६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा हुने भएको छ। पार्टी एकतापछि दोस्रोपटक बस्न लागेको बैठक सञ्चालनका लागि सभागृह बुक गरिएको छ। केन्द्रीय कमिटी बैठकमा ४ सय ४५ जना सदस्य छन्। पार्टी कार्यालयको हलमा सबै अट्न सम्भव नभएकाले सभागृह बुक गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए। माघ १५ गतेबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन्। विधान अनुसार ६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीले गरेका निर्णय अनमुमोदन हुनेछन्।

तत्कालिन एमाले र माओवादी केन्दबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रो टक बस्न लागेका सो बैठकमा विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ। विधान संशोधन भएपछि वामवेद गौतम उपाध्यक्ष हुनेछन्। केन्द्रीय कार्यालयका सचिव रिजालका अनुसार राजनीतिक प्रतिवेदन र सांगठानिक प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा रहेको छ। पार्टीले बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्तावलगायतका विषयमा केन्द्रीय सदस्यबीचमै समूह विभाजन गरी छलफल हुनेछ।

आइतबार सोमबार अध्यक्ष दाहालसहित महासचिव पौडेलल केन्द्रीय कार्यालयका सचिवद्वय र कर्मचारीसँग बैठक गरेर आवश्यक निर्देशन दिएका थिए। कार्यक्रम तालिका अनुसार माघ १५ बिहान ११ बजेवाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको सम्बोधनसँगै राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ। त्यसपछि केन्द्रीय सदस्यहरूको समूह विभाजन हुनेछ। त्यसैगरी १६ माघमा समूहका नेताको चयन र दस्ताबेजमाथि समूहगत छलफल हुने कार्यतालिका तोकिएको छ। साथै राष्ट्रियसभा गृह, धुम्बाराही पार्टी कार्यालय र पेरिसडाँडा पार्टी सम्पर्क कार्यालयमा छुट्टाछुट्टै छलफल हुने भएको छ। माघ १८ मा समूह छलफलबाट प्राप्त सुझाव समूह नेताबाट केन्द्रीय कमिटी बैठकमा बैठकमा प्रस्तुत हुने र भिन्न मत आएमा उनीहरूलाई पनि मत राख्न दिने तयारी समेत रहेको छ। त्यसैगरी समूह नेताहरुले विधान संशोधनमा उठाएका जवाफ महासचिव र राजनीतिक प्रतिवेदनमा उठाएका प्रश्नमा अध्यक्षद्वयले जवाफ दिने कार्यतालिका रहेको छ। लामो सयमदेखि बैठक बस्न नसकेको अवस्थामा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम लम्बिन सक्नेसमेत अनुमान गरिएको छ।

‘जातीय मुक्तिका लागि संविधान संशोधन’
नेकपा अध्यक्ष पुष्पकमल दाहालले जातीय मुक्तिका लागि संविधान संशोधन गर्न तयार रहेको बताएका छन्। सोमबार नेकपाको भ्रातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको एकीकरण तथा शपथ ग्रहण समारोहमा अध्यक्ष दाहालले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताउँदै संविधान संशोधन गर्नुपरे पनि तयार रहेको बताएका हुन्।

उनले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको बताएका छन्। ‘नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि जातीय समानताका लागि धेरै विषय सम्बोधन भएका छन्,’ अध्यक्ष दाहालले भने। ‘संविधानले उपलब्धिको रक्षा गर्ने र निरन्तर अघि बढ्ने ठाउँ दिएको छ, शोषण उत्पीडनमा राखिएकालाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रम मात्र हुनेछ।’

अध्यक्ष दाहालले अझै एकताबद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धि प्राप्त भएको छ, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्नेसमेत बताएका थिए। उनले जबसम्म सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन र सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण बनाइँदैन तबसम्म समानताको मात्रै कुरा गर्नु भ्रम मात्र हुन बताए।

उनले पूँजीपति र साम्राज्यवादीहरूले जातीय प्रश्नको कुरामा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिबीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको दावी गर्दै कम्युनिस्टले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जुवा र साम्राज्यवादीले भनेको भन्दा विल्कुल फरक भएकोसमेत बताए। ‘जातीय हक अधिकार साप्रदायिकताको विषय नभई मुक्ति र समानताको विषय, जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको तयारी गर्ने विषय हो,’ उनले भने। कार्यक्रममा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, महाससिचव विष्णु पौडेल, सुरेश आलेमगर शेरबहादुर तामाङलगायतका नेताले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: १४ माघ २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App