८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीमण्डल पुनर्गठन नभए राजपाले सर्मथन फिर्ता लिने

जनकपुरधाम- समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं कृषि मन्त्री शैलेन्द्र साहले फेसबुक वालमा सरकार पुनर्गठनलगायतका विषय समेटेर गरेको पोष्टले प्रदेश २ को सत्ता समिकरण फेरबदलको बहसलाई तताएको छ। यस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको परिणाम नेकपा–राजपाको पक्षमा आएपछि सत्ता समिकरण बदल्नुपर्ने बहस सुरु भएको हो। यस प्रदेशमा नेकपा–राजपाका गठबन्धन अनुमोदित भैसकेको तर्कसहित दुबै दलका नेताहरु सत्तामा पनि यहि गठबन्धनलाई निरन्तरता दिनुपर्ने बहस तेज बनाएका छन्।

हाम्रो सर्तअनुसार समाजवादी अघि बढ्न तयार भए सरकारमा यही गठबन्धन रहन्छ सुमनले भने,‘हाम्रो सर्तअनुसार नभए सरकारबाट समर्थन फिर्ता लिन्छौं।’ नेकपासँग गठबन्धन छदैछ उनले भने,‘यही गठबन्धनको सरकार गठन हुन्छ।’

बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचन परिणामपछि नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले नेकपा–राजपा गठबन्धन मधेसी जनताबाटै अनुमोदन भैसकेको तर्क गर्दै यस गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
नेकपा प्रदेश सचिव समेत रहेका राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भने,‘राष्ट्रियसभा निर्वाचनको परिणामले प्रदेश २ को सरकार अल्पमतमा परिसक्यो।’ यस प्रदेशको जनताको भावनाको कदर गर्नका लागि पनि यो गठबन्धन सरकारमा निरन्तरता दिनुपर्ने प्याकुरेलको भनाई छ।

निर्णय अब राजपाको हातमा छ प्याकुरेलले भने,‘राष्ट्रिय गठबन्धनलाई अघि बढाउनुहुन्छ की प्रादेशीक गठबन्धनलाई निर्णय राजपाको हातमा छ।’ यो गठबन्धन चुनावी (राष्ट्रियसभा निर्वाचन) मा नभई दूरगामी हो उनले खुलाए,‘राष्ट्रिय राजनीतिका हरेक मुद्दामा साथ, सहकार्य तथा सहयोग गर्दै अघि बढ्नका लागि गरिएको गठबन्धन हो।’ प्रदेश २ मा सरकार परिवर्तण भए नेतृत्व राजपाले पाउँछ की नेकपाले भन्ने जिज्ञासामा उनले भने,‘समझदारी बनेपछि राजपाले पनि नेतृत्व पाउन सक्छ, हामी बाहिरबाटै समर्थन गरेर राजपा एक्लैले पनि सरकार चलाउन सक्छ।’ उनले थपे,‘नेतृत्व मूल विषय नै होइन।’

सत्ता समिकरण फेरिन सक्ने बहस तेज भएसँग समाजवादी पार्टी सत्ता समिकरण बचाउतर्फ कसरत तेज बनाएका छन्। समाजवादी पार्टीले सत्ता समिकरण बचाउन पहिलो कार्ड फ्याकिसकेका छन्। त्यो हो मन्त्री मण्डल पुनर्गठन। सो कार्ड समाजवादी पार्टीले मन्त्री शैलेन्द्र साहमार्फत फ्याकेका छन्।

राजपाका महासचिव मनिष सुमनका अनुुसार राजपाको पहिलो  प्राथमिकता समाजवादी–राजपा गठबन्धनकै सरकार रहोस भन्ने नै हो। तर, यसमा सर्त छ। मुख्य मन्त्रीदेखि मन्त्रीहरुको ब्यापक फेरबदल हुनुपर्छ। हाम्रो सर्तअनुसार समाजवादी अघि बढ्न तयार भए सरकारमा यही गठबन्धन रहन्छ सुमनले भने,‘हाम्रो सर्तअनुसार नभए सरकारबाट समर्थन फिर्ता लिन्छौं।’ नेकपासँग गठबन्धन छदैछ उनले भने,‘यही गठबन्धनको सरकार गठन हुन्छ।’

मन्त्री शैलेन्द्र साहकाअनुसार सरकारका मन्त्रीहरु पुनर्गठन गर्ने बहस चलाउनैपर्ने भएर मैले सुरुवात गरेको हुँ। दुइचार जना मन्त्रीको कारकारबाहीका कारण सरकारका सबै मन्त्री अर्थात सरकार नै बदनाम भएको अवस्था छ उनले भने,‘मन्त्रीहरुको कामकारबाही मूल्यांकन गरी पुनर्गठन हुनैपर्छ।’ गठबन्धन दलका नेतृत्वबाट मूल्यांकन होस् उनले भने,‘प्रभावकारी काम गर्न नसकेकालाई हटाइयोस्।’

मधेस मामिलामा विद्यावारिधि गरेका राजेश अहिराज भन्छन्, ‘नैतिकताको राजनीतिको कुरा गर्दा जुन दिन संघीय सरकारबाट समाजवादी पार्टीले राजीनामा दियो सोही दिन प्रदेश सरकारबाट राजीनामा दिएर बाहिरिनुपथ्र्यो तर, गरेनन्। राष्ट्रियसभा निर्वाचनको परिणामले समाजवादीलाई मधेसमा समाजिक स्वीकृती प्राप्त नभएको प्रष्ट भैसकेको छ अहिराज भन्छन्,‘परिणम आएलगत्तै मुख्य मन्त्रीले राजीनामा गरिसक्नुपथ्र्यो, जुन भएन।’ अब नेकपा–राजपा गठबन्धन सरकारमा आउने सम्भावना बढेपछि मुख्य मन्त्री अप्ठ्यारोमा पर्ने निश्चित छ, उनले भने।

त्यहि भएर मन्त्री फेरबदलको कार्ड राजपाका मन्त्रीहरुउपर दोष थोपरेर आफू चोखिने दाउ भएको अहिराजको विश्लेषण छ। व्यवहारिक राजनीतिको कुरा गर्दा समाजवादी–राजपा गठबन्धनकै सरकारले निरन्तरता पाउनुपर्ने उनी बताउँछन्। यो गठबन्धन बिथोलिए मधेसमा तेस्रो शक्तिलाई खोल्न अवसर मिल्ने उनको तर्क छ।

उनको विश्लेषणमा प्रदेशमा रुप फेरिएको समाजवादी–राजापा गठबन्धन सरकारको सम्भावना पनि यथावत छ। जसमा राजपाको मुख्य मन्त्रीसहितका मन्त्रीहरु हुन सक्छन्। अर्को सम्भावना राजपा–नेकपा गठबन्धनको सरकारको छ। जसका लागि अहिले दुवै दलमा कसरत तेज छ। तेस्रो सम्भावना जुन कम छ त्यो हो नेकपा-समाजवादी गठबन्धनको सरकार हो। अहिले तेस्रो सम्भावना सफल पार्न समाजवादी पार्टी नेतृत्व जोडतोडले कसरतमा जुटेको स्रोतले बतायो।

क्रस भोटिङले समाजवादीमा झट्का
यस प्रदेशमा नेकपाका ३२ र राजपाका २५ गरी ५७ जना सांसद छन्। स्थानीय तहमा नेकपाका ८३ र राजपाको ५४ गरी १३७ मतदाता थिए। प्रदेश सांसद र स्थानीय तहका गरी नेकपा–राजपा गठबन्धनमा १८४ मतदाता थिए। प्रदेशसभामा एकजना सांसद रहेको संघीय समाजवादी पार्टीले समेत यो गठबन्धनलाई सघाउने समझदारी भएपछि नेकपा– राजपा गठबन्धनको कुल मत संख्या १८५ थियो।

दलित पदमा उम्मेदवारी दिएका राधेश्याम पासवानले प्रदेश सांसदको ५७ मत पाए। उनले स्थानीय तहमा आफ्नो गठबन्धनको स्थानीय तहको कुल १३७ मत पाउनुपर्नेमा १४२ प्राप्त गरे। जब कि २ वटा मत रद्द भयो। दलित पदमै समाजवादी पार्टीका रामप्रितले प्रदेश सांसदको ४९ मत पाउनुपर्नेमा ५० मत पाए। तर, गठबन्धन अनुसार स्थानीय तहबाट पाउनुपर्ने १३३ मध्ये १२८ मत मात्रै पाए।

अन्य समूहबाट निर्वाचित मृगेन्द्र सिंह यादवले गठबन्धनमा प्रदेश सांसदको ५७ मत पाए। गठबन्धनका ५८ मध्ये १ मत रद्द भयो। गठबन्धनअनुसार १३७ स्थानीय तहको मत पाउनुपर्नेमा १४८ मत पाए। जब कि ४ वटा स्थानीय तहको मत बदर भएका थिए।

अल्पसंख्यक समूहमा निर्वाचित शेखर सिंहले प्रदेश सांसदको गठबन्धन अनुसार ५८ वटै मत प्राप्त गरे। स्थानीय तहको १३७ मत पाउनुपर्ने उनले १५१ मत प्राप्त गरे। स्थानीय तहतर्फ एक मत समेत बदर भयो।

त्यस्तै, समाजवादीका ३० र कांग्रेसको १९ गरी ४९ जना प्रदेश सांसदहरु मतदाता थिए। स्थानीय तहमा समाजवादीका ५१ र कांग्रेसको ८१ गरी १३३ जना स्थानीय तहका मतदाता थिए। प्रदेश सांसद र स्थानीय तहका गरी यो गठबन्धनमा कुल १८२ मतदाता थिए।

राष्ट्रियसभा निर्वाचनमा दलहरुले ह्वीप लगाए पनि मतदाताहरुले क्रस भोटिङ गरेको निर्वाचनमा देखिएको छ। कांग्रेस–समाजवादी गठबन्धनबाट बढी मत क्रस भएको पाइएको छ।

प्रकाशित: १२ माघ २०७६ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App