coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पारित भयाे हलेसी गुरुयोजना

खोटाङ – खोटाङको त्रि–धार्मिक स्थल हलेसी गुरुयोजनाको प्रस्तावित प्रतिवेदन संशोधनसहित पारित भएको छ। हलेसी गुरुयोजना निर्माणसम्बन्धी शनिबार र आइतबार काठमाडौंमा आयोजित दुई दिवसीय बृहत् अन्तक्र्रियाले हाल तयार पारिएको गुरुयोजनाको प्रस्तावित प्रतिवेदन परामर्शका आधारमा आवश्यक संशोधन गर्दै पारित गरेको हो।

हलेसी तथा आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि निर्माण गरिएको गुरुयोजनालाई लामो समयपछि अन्तिम रूप दिइएको प्रतिनिधिसभा सदस्य एवं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक विशाल भट्टराईले बताए। किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको पहलमा २०७५ जेठदेखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो। दैनिक रूपमा पर्यटक÷दर्शनार्थीको भीड व्यवस्थापन गर्न सके हलेसीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ।

दुई सय मिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने
बृहत् अन्तक्र्रिया कार्यक्रमले हलेसी मन्दिर (गुफा) लाई केन्द्र मानेर दुई सय मिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको छ। यस्तै गुरुयोजनाको प्राथमिकतामा महादेव गुफा, तुवाचुङ जायजुम, होलेसुङ, ककनी र मञ्जुश्री गुफालाई राखिएको प्रतिनिधिसभा सदस्य एवं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक भट्टराईले बताए। ककनी डाँडालाई रक गार्डेनका रूपमा विकास गरिनेछ। यसबाहेक हलेसी आसपासका अन्य गुप्तेश्वर गुफा, सत्तेश्वर गुफा, भुम्जुडाँडा, खाम्तेलगढी, सल्लेपोखरी, महादेवबेंसी, जयराम, जोर्तीघाटलगायत स्थानलाई पनि हलेसी गुरुयोजनमा समावेश गरिएको छ। हलेसी मन्दिरलाई केन्द्र मानेर दुई सय मिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने क्रममा जग्गाधनी तथा सरोकारवाला पक्षसँग छलफल गरेर उचित क्षतिपूर्तिको विषय टुंग्याइने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। मेयर राईका अनुशार अधिग्रहणमा पर्ने घरको लागत स्टिमेट मूल्यांकन, सरकारी तथा निजी जमिनको वर्गाीकरणलगायत काम पनि सम्पन्न भइसकेको छ।

आवश्यक परे गुम्बा पनि हटाइने
छलफलमा मारातीका छोलिङ गुम्बा, गणेश मन्दिर, हलेसी मन्दिर र आसपासका निजी घर तथा हलेसीको प्राकृतिक गुफालाई असर पु¥याउने रूखको उचित व्यवस्थापन गर्ने निर्णय भएको छ। यसका लागि हिन्दु, बौद्ध र किरात धर्मावलम्बीलगायत सरोकारवाला पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्ने जनाइएको छ। मध्यपहाडी लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीय स्थल हलेसीको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धनका लागि बृहत्तर गुरुयोजनाको काम अघि बढाइएको थियो।

गुरुयोजनालाई अन्तिम रूप दिन हलेसी तुवाचुङ नगरपालिकाको पहलमा २०७५ माघ ४ गते प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो। प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, प्रदेशसभा सदस्य राजन राई, रामकुमार राई, उषाकला राई, पूर्वराज्यमन्त्री शिव बस्नेत, सर्वधन राई, पूर्वसांसद टंक राई, विदुर पौडेल, संविधानसभा सदस्य सरस्वती बजिमय, पिके राई, दुर्गाजयन्ती राई, समिता कार्की, हरि रोका, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, हलेसीका वडाध्यक्षलगायत सदस्य रहेको समितिले गत असार ५ गतेभित्रै गुरुयोजना तयार पारिसक्ने कार्यतालिका बनाएको थियो।

यसअघि हलेसी महादेवस्थान विकास समितिले पनि हलेसीको पर्यटन बृहत्तर गुरुयोजना निर्माणका लागि पहल गरेको थियो। पूर्वको पशुपतिनाथका रूपमा चिनिने हलेसीको २०४३ सालमै गुरुयोजना बनेको भनिए पनि हालसम्म फेला पर्न सकेको छैन। उसबेला गुयोजनाका लागि हलेसी मन्दिर आसपासका स्थानीयलाई मुआब्जा दिइएको भए पनि जग्गा अतिक्रमण यथावत् छ। पुरानो गुरुयोजना फेला नपरेको र कार्यान्वयनमा पनि नआएका बेला नगरपालिकाले गुरुयोजनाको अवधारणा अघि सारेको जनाएको छ।

प्रकाशित: १३ माघ २०७६ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App