coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुपारी, केराउ र मरिचपछि तस्करीको पालो छोकडा

विदेशबाट आयात भएर आएको केराउ सुक्खा बन्दरगाहमा बोरामा हालिँदै। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - विदेशबाट आयात गरेर भारततर्फ अवैध निकासी हुने वस्तुमा सुपारी, मरिच र केराउपछि छोकडा देखिएको छ।

भारतमा अवैध निर्यात गर्न स्वदेशी मागको तुलनामा यस्ता वस्तु धेरै परिमाणमा आयात भएका छन्। पाँचवर्ष अगाडि तस्करीकै लागि आयात गरिने वस्तुको रुपमा सुपारी देखापरेको थियो। सुपारी तस्करीको विषय धेरै चर्चामा आएपछि त्यसको अवैध निकासीमा कडाइ गर्न सुरक्षा निकाय बाध्य भयो। त्यसपछि सीमावर्ती क्षेत्रबाट अवैध निकासी र पैठारीका धन्दा चलाउने गिरोह सुपारी छोडेर मरिचतिर मोडिए। मरिचपछि केराउ अर्को यस्तै वस्तु बनेको थियो। अहिले छोकडा तस्करीको बिगबिगी देखिएको छ।

वीरगन्जको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले माघ ८ मा ना५च ३२४५ नम्बरको महिन्द्रा पिकअप गाडीबाट अवैध निकासी गर्न लागिएको ३२ बोरा छोकडा बरामद ग-यो। त्यो छोकडाको तौल १६ क्विन्टल थियो। वीरगन्जको रानीघाटमा रहेको कृष्णा आटा तथा मसला उद्योगबाट भुजाखरिद गरेको बिल देखाएर छोकडा लैजान खोज्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम ग्रामीण नाकातिर जान लागेको अवस्थामा वीरगन्जको जगरनाथपुरबाट वडाको टोलीले गाडी नियन्त्रण लिएका थिए।

गाडी प्रहरीले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण शाखाका सिपाही विजय यादवले छुटाउन फोन गरेको प्रमाण भेटिए पनि प्रदेश प्रहरी कार्यालयले यादव उपर कारबाही गरेको छ। प्रहरी स्रोतका अनुसार यादव उपर ६ महिना निलम्बनको कारवाही भएको छ। जिल्लाप्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण शाखाबाटै तस्करीलाई प्रश्रय रहेको आरोपलाई यस घटनाले आधार समेत दिएको छ।कार्यालयका प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले यादवलाई प्रदेश प्रहरी कार्यालयले बोलाएको तर सन्दर्भ थाहा नभएको बताए।

भारतको जम्मुस्थित पुल्वामा जिल्लामा १४ फेब्रुअरी २०१९ का दिनभएको एउटा आक्रमणमा आफ्ना ४० सैनिक मारिएपछि भारतले पाकिस्तानसँगको व्यापारिक सम्बन्ध बिच्छेद ग-यो। पहिले पाकिस्तानबाट भारतमा आयात हुने छोकडा आउन बन्द भयो। त्यसपछि अवैध धन्दागर्ने गिरोह पाकिस्तानी छोकडा नेपाल मगाएर अवैध रुपमा भारत निकासी गर्ने धन्दामा लाग्यो। यसले गर्दा छोकडा आयातमा अपत्यारिलो वृद्धि देखिएको छ। तेस्रो मुलुकबाट माल वस्तु आयात भएर आउने मुख्य नाका वीरगन्जको सुक्खा बन्दरगाहको तथ्यांकअनुसार यस वर्ष केराउ र छोकडाको आयात उच्च देखिएको छ। मरिच आयात तुलनात्मक रुपमा पोहोरभन्दा केही घटेपनि नेपालको घरेलु माग भन्दा अहिले पनि निकै बढी आयात देखिन्छ।

केराउ, छोकडा र मरिच तस्करी भने अनवरत छ। यसबीचमा यी मालवस्तु सीमामा तस्करी गरी लैजाने क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा बुझाउने क्रमपनि निरन्तर दखिन्छ। तस्करी नियन्त्रण भने हुन सकेको छैन। बढ्दो तस्करीले नेपालमा छाया अर्थतन्त्रको आकार बढ्न थालेको भन्दै जानकार यसप्रति चिन्ता जनाउँछन्। आर्थिक वर्ष ०७४/७५ को वार्षिक तथ्यांक हेर्दा ६ महिनामा ४५हजार एक सय टन केराउ आयात भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांकछ। ०७५/७६ को ६ महिनामा अघिल्लो वर्षको तुलनामा ७९.३३ प्रतिशतले बढी अर्थात ८० हजार आठ सय ८५ टन केराउ आयात भयो। चालु आर्थिक वर्षमा भने ९८ हजार आठ सय ३५ टन आयात भएको छ। यो भनेको पोहोरको तुलनामा २२.१९ प्रतिशत र त्यसभन्दा अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा १९.१३ प्रतिशत बढी हो।

०७४/७५ मा आफैंमा अप्रत्याशित वृद्धि देखिएको केराउ आयातमा त्यसपछि निरन्तर वृद्धि देखिन्छ। यो तथ्यांकले त्यसको तस्करीअझै बढ्दै गएको संकेत गर्छ। त्यसैगरी, छोकडा आर्थिक वर्ष ०७४/७५ को ६ महिनामा ६ सय ३२टन आयात भएको थियो। यो त्यस बेलाको घरेलु माग अनुसारको आयात हो। आर्थिक वर्ष ०७५/७६को पहिलो ६ महिनामा पनि सोही हाराहारीमा ६ सय ९४ टन आएको छ। यस वर्ष सोही अवधिमा छोकडा आयातमा अप्रत्याशित वृद्धि देखिन्छ। यस वर्ष साउनदेखि पुससम्ममा आठ हजार ६ सय ३१ टन छोकडा आयात भएको सुक्खा बन्दरगाह भन्सारको तथ्यांक छ। यो भनेको अघिल्लो वर्षको तुलनामा साढे १२ गुणा बढी हो। प्रतिशतको हिसाबले साढे १२ सय प्रतिशतभन्दा बढीको वृद्धि देखिन्छ। यसरी आयात भएको छोकडा भारततिर अवैध निकासी भइरहेको छ। प्रहरीले पर्सा र बाराका ग्रामीण र सहरी नाकामा तस्करीको छोकडा बेलाबेलामा बरामद गरे पनि कुल कारोबारको तुलनामा त्यो नगण्य छ।

मरिचको आयात र तस्करी पोहोरको तुलनामा केही घटेको देखिएपनि रोकिएको भने छैन। सुपारी छोडेर तस्करहरु मरिचतिर मोडिएको बेला आर्थिक वर्ष ०७४/७५ को ६ महिनामा तीनहजार एक सय ८७ टन मरिच आयात भएको थियो। त्यसको अर्को वर्ष मरिच तस्करी उत्कर्षमा रहेको बेला ०७५/७६ को ६ महिनामा त्यसको आयात थप २० प्रतिशतले बढेर तीनहजार सात सय ९९ टन पुग्यो। चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा एकहजार नौ सय ६८ टन मरिच आयात भएको छ।

प्रकाशित: १३ माघ २०७६ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App