coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नवनिर्वाचित सभामुखको पहिलो दिन

काठमाडौं – नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा मंगलबार दिनभरि पद दथा गोपनीयताको शपथ ग्रहणदेखि विभिन्न कार्यक्रममा व्यस्त भए। मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनियताको शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू र नेकपाका नेताहरू उपस्थित थिए।

शीतलनिवासभित्र सापकोटाले राष्ट्रपतिबाट सभामुखको शपथ लिइरहँदा राष्ट्रपति कार्यालयबाहिर मानवअधिकारवादीले हत्याका आरोपितलाई शपथ नगराउन माग राखी प्रदर्शन गरिरहेका थिए। विरोध प्रदर्शन गर्ने अधिकारवादीलाई पक्राउ गरी प्रहरीले छाडिसकेको छ।

द्वन्द्वकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटाविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ। हत्याका आरोपितलाई सभामुख बनाइएको भन्दै मानवअधिकारवादीले विरोध गरेका हुन्।

शपथ ग्रहणपछि मध्याह्न १२ बजे सापकोटा पदभार ग्रहण गर्न सिंहदरबारस्थित सभामुख कक्षमा पुगेका थिए। पदभार सम्हाल्दै आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको उनले बताए। सञ्चारकर्मीको प्रश्नमा सापकोटाले आफूमाथि प्रश्न उठे पनि ती प्रश्नहरु निरुपण हुँदै जाने बताए। ‘यो मुद्दा प्रक्रियामा रहेको छ, यसबारे थप नबोलौं,’ उनले भने। सभामुख सापकोटाले संसद्को काम प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाए।

उनले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे निर्णय गर्न हतार गर्न नहुने बताए। आफूले भर्खरै पद बहाली गरेको बताउँदै सापकोटाले एमसिसीबारे थप अध्ययन गरेर मात्र धारणा राख्ने बताए। ‘राम्रोसँग अध्ययन गरेर बोल भनेका छन्। म राम्रोसँग बुझेर मात्र थप कुरा बोल्छु,’ उनले भने। सापकोटा आइतबार सभामुख निर्वाचित भएका हुन्। अरु कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि सापकोटा निर्विरोध निर्वाचित भएका थिए।

पदभार ग्रहणपछि उनले संसद् सचिवालयका कर्मचारीसँग भेटघाट गरेका थिए। त्यस अवसरमा सहयोग गर्न उनले कर्मचारीलाई आग्रह गरे। त्यसलगत्तै नवनिर्वाचित सभामुखसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी थिइन्। राजदूत यान्छी सापकोटालाई भेट्न दिउँसो २ बजे सिंहदरबार पुगेकी थिइन्। आधा घण्टासम्म कुराकानी गरेकी उनले सापकोटालाई बधाई दिएकी थिइन्।

राजदूतसँगको भेटपछि संसद् भवन नयाँबानेश्वर पुगी सापकोटाले संसद् बैठक सञ्चालनको पूर्वअभ्याससमेत गरेका थिए। बुधबार १ बजे संसद् बैठक बोलाइएको छ।

प्रकाशित: १४ माघ २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App