेशनका बेला सदस्यता छानबिन गर्न गठन भएको नरहरि आचार्य नेतृत्वको समितिकै टिओआर (कार्यविधि) नयाँ छानबिन समितिलाई दिने नेताबीच सहमति भएको छ। नेता पौडेलसहित असन्तुष्ट पक्षको बहिष्कारकाबीच पुस ११ गतेको केन्द्रीय समितिको बहुमतबाट २०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी कार्यातालिका पारित गरेको छ।

१४औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकको अजेन्डा पनि नबनेपछि बैठक बहिष्कार गरेको बताउँदै नेता पौडेलले सभापति देउवा महाधिवेशन सुनिश्चित गर्नेगरी कार्यातालिका संशोधन गर्न तयार भएकाले बैठकमा सहभागी भएको दाबी गरे। आफूले पार्टीमा कुनै भाग नखोजेको र भागबन्डामा सहमति भएपछि बैठकमा सहभागि भएको कुरालाई अस्वीकार गर्दै पौडेलले भने, ‘भागबन्डामा सहमति भएको होइन। मैले महाधिवेशनको सुनिश्चिताका लागि कार्यतालिका ल्याउन सभापतिजीलाई भनेको थिए। त्यसलाई उहाँले टार्दै बैठक राख्नुभयो। हामी सहभागी भएनौं।’

आफूहरूको सहभागिताबिनै केन्द्रीय समितिको पुस ११ गतेको बैठकले कात्तिकसम्म सदस्यतामै अलमलिने गरी ल्याइएको कार्यतालिका संशोधन गर्न सहमत भएको उनले सुनाए। ‘मैले पार्टीको महाधिवेशन समयमा होस्। मुलुककासामु देखिएको संकट सामना गर्नसक्ने पार्टी बनोस् भन्ने चाहेको हुँ,’ उनले भने, ‘सोहीअनुसार सभापतिजी २०७७ फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने मिति कार्यम राखेर मिति संशोधन गर्न राजी हुनुभयो। पार्टीको क्रियाशील सदस्यता वितरण र छानबिनलाई निश्पक्ष बनाउन समिति गठन गर्नुपर्ने माग पनि सम्बोधन गर्न तयार भएपछि बैठकमा सहभागी भएका हौ।’

पार्टी विधानसँग बाझिनेगरी आएको नियमावलीको दफा निलम्बन गर्नेसहितका विषयहरू टुंगो लगाउन बाँकी रहेको पौडेलले सुनाए। माघ २३ गते बस्ने केन्द्रीय समितिको बैठक पार्टी विधान र नियमावलीमाथि थप छलफलका लागि बैठक बोलाइएको छ। बैठकमा महाधिवेशन प्रयोजनार्थ निलम्बन गरेका विधानका धाराबारे छलफल हुनेछ।

केन्द्रीय कार्यालयमै झडप
कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाली विद्यार्थी संघको १२औं महाधिवेशन छ महिनाभित्र गर्ने गरी पार्टीका शीर्ष नेताबीच सहमति भएको छ। तर, संघको संशोधित विधानअनुसार महाधिवेशन आयोजक समिति ३२ वर्ष तलकै हुनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका विद्यार्थी र अन्य विद्यार्थीबीच झडप भएको छ।

पार्टीका शीर्ष नेताहरूबीच शुक्रबार भएको सहमति अनुमोदनका लागि सोमबार बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागि हुन पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेसहितका समूहले अवरोध सिर्जना गरेपछि संघका दुई पक्षीय विद्यार्थीबीच झडप भएको हो। सभापति देउवालाई काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहका विद्यार्थीले प्रतिकार गरेका थिए। दुई पक्षबीच भएको झडपमा केन्द्रीय कार्यालय परिसरमा राखिएको गमलाहरू फुटेका छन्। नैनसिंह महर नेतृत्वमा रहेको संघको केन्द्रीय समितिले समयमा महाधिवेशन गराउन नसकेपछि एक वर्ष देखि नेवि संघ केन्द्रीय समितिबिहीन छ।

प्रकाशित: १४ माघ २०७६ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App