८ वैशाख २०८१ शनिबार
समाज

गाउँमा न औषधि न स्वास्थ्यकर्मी

उपभारकाे लागि स्वास्थ्यसंस्था पुगेका हुम्लावासी। फाइल तस्बिर: नागरिक

सुर्खेत – हुम्लाको चंखेली गाउँपालिका–६ मा फैलिएको मौसली फ्लुका कारण दुई सातामा सातजनाले ज्यान गुमाए। वडाका सात गाउँ मौसमी फ्लुले थलिएका छन्। मौसमी फ्लुको प्रकोप सुरु भएको दुई साता हुँदा पनि अहिलेसम्म गाउँमा न स्वास्थ्यकर्मी पुगेका छन् न औषधि। नाै गाउँ हेर्ने मेलखाम स्वास्थ्यचौकीमा औषधि सकिएको एक साता भयो। ‘बिरामीलाई दिन स्वास्थ्यसंस्थामा सिटामोल पनि छैन’, अहेव जयलाल बुढाले भने, ‘स्थानीय र प्रदेश सरकारलाई गाउँको अवस्थाबारे पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।’

स्वास्थ्यचौकीमा अहेव बुढासहित एक अनमी कार्यरत छन्। अहेव बुढाका अनुसार सात गाउँका एक सय ५० भन्दा बढी स्थानीय मौसमी फ्लुले थलिएका छन्। ‘औषधि नहुँदा स्वास्थ्य संस्थामा आउने बिरामी उपचार नपाएरै फर्किने गरेका छन्,’ उनले भने, ‘गाउँपालिकाले पनि अहिलेसम्म औषधि उपलब्ध गराएको छैन।’ गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईं, उपाध्यक्ष विमलाकुमारी शाही र कार्यकारी अधिकृत एक साता प्रदेश राजधानी वीरेन्द्रनगर बसेर संघीय राजधानी काठमाडौं लागेका छन्।

गाउँपालिका अध्यक्ष चौलागाईंले स्वास्थ्य शाखामा पर्याप्त औषधि रहे पनि प्रभावित क्षेत्रमा पु-याउन नसकिएको बताए। ‘एक सातादेखि हामी गाउँपालिका बाहिर छौं,’ उनले भने, ‘स्वास्थ्य शाखामा पर्याप्त औषधि छ, प्रभावित क्षेत्रमा पु-याउन नसकिएको हो।’ उनले स्वास्थ्यकर्मीको अभावमा बिरामीको प्रभावकारी उपचार हुन नसकेको बताए। ‘हामीले उपचार गर्ने होइन, जिल्लामै दक्ष डाक्टर बस्दैनन्’ उनले भने, ‘गाउँको अहिलेको समस्या औषधिभन्दा पनि दक्ष स्वास्थ्यकर्मीको हो।’

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो देखाएको छैन।

दुई साता अवधिमा चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ । त्यस्तै सर्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ ।

अन्य ठाउँमा सामान्य बिरामीका लागि हेलिकोप्टर लिएर पुग्ने प्रदेश सरकारले दुई सातादेखि हुम्लामा फैलिएको फ्लु नियन्त्रणका लागि खासै चासो दिएको छैन। नागरिकमा समाचार प्रकाशित भएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट दुईजना र प्रदेश अस्पताल सुर्खेतबाट दुईजना डाक्टरको नेतृत्वमा औषधिसहित छुट्टाछुट्टै टोली पठाएको छ।

‘मौसमी फ्लु प्रभावित क्षेत्र सदरमुकामदेखि टाढा भएकाले मंगलबार बेलुकासम्म सुर्खेत र जुम्लाबाट पठाइएका चिकित्सक प्रभावित क्षेत्रमा पुग्ने अपेक्षा गरेका छौं,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘चिकित्सकको टोली पुगेपछि मात्रै गाउँमा फैलिएको फ्लुको अवस्थाका बारेमा जानकारी हुन्छ।’ प्रदेश सरकारले जुम्लाको टोलीलाई बाजुरा हुँदै सर्केगाढ पठाएको छ भने सुर्खेतको टोलीलाई सदरमुकाम सिमीकोट हुँदै चंखेली पठाएको छ।

हुम्लाका धेरै स्थानमा मौसमी फ्लुको प्रकोप रहे पनि मुख्यतया चंखेली गाउँपालिका–६ को मासीधारा र सर्केगाड गाउँपालिका–३ को कुनापानी क्षेत्र धेरै प्रभावित छन्। चिकित्सकसँगै मौसमी फ्लुका लागि आवश्यक औषधि र ल्याब टेक्निसियन पनि पठाइएको प्रदेश सरकारले जनाएको छ।

स्वास्थ्य सेवा निर्देशनालयकी प्रमुख डा. रीता भण्डारीले हुम्लामा फैलिएको संक्रमणबारे परीक्षणपछि मात्रै जानकारी हुने बताइन्। ‘चिकित्सक र ल्याब टेक्निसियनले बिरामीको खकारको नमुना संकलन गरेपछि परीक्षणका लागि काठमाडौं पठाउँछौं,’ भण्डारीले भनिन्, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन।’ उनले जुम्ला र सुर्खेतबाट गएको चिकित्सक टोलीले बिरामीको परीक्षण गरेपछि मात्रै थप प्रक्रिया थालिने बताइन्।

भौगोलिक विकटताका कारण कर्णालीवासी बिरामी हुँदा समयमै उपचार नपाएर बर्सेनि दर्जनौंको ज्यान जाने गरेको छ। बर्सेनि कर्णालीको जनसंख्याको करिब आधा हिस्सा विभिन्न रोगले बिरामी हुन्छ। देशको समग्र भूभागको करिब ३३ प्रतिशत क्षेत्र ओगट्ने कर्णालीमा तीन सय ६१ मात्रै स्वास्थ्य संस्था छन्। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार तीन सय ३५ स्वास्थ्य कार्यालय, १४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १० अस्पताल, एक शिक्षण अस्पताल र एक प्रदेश अस्पताल छन्।

तथ्यांक हेर्दा कर्णालीमा आर्थिक वर्ष २०७५/७६ मा आठ लाख २३ हजार ४६ जना विभिन्न रोगले थलिए। करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भए। कर्णालीका सहरबजारभन्दा ग्रामीण बस्तीका मानिस विभिन्न रोगको जोखिममा छन्। बर्सेनि कतिजनाको उपचार नपाएर मृत्यु हुन्छ, यसको तथ्यांक छैन। नजिक स्वास्थ्य संस्था नहुनु, भएका स्वास्थ्य संस्थामा पर्याप्त औषधि, पूर्वाधार र जनशक्ति नहुँदा पनि कर्णालीवासीले समयमै उपचार पाउन सक्दैनन्।

प्रकाशित: १४ माघ २०७६ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App