coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योग मन्त्रीसामु उखु किसानको गुनासो

चिनी मिलमा किसानका समस्या बुझ्दै मन्त्री भट्ट नेतृत्वको टोली।

बारा - वर्षौंदेखि उखुको भुक्तानी नपाएका कारण आफूहरु दयनीय अवस्थामा पुगेको भन्दै उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग किसानले गुनासो गरेका छन्। चिनी मिल सञ्चालकका कारण दैनिक व्यवहार सञ्चालनमा कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।

आइतबार कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिमा अनुगमन गर्न र किसानको समस्या बुभ्mन मन्त्रालयका सचिवसहित आएका मन्त्री भट्टसँग उखु किसानले दुखेसो पोखेका हुन्। उखुलाई नगदे बाली भनिए पनि वर्षौंसम्मका लागि चिनी मिललाई उधारोमा बिक्री गर्नुपरेको उखु किसान रामानन्द यादवले मन्त्री भट्टसामु गुनासो गरे। उधारोमा बिक्री गरिएको उखुको  भुक्तानीका लागि महिनौसम्म चिनी मिल धाउनु परेको उनको भनाइ छ। यसे अवस्था अन्त्य नगरिए किसानले उखु खेती गर्न छाड्नुपर्ने अवस्था आउनसक्ने यादवले बताए।

सरकारले चिनी मिललाई किसानको भुक्तानी गर्न दिएको समयसीमा पनि गुज्रिसकेको छ। चिनी मिललाई उपल्बध गराएको प्रतिक्विन्टल पाँच रुपैयाँ २८ पैसा अनुदान पनि रिलायन्स चिनी मिलले तीन वर्षदेखि नदिएको किसानको भनाइ छ। सरकारले गत वर्ष किसानलाई दिने भनिएको प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान रकमसमेत नपाएको यादवले मन्त्रीसम्क्ष गुनासो पोखे। चिनी मिल र सरकारले किसानको तिर्नुपर्ने पुरानो अनुदान रकम उपल्बध गराई दिनका लागि यादवले मन्त्रीसँग आग्रहसमेत गरे।

कृषि कार्यमा खटेका मजदुरहरुको मजदुरी रकम, मल, खेत जोताई लगायत उखु उत्पादन लागत बर्सेनि बढ्दै जानु तर उखुको मूल्य नबढ्नुले गर्दा उखु किसान समस्या परेको उनले बताए। मिल सञ्चालकबाट वर्षौंदेखि पीडित उखु किसानका समस्या सरकारले बुझ्नुपर्ने  उखु उत्पादक किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहले बताए। किसानका समस्याप्रति सरकार गम्भीर हुुनुपर्ने उनको भनाइ छ। सरकारले चालु सिजनका लागि उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेकामा चिनी मिल सञ्चालकले किसानलाई प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ २८ पैसा र बाँकी रहेको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकराले दिने सम्झौता भएको छ।

किसानको गुनासो सुनेपछि मन्त्री भट्टले चिनी मिल सञ्चालकले सम्झौताबमोजिम काम गरे नगरेको, मजदुरलाई काममा लगाएको अवस्था, किसानप्रति उद्योगीले गरेको व्यवहार लगायत सबै कुरा बुझ्न मन्त्रालयको टोलीसहित चिनी मिल पुगेको बताए। चिनी मिल अनुगमन र किसानसँग कुराकानी गरिसकेपछि मन्त्री भट्टले सरकारले उखु किसानको अवस्थामा सहजता ल्याउन र चिनी मिलका समस्याबारे प्रतिवेदन तयार गरेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक राजकुमार अग्रवालले उखु खरिद गर्ने बेलामै किसानलाई भुक्तानी दिन रकम अभाव हुने धारणा मन्त्री समक्ष राखे। उखु किसानलाई समयमै भुक्तानी दिन सरकारले चिनी मिल सञ्चालकलाई सहुलियत ऋण वा उत्पादित चिनी खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताए।

उखु किसानका समस्या बुझेर नै खरिद गरेको उखुको भुक्तानी चिनी मिलले ढिलै भए पनि गरिरहेको र कुनै पनि किसानको पुरानो उखुको बक्यौता रकम नराखेको दाबी अग्रवालले गरे। मन्त्री भट्टसँगै उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्य सचिव बैकुण्ठ अर्याल र चिनी उद्योग तथा उखु किसानसँग सम्बन्धित समस्या समाधान कार्यदलका अध्यक्ष नवराज ढकाल, चिनी उत्पादक संघका अध्यक्ष राजेश केडिया, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। सो अवसरमा मन्त्री भट्ट नेतृत्वको टोलीले जितपुरसिमरा उपमहानगरपालिकामा निर्माणधीन औद्योगिक सेजको समेत अनुगमन गरका थिए।

प्रकाशित: १३ माघ २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App