coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामुदायिक वन छोड्न सहमत

सेलाङ गाउँपालिका–१ स्थित मञ्जुदेउराली सामुदायिक वन अतिक्रमण गरेर बसिरहेका भूकम्प पीडितका अस्थायी टहरा । तस्बिर: ध्रुव/नागरिक

सेलाङ (सिन्धुपाल्चोक)- बिनासकारी भूकम्पपछि हिमाली गाउँ सेलाङको बाँसखर्क र काफ्लेडाँडाको सामुदायिक वन क्षेत्रमा आश्रित भूकम्प पीडित थातथलो फर्कँन सहमत भएका छन्। डिभिजन वन कार्यालयको पहलमा साढे चार वर्षदेखि बस्दै आएको वन छोडेर उनीहरु आफ्नै गाउँ फर्कँन सहमत भएका हुन्।

जुगल गाउँपालिका–१ स्थित मञ्जुदेउराली सामुदायिक वनमा ५१ परिवार अस्थायी टहरो बनाएर बसोबास गर्दै आएका थिए। डिभिजन वनका अधिकारी वन क्षेत्र छोडेर आफ्नै थलोमा फर्कँन अनुरोध गर्दै पीडितका आश्रय स्थलसम्म पुगेका थिए। पीडितले छिट्टै वन क्षेत्र खाली गराउने सहमति जनाएको वन अधिकृत तुलाराम घिमिरेले बताए। ‘दुई पक्षबीचको छलफलबाट वन छोड्ने सहमति जुटेको हो,’ उनले भने।

यसअघि घर फर्कँन वडा कार्यालय र डिभिजन वनले अनुरोध गरिरहे पनि उनीहरु अटेर गरेर बस्दै आएका थिए। भूकम्पपछिको आपतकालीन अवस्थामा उनीहरु यहाँ आश्रय लिन आइपुगेका थिए। सेलाङ सेपगाउँका १८ परिवार बाँसखर्क तथा गोल्चे खानीगाउँ र लिदीगाउँका २० परिवार काफ्लेडाँडामा बसिरहेका थिए। उनीहरु छुट्टिइ, भिन्न भइ अहिले ५१ परिवारमा फैलिएका छन्।

सामुदायिक वनको जमिनमा आश्रित धेरैले अनुदानबाट आफ्नै गाउँमा घर बनाइ सकेका छन्। तर घर गएर बस्न आलटाल गरिरहेका थिए। डिभिजन वनको तथ्यांक अनुसार वन क्षेत्रमा आश्रितमध्ये ३५ परिवारले अनुदानको तेस्रो किस्ता लिइसकेका छन्। एक/एक परिवारले पहिलो र दोस्रो किस्ता अनुदान पाएका छन्। ६ परिवारले जग्गा किनेर घर बनाइसकेको पाइएको छ।

जग्गा नभएका दुई परिवारले मात्र घर बनाउन सकेका छैनन् । जग्गा प्राप्तिका लागि पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गर्न उनीहरुलाई सुझाएको वन अधिकृत घिमिरेले जानकारी दिए। जग्गा नभएका पीडितलाई प्राधिकरणले घडेरी किन्न दुई लाख रुपैयाँसम्म अनुदान दिँदै आएको छ। वन र पीडितबीच हाल उनीहरुले लगाइरहेको उब्जनी आफैँले भित्र्याउने र त्यसपछि खेतीपाती नलगाउने समेत सहमति जुटेको छ। पीडितको व्यवहारिकता हेर्दै वन अधिकारी बाली भित्र्याउने विषयमा लचिलो बनेका हुन्। सदरमुकामबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरुले वन क्षेत्र मानिरहेका थिएनन्। कतिपय पीडितले आफू बसेको टहरोमै होटल, पसल सञ्चालन गरेका छन्। केही पीडित गाउँ र वन क्षेत्रको टहरो आउजाउ गरिरहेका छन्। टहरो भत्काउन भने मानेका थिएनन्।

विज्ञले जोखिमपूर्ण औँल्याएको सेपगाउँका एउटा टोलका १९ परिवार भने काफ्लेडाँडा नजिक एकीकृत बस्ती बसालेर बसेका छन्। सामुदायिक वनमा आश्रित पीडितलाई समेत एउटा संस्थाले एकीकृत बस्ती बसालेर राख्न खोजेको थियो। तर उनीहरु मान्न तयार भएनन्। भूकम्पपछि बाँसखर्क र काफ्लेडाँडामा गोल्चे, गुम्बा, सेलाङका विभिन्न गाउँका गरी झण्डै पाँच सय परिवार आश्रित थिए। ५१ परिवारबाहेक सबै पीडित आफ्नै थातथलो र बैकल्पिक स्थान रोजेर फर्किसकेका छन्।

वन अधिकृत घिमिरेले सामुदायिक वन अतिक्रमण गरेर बसिरहेका भूकम्प पीडितलाई फर्काउँने प्रयास भइरहेको बताए। लिसंखुपाखर गाउँपालिकाको सिक्रे र ताम्चे सामुदायिक वनमा थप ४२ परिवार भूकम्प पीडित बसिरहेको उनले जानकारी दिए। ‘उनीहरुलाई पनि वन क्षेत्र छोड्न अनुरोध गरेका छौँ,’ घिमिरेले भने। उनीहरुले पनि अनुदान लिएर गाउँमै घर बनाइसकेको पाइएको छ।


    

 

प्रकाशित: १३ माघ २०७६ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App