coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पारिश्रमिक नपाएपछि कामदारले रोके सडकको काम

पारिश्रमिक नपाएपछि कामदारले अवरुद्ध बनाएको महुरे–राजापानी सडकको बुईपा खण्ड । तस्बिर:दमन:नागरिक

खोटाङ– कामदारको अवरोधका कारण खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम तीन हप्तादेखि अवरुद्ध छ। निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले काम गरे वापतको पारिश्रमिक वर्षौँसम्म नदिएपछि आक्रोशित कामदारले गत पुस २० गतेदेखि सडकको काम ठप्प बनाएका हुन्। काम गरे पनि ठेकेदारले वर्षौँसम्म पारिश्रमिक नदिएर झुलाएपछि गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडक कालोपत्रेका काम ठप्प बनाएर बिरोधमा उत्रनु परेको कामदारको भनाई छ।

जिल्ला प्रशासन कार्यालयमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका भए पनि सम्झौता अनुसारको मितिमा भुक्तानी नदिएपछि कामदारले सडकको काम रोकेको हो। तोकिएको मितिमा पारिश्रमिक नपाएको बिरोधमा करिब डेढ सय कामदारले निर्माण कम्पनीको टिपर, ट्यांकर लगायतका सवारी साधनको चाँबी खोसेर आ–आफ्नो काम ठप्प बनाएका हुन्। निर्माण कम्पनीले केही दिनभित्र कामदारको पारिश्रमिक भुक्तानी गर्ने र अवरुद्ध कामलाई सुचारु गराउने जवाफ दिएको गाईघाट–दिक्तेल सडक आयोजनाका ईन्जिनियर प्रबिण चौधरीले बताए। ‘निर्माण कम्पनीसँग बारम्बार सम्पर्क भइरहेको छ। कामदारको पेमेन्ट गरेर केही दिनभित्रै सडकको काम सुचारु गराछौँ भन्ने जवाफ आएको छ,’ इन्जिनियर चौधरीले भने, ‘गाडीको चाँबी समेत लोकलले खोसेर लिएको अवस्था छ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारको पुस २० गते बिजयखर्कको मालामा भएको भेलाले पारिश्रमिक नपाएको बिरोधमा काम ठप्प बनाउने निर्णय गरेको थियो। तोकिएको मितिमा पारिश्रमिक नपाएको बिरोधमा सो सडक खण्डमा काम गरिरहेका डेढ सयभन्दा बढि कामदारले आ–आफ्नो काम रोकेका हुन्। पारिश्रमिक दिने भनिएको मिति र स्थानमा ठेकेदारको प्रतिनिधि समेत देखा नपरेपछि आक्रोशित कामदारले निर्माण कम्पनीको ६ वटा टिपर, १ वटा पानी ट्यांकर, २ वटा स्काभेटर, १ वटा बोलेरो र १ वटा ब्याकहोलोडरको चाँबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुईपालाई बुझाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

डेढ-दुई वर्षदेखि पारिश्रमिकविहीन पसिना बगाइरहेका कामदारले तोकिएको मितिमा पैसा नपाएपछि काम रोकेर बिरोधमा उत्रिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए। निर्माण कम्पनीले श्रम गरेको पारिश्रमिक नदिएसम्म काम अवरुद्ध पार्ने कामदारको चेतावनी छ । निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका साईड ईन्चार्ज पुष्प शाहीले भने केही दिनभित्रै कामदारले पारिश्रमिक पाउने दाबी गरे। ‘केही दिनभित्रै कामदारको पारिश्रमिक भुक्तानी हुन्छ,’ शाहीले भने, ‘काम ठप्प भएको छैन। नालीको काम अहिले पनि भइरहेको छ।’

महुरेमा रात दिन गिटी कुटेका दर्जनौं महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन्। गिटी कुटेवापत प्रतिव्यक्ति कम्तीमा ३० हजार रुपैयाँ नपाएको महिला कामदारको गुनासो छ। ठेकेदारले वर्षौँसम्म पैसा नदिँदा सडक कालोपत्रेकाक्रममा गिटी ढुंगा र सिमेन्टका काम गरिरहेका कामदार न घर फर्कन सकेका छन् न त निरन्तर काम गर्न नै सकेका छन्। साईटको जिम्मा लिएर कामदार ल्याएर काम गराइरहेका पेटी ठेकेदारले समेत भुक्तानी पाउन सकेका छैनन्।

लामो समयसम्म कामदारलाई पारिश्रमिक नदिएका ठेकेदारले सडक आसपासका होटल व्यवसायी, खाद्य तथा किराना पसल, पेट्रोल पम्प लगायतको उधारो रकम समेत नतिरेको बताइएको छ। निर्माण कम्पनीका कर्मचारीले होटल तथा पसलमा खाएको र पेट्रोल चलाएको लाखौं रकम नपाएपछि स्थानीय व्यवसायी समेत कामदारको पक्षमा उभिएका छन्। करिब ९१ करोडको खर्चमा २०७७ साल साउन ११ गतेसम्ममा पूरा गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरेर महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेका काम थालेको निर्माण कम्पनीले हालसम्म ३५ प्रतिशत भौतिक र ३३ प्रतिशत वित्तिय प्रगती गरेको बताइएको छ।

पूर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दुरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले तथा सिमपानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले गरिरहेको छ।

 

प्रकाशित: १२ माघ २०७६ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App