७ वैशाख २०८१ शुक्रबार
अर्थ

उखु किसान पीडितले गरे मन्त्री भट्टसँग गुनासो

रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीमा अनुगमन गर्दै तथा किसानहरुको समस्या बुझ्दै मन्त्री भट्ट नेतृत्वको टोली ।

बारा- उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टसँग उखु किसानले चिनी मिलका सञ्चालकहरुले गर्दा आफूले सास्ती खेप्नु परेको भन्दै गुनासो गरेका छन्। आईतबार कलैया उपमहानगरपालिका-२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीमा अनुगमन गर्न र किसानहरुको समस्या बुझ्न मन्त्रालयका सचिवसहित आएका मन्त्री भट्टसँग किसानहरुले दुखेसो पोखेका हुन्।

उखु नगदे बाली भनिए पनि खेतमा लगाइएको उखुलाई बाध्य भएर चिनी मिललाई उधारोमा बिक्री गर्नु परेको उखु किसान रामान्द यादवले मन्त्रीसँग गुनासो गरे। उधारोमा बिक्री गरिएको उखुको भुक्तानीका लागि चिनी मिलमा महिनौ धाउनु पर्ने बाध्यता रहेको र यसलाई अन्त्य नगरिए किसानहरुले उखु खेती नै छाड्ने अवस्था आउन लागेको यादवले बताए।

सरकारले किसानहरुलाई भुक्तानी गर्नको लागि चिनी मिललाई उपल्ब्ध गराएको प्रति क्युन्टल पाँच रुपैयाँ २८ पैसा अनुदान रकमलाई तीन वर्षदेखि रिलायन्स चिनी मिलले किसानहरुलाई नदिएको र सरकारले गत वर्ष किसानलाई दिन भनिएको प्रति क्युन्टल ६५ रुपैयाँ अनुदान रकम समेत किसानहरुले नपाएको यादवले मन्त्री समक्ष गुनासो पोखे। चिनी मिल र सरकारले किसानको तिर्नुपर्ने पुरानो अनुदान रकम उपलब्ध गराई दिनका लागि यादवले मन्त्रीसँग माग समेत गरे।

कृषि कार्यमा खटेका मजदुरहरुको मजदुरी रकम, मल, खेतजोताईलगाएतको कार्यले उखुको उत्पादन लागतमा प्रति वर्ष खर्च बढ्दै जाने तर उखुको मूल्य नबढ्नाले उखु किसानहरुलाई समस्या परेको र किसानहरुको समस्या सरकारले बुझ्नुपर्ने उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहले मन्त्री सम्क्ष गुनासो गरे। बिक्री गरेको उखुको भुक्तानी चिनी मिल सञ्चालकहरुले थोरै थोरै गरेर किसानहरुलाई दिँदा आफूहरुले ठोस काम गर्न नसकेको कुश्वाहाले बताए।

सरकारले चालु सिजनको लागि उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेकोमा चिनी मिलहरुले किसानलाई प्रति क्युन्टल चार सय ७१ रुपैयाँ २८ पैसा र बाँकी रहेको प्रति क्युन्टल ६५ रुपैयाँ २८ पैसा सरकराले दिने सम्झौता भएको छ।

किसानहरुको गुनासो सुनेपछि मन्त्री भट्टले चिनी मिलहरुले ठिकसँग काम गरे नगरेको, मजदुरहरुलाई कुन अवस्थामा काममा खटाएको ,किसानहरुलाई राम्रो व्यवहार गरेको छ वा छैन यी सबै कुरा पत्ता लगाउनको लागि मन्त्रालयकै टोली चिनी मिलमा पुगेको बताए।

चिनी मिल अनुगमन र किसानहरुसँग गरिएको कुराकानीपछि सरकारले के गर्दा उखु किसानहरुलाई राम्रो हुने र चिनी मिलहरुको समस्या पनि कम हुने सबै प्रतिवेदन तयार गरेर त्यसको कार्यान्वयमा लाग्ने प्रतिबद्धता मन्त्री भट्टले गरे। रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीका सञ्चालक राजकुमार अग्रवालले किसानहरुसँग उखु खरिद गर्ने बेलामै किसानहरुलाई उखुको भुक्तानी दिन रकमको अभाव हुने गरेको मन्त्री समक्ष बताए।

उखु किसानलाई समयमै उखुको रकम भुक्तानी दिनको लागि सरकराले चिनी मिललाई सहुलियत ऋण वा उत्पादित चिनीलाई खरिद गर्ने व्यवस्था गर्नुपर्ने माग समेत अग्रवालले मन्त्री समक्ष राखे। उखु किसानहरुको समस्या बुझेरै खरिद गरेको उखुको भुक्तानी चिनी मिलले ढिलै भए पनि गरिएको र कुनै पनि किसानको पुरानो उखुको बक्यौता रकम नराखेको दाबी अग्रवालले गरे।

मन्त्री भट्टसँग उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्य सचिव बैकुण्ठ अर्याल र चिनी उद्योग तथा उखु किसानसँग सम्बन्धित समस्य समाधान कार्यदलका अध्यक्ष नवराज ढकाल, चिनी उत्पादन संघका अध्यक्ष राजेश केडिया, बाराका प्रमुख जिल्ला अधिकारी फरिन्द्रमणी पोखरेललगाएतका सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। मन्त्री भट्ट नेतृत्वको टोलीले जितपुर सिमरा उपमहानगरपालिकामा निर्माणाधीन औद्योगिक सेजको समेत अनुगमन गरको थियो।

 

प्रकाशित: १२ माघ २०७६ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App