७ वैशाख २०८१ शुक्रबार
राजनीति

पुरी अझै फरार, नेकपा मौन

दमक – सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोप लागेका नेकपाका नेता रेवतराज पुरी (गगन) लाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेकाे छैन। उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत उनको विषयमा ठोस धारणा सार्वजनिक गरेको छैन।

सुकुमबासीहरूले २०३६ साल अगाडिबाट भोगचलन गर्दै आएको जग्गा पुरीले किर्ते गरी व्यक्तिको नाममा ल्याएका थिए। दमक–८ बालुवाटारमा बस्दै आएका ८२ घर सुकुमबासीहरू २०४२ सालमा रतुवा नदीको बाढीका कारण विस्थापित भएका थिए। उनीहरू अन्यत्र बसेको समयमा र कतिपयलाई धम्क्याएर नदी उकास जग्गा व्यक्तिको नाममा पारेको आरोप सुकुमबासीहरूको छ।

नुवाकोटबाट झरेर २०३६ सालमा दमक–८ मा बस्दै आएका तसरमान श्रेष्ठलाई २०४२ सालको बाढीले विस्थापित बनायो। उनको चार कठ्ठा पाँच धुर जग्गा पनि बगर बन्यो। उनीहरू बसाइँ सरेर दमक–९ मा पुगे। पछि रतुवा नदीकिनारमा तटबन्ध बन्यो, जग्गा उकासियो। जग्गा उकासिएपछि उनले पुरानो ठाउँ पहिचान गरेर कटेरोसमेत बनाए। कटेरो निमार्णाधिन अवस्थामा थियो। त्यही बेला पुरीले मान्छे लगाएर कटेरो जलाइदिएको श्रेष्ठको गुनासो छ। त्यसपछि उनले जग्गा फिर्ता पाउन अनेकौं प्रयास गरे तर सम्भव भएन।

‘मैैले त्यसबेलादेखि भोगचलन गरेको जग्गा फिल्डबुकमा समेत उल्लेख थियो तर सुकुमबासी आयोगले धनीपुर्जा दिने बेलामा पुरीले हडपे,’ उनले भने, ‘अहिले जग्गा होइन, केही नगद दिन्छु भनिरहेका छन्। तर त्यही नगद पनि कहिले दिने हुन्, टुंगो छैन।’

टेकबहादुर लिम्बुको १२ कठ्ठा जग्गा त्यही बाढीले बगर बनायो। लिम्बु परिवार घरबारविहीन बने। खोलामा बाँध बाँधियो, पुरानै जग्गा भएको ठाउँमा बस्न भनेर गए। तर त्यो जग्गा त पुरीले कब्जा गरिसकेका थिए। लिम्बु परिवार अहिले दमक–८ मै भाडामा बस्दै आएको छ। लिम्बूका छोरा मनप्रसादका अनुसार पुरी पक्षले जग्गाको एक लाख रुपैयाँ दिन्छु भनेका छन्। ‘हामीलाई पैसाको प्रलोभन देखाइएको छ,’ मनप्रसादले भने, ‘तर हामीलाई जति भए पनि पैसा चाहिएन। हामीलाई जग्गा फिर्ता चाहिन्छ।’

सञ्जीव मगरकी आमा विष्णुमाया मगरको तीन कठ्ठा १९ धुर जमिन बालुवाटारमै थियो। २०३९ सालमा फिल्डबुक नक्सांकन हुँदा उनको जग्गा त्यति देखियो। उनीहरू पनि अरूजस्तै बाढीले लखेटिए। खाली जग्गामा पुरीले कब्जा जमाए। ‘मैले पटकपटक दबाब दिएँ। जग्गा मिचेको छ, फिर्ता गर्नुहोस् भनें तर उनले मानेनन्,’ सञ्जीवले भने, ‘चुनाव हराउने षड्यन्त्र गरेको भनेर अनेकौं दबाब दिए, अहिले उनी आफैं फरार छन्।’ सञ्जीवले पुरीविरुद्ध अख्तियार उजुरी दिएका छन्। ‘नापीमा गयो, मालपोत जानु भन्ने, मालपोत जाँदा गगन पुरीलाई भेटेर मिलाउनुहोस् भन्ने जवाफ आउँछ,’ सञ्जीवले भने, ‘रहस्य बुझी नसक्नु छ। हामी त दोहोरो पीडित भएका छौं।’

अर्का पीडित बुद्धिमान माझीको तीन कठ्ठा जग्गा थियो। तर उनलाई पुरीले १२ धुर मात्रै दिएका छन्। जम्मा ८२ परिवारले भोगचलन गरेको जग्गा पुरीले नम्बरी बनाएको आरोप पीडित परिवारको छ। उनीहरूका अनुसार ११ बिघा जग्गा पुरीले नापी र मालपोतका कर्मचारीलाई प्रभावमा पारेर किर्ते गरेका थिए।

पुरीविरुद्ध १७ मंसिरमा सरकारी छाप र हस्ताक्षर किर्ते गरेको आरोपमा जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी अहिलेसम्म फरार छन्। पुरीले दमक नगरपालिका–८ स्थित सार्वजनिक जमिन मालपोत र नापीका कर्मचारीसँग मिलेर व्यक्तिको नाममा पार्ने प्रयास गरेको प्रहरीको दाबी छ। पथरी–शनिश्चरे नगरपालिकाका ओमप्रकाश पौडेलको नाममा पुरीले जग्गा पास गरेर हडप्ने प्रयास गरेका हुन्। पुरीका विश्वासपात्र पौडेल टेम्पो चालक हुन्। दुई कठ्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न भनिएका पाँच जना भने धरौटीमा छुटेका छन्। नापी कार्यालयका सर्वेक्षक विनोद मण्डल, नापी विभागमा कार्यरत नापी अधिकृत स्टलिन भण्डारी, मालपोत कार्यालयका नायब सुब्बा कृष्ण भट्टराई र पथरी–शनिश्चरे मोरङका ओमप्रकाश पौडेल र वेदबहादुर पौडेल पक्राउ परेका थिए। पक्राउ परेकाहरू झापा जिल्ला अदालतको आदेशले जनही तीन लाख ७५ हजार धरौटी जम्मा गरेर रिहा भएका थिए। उनीहरूसँगै नगरपालिकाका दुई कर्मचारीसमेत धरौटीमा छुटेका छन्।

पुरीले आफ्नो नाममा ल्याएकोमध्ये ११ बिघा जग्गा पौडेलको नाममा पास गराएका छन्। तीन कित्तामा छुट्याइएको जग्गामध्ये कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ। यस्तै, पुरीले कांग्रेस नेता उमाकान्त आचार्य, नगर सभापति रोशन बिष्टसमेतले समेत जग्गा किनेको भनेर फेसबुकमा स्टाटस लेखेका थिए। तर बिष्टले जग्गा किनेको अस्वीकार गर्दै आएका छन्।

पक्राउ परेका पौडेल र पुरी दुवै नेकपा एकता केन्द्र मसालका नेता थिए। दुवै एकता केन्द्रबाट आएका हुन्। पुरी पहिलो संविधानसभाको निर्वाचनमा इलामबाट संविधानसभाको उम्मेदवारसमेत थिए। लगत्तै माओवादीमा प्रवेश गरेका उनी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिए। दमकदेखि रविसम्म पुग्ने सडक निर्माण समितिका अध्यक्ष पुरी विगतमा रतुवा नदीकै कारण विस्थापित भएर धनकुटासमेत पुगेका थिए। पुरीले २०७१ सालदेखि ऐलानी जग्गा व्यक्तिको नाममा गर्ने गरी काम अघि बढाएका थिए। उनी नेकपाका प्रदेश कमिटी सदस्य छन्।

मौन नेकपा
पुरीलाई पक्राउ पुर्जी जारी भएपछि उनले फेसबुकमा स्टाटस लेखेर ‘अदालतमा हाजिर भएर कानुनी प्रक्रियालाई सघाउने’ जनाए पनि अहिलेसम्म फरार नै छन्। इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले पुरी अहिलेसम्म फरार अवस्थामै रहेको बताए। पुरीविरुद्ध अन्यत्रको सरकारी जग्गा किर्ते गरेको भन्दै थप उजुरीसमेत परेको छ। ‘पुरी प्रकरण अनुसन्धानको क्रममै रहेका कारणले थप भन्न सक्ने अवस्था छैन,’ डिएसपी पण्डितले भने, ‘अर्को मुद्दामा समेत अनुसन्धान भइरहेको छ।’

पुरीको विवादित छविका बारेमा पूर्वएमालेका नेताहरू संशकित थिए। गिरीले केही महिनाअघि कब्जा गरिएको त्यही नदी उकास जग्गामा एसियाकै ठुलो फन पार्क बनाउने भनेर पूर्वएमाले नेताहरूको नामसमेत जोडेर प्रचार गरेका थिए। त्यहाँ बन्ने भनिएको फन पार्कमा नेकपाका जिल्ला सदस्य गणेश बस्नेत, नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले समेत लगानी गर्ने गिरीको दाबी थियो। आफ्नो नामा मुछिएलगत्तै देवेन्द्र दाहालले भने खण्डन गरेका थिए।
केही दिनअघि पुरीका विषयमा नेकपाको दमक नगर कमिटीमा छलफल भएको थियो। तर पूर्वमाओवादीका नेताहरूले विरोध गरेका कारण उनी कारबाहीको सिफारिस हुनबाट जोगिएका थिए। नेकपाका एक नगर कमिटी सदस्यका अनुसार पुरीले नेकपाका केन्द्रीय नेतासँग सहज पहुँच राख्ने भएकाले उनी कारबाहीको सिफारिसबाट जोगिएका हुन्। पूर्वमाओवादी नेताले उपल्लो कमिटीमा भएका नेतालाई कारबाही गर्न नसक्ने अडान लिएपछि उनी माथिको कारबाही सिफारिस हुन नसकेको हो।

प्रकाशित: १३ माघ २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App