४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

किन पुटिनकै वरपर घुम्दैछ रुस ?

भूमिका राय

गएका बीस वर्षमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो शक्तिलाई यसरी प्रयोग गरे कि देशको सत्ता उनकै मात्र वरिपरि घुम्ने बन्न पुगेको छ। कम्तीमा अहिललाई यस्तै देखिएको छ।

यसको एउटा ठूलो उदाहरण त के भने हालै उनले एउटा प्रस्ताव मन्त्रिपरिषद्मा ल्याएका थिए। सो प्रस्तावपछि प्रधानमन्त्री दिमित्री मेदवेदेभ र उनको टोलीले राजिनामा दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा व्यापक संवैधानिक सुधारको प्रस्ताव ल्याएका थिए। यो प्रस्तावित सुधार लागु भएपछि संविधानका केही अनुच्छेद मात्र परिवर्तन नभई सत्ता सन्तुलन र शक्तिमा पनि परिवर्तन आउने आँकलन गरिएको छ।

राष्ट्रपति पुटिनले जुन संवैधानिक प्रस्ताव राखेका छन्, त्यसमाथि जनमत संग्रह गरिनेछ। यदि यो कुरा सफल भयो भने अब राष्ट्रपतिमा भन्दा संसदमा बढी शक्ति हुनेछ। यस प्रस्तावसँगै पुटिनले अर्कै केही रणनीतिक खेल खेल्न लागेका पो हुन् कि भन्ने आँकलन पनि गरिँदैछ।

जानकारहरु भन्छन्, उनी अझै पनि सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्। राष्ट्रपतिका रुपमा उनको कार्यकाल २०२४ मा सकिनेछ। त्यसपछि उनी अर्को पटक राष्ट्रपति बन्न पाउने छैनन्।

जसै पुटिनले प्रधानमन्त्री दिमित्री मेदवेदेभलाई राष्ट्रिय सुरक्षा परिषद्का सहायक अध्यक्ष बनाउने निर्णय गरे, त्यसमा पनि पुटिनको रणनीति के हुन सक्छ भन्नेबारे खोजी भइरहेको छ।

आखिर के चाहन्छन् पुटिन ?
रुसी मामिला विशेषज्ञ तथा जेएनयुका प्राध्यापक राजनकुमार भन्छन्, ‘राष्ट्रपति पुटिनका यी निर्णयलाई दुई वटा आधारमा विश्लेषण गर्न सकिन्छ। पहिलो, उनी स्वभावतः आफ्नो सत्ता जोगाइरहन चाहन्छन्। अहिले त सुपर प्रेसिडेन्सियल सिस्टम छ। जहाँ राष्ट्रपति नै सबैथोक छन्। यतिबेला उनी जत्तिको शक्तिशाली त्यहाँ कोही पनि छैनन्।’

कुनै पनि अन्य देशको तुलनामा रुसी राष्ट्रपति पद बढी शक्तिशाली छ। रुसी राष्ट्रपतिले ड्युमा (संसद्)लाई पनि बर्खास्त गर्न सक्छन्। पछिल्लो समय जसै पुटिनले संसद्को शक्ति बढाएका छन्, यसले नयाँ शक्ति सन्तुलनमा उनको ध्यान गएको देखिन्छ।

तर सँगसँगै ध्यान दिनुपर्ने कुरा के छ भने प्रधानमन्त्री र उपप्रधानमन्त्रीको शक्ति पनि बढाइएको छ। २०२४ मा पुटिनको कार्यकाल सकिएपछि उनी पुनः प्रधानमन्त्री बन्ने सम्भावना छ। यसका लागि प्रधानमन्त्रीको शक्ति बढाइएको केहीको आँकलन छ। यदि उनी प्रधानमन्त्री नबन्ने भए किन प्रधानमन्त्रीको शक्ति बढाउन चाहन्थे र ?

राष्ट्रपतिपछि उनीसँग दुई वटा विकल्प हुनेछन्। या त उनी राजनीतिमै सक्रिय हुन्छन् कि त संन्यास लिन्छन्। तर उनको पहिल्यैदेखिको प्रवृत्ति र प्रकृति हेर्दा संन्यास लिने खालका छैनन्।

उनी सत्तामा नरहेका बेला पनि अरुलाई अप्ठेरो पार्न सक्ने किसिमको शक्ति राखिरहन चाहन्छन्। त्यसका लागि उनले आफ्नै चेलाचपेटालाई सत्तामा पु-याउन चाहन्छन्।

यस्तो हुँदा सत्तामा रहँदाताका उनले गरेका गडबडीलाई टेकेर उनीमाथि कार्बाही नगरियोस् भन्ने चाहना पनि हुनसक्छ। तर जे होस्, पछिल्लो तयारीले पुटिन सत्ताबाट बाहिरै रहे पनि उनलाई कुनै कानुनले न्याक्न सक्ने छैन।

पुटिनमाथि कयौँ राजनीतिक हत्या र भ्रष्टाचार लागिरहेको हुन्छ। यस्तोमा पुटिनले आफ्नो वहिर्गमनपछि आफ्नै इशारामा नाच्ने उत्तराधिकारी नै चाहन्छन्, यसमा कुनै शंका छैन।

सन् २०२१ मा संसदीय चुनाव हुँदैछ। त्यसको तीन वर्षमा पुटिनको कार्यकाल सकिन्छ। प्रधानमन्त्री पदमा पुटिन आउन नचाहे पनि उनी यस्तो व्यवस्था चाहन्छन्, जसमा आफूले गरेको जस्तो रजगज नहोस्। शासनमा चेक एन्ड ब्यालेन्स होस्। संसद्ले कार्यकारीलाई नियन्त्रण गर्न सकोस्।

यसका अतिरिक्त एउटा नयाँ स्टेट काउन्सिल बनाउने र त्यसलाई संवैधानिक अधिकार दिने कुरा पनि गरिँदैछ। यदि त्यस्तो भयो भने राष्ट्रपति, प्रधानमन्त्री र संसद्लाई पनि नियमन गर्ने, सल्लाह र सुझाव दिने त्यो काउन्सिल हुनेछ। र, त्यो काउन्सिलको अध्यक्ष पक्कै पनि पुटिन हुने सम्भावना बढी छ।

यस्तो व्यवस्थाले झण्डैझण्डै सिंगापुरको झल्को पनि दिन सक्छ। ४० वर्षभन्दा बढी प्रधानमन्त्रीका रुपमा सक्रिय रहेका सिंगापुरका लि क्वान युले सक्रिय राजनीति छाडेपछि पनि नयाँ प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिनका लागि सिनियर मिनिस्टरका रुपमा लिलाई राखिएको थियो। उनले बेलाबेलामा आफ्ना धारणा आफ्नो निधन हुनुअघिसम्म पनि प्रधानमन्त्री तथा मन्त्रीहरुलाई सुनाइरहन्थे। विभिन्न समस्यालाई कसरी समाधान गर्ने भनी उनको सुझावलाई तिनले पालना पनि गर्थे।

लि क्वान युका लागि त्यो सहज थियो किनभने उनले त्यसका लागि आफ्नो छवि पनि निर्माण गरेका थिए। रुसमा भने पुटिनका लागि सोही किसिमको काउन्सिल बनाउन र सक्रिय रहिरहन सहज हुन्छ कि हुँदैन भन्ने अहिले नै आँकलन गर्न गाह्रो छ।

पुटिनको कद
मुख्य कुरा त कम्युनिस्ट शासन समाप्त भएपछि रुसमा भएको गडबडी, सोभियत संघको पतन र त्यसपछि पनि जनताले पाएको सास्तीबाट निकाल्न पुटिनले खेलेको भूमिकालाई त्यहाँका जनताले कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुराले उनको राजनीतिक भविष्य वा काउन्सिलमा उनको भूमिका कस्तो हुनेछ भन्ने भर पर्छ।

केहीले रुसमा चीनजस्तै अवस्था हुने हो कि भन्ने आँकलन पनि गरिरहेका छन्। अर्थात्, जसरी चीनमा कुनै शासकको मृत्यु नहुञ्जेलसम्म सत्तामा रहिरहने पारा रुसमा पनि हुन्छ कि ? तर रुस र चीनमा केही तात्विक भिन्नता छ। एउटै पार्टीअन्तर्गत त्यहाँ विकल्प खोज्नुपर्छ भने रुसमा भने कयौँ पार्टी छन्।

पुटिन समर्थक युनाइटेड रसियन पार्टी र कम्युनिस्ट पार्टी मात्र होइन अन्य पार्टी छन्। पुटिनले रुसी जनताको शिर ठाडो पार्न खेलेको भूमिकाका कारण उनलाई रुचाउने ठूलो जमात छ। अर्थात्, १२–१३ प्रतिशत जनता युनाइटेड रसियन पार्टीका समर्थक छन्। तर बेलाबेलामा पुटिन विवादमा परिरहने हुनाले कुन बेला मतदानबाट उनी फ्याँकिन्छन् भन्न सकिन्न तर उनलाई कम्युनिस्ट पार्टीको समर्थन छ। कम्युनिस्ट पार्टीको अझै पनि प्रभाव भएकाले पुटिन पनि बलियो देखिएका हुन्।

रुसको सबैभन्दा ठूलो मुद्दा सुरक्षा मुद्दा हो। युक्रेनसँग तनाव, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँगको झुत्ती, अमेरिकाले बेलाबेलामा दिइरहने मानव अधिकार र प्रजातन्त्रको दुहाई जस्ता कारणले रुसी जनता देशप्रति केही भइहाल्ने हो कि वा पश्चिमी देशको कठपुतली पो बन्ने हो कि भन्ने आशंका त्यहाँका जनतालाई भइरहन्छ।

त्यसैले पनि पुटिनको विकल्पका रुपमा सर्वसाधारणले अरुलाई देखेका छैनन्। पुटिनले पनि यस्तो वातावरण बनाएका छन् कि जनताले अरुलाई विकल्पका रुपमा नदेखून्। देखे पनि पुटिन वरिपरिकै राजनीतिज्ञलाई विकल्प मानून् भन्ने चाहना राख्छन्।

पुटिनको सत्ता यात्रा
बीस वर्ष पहिले भ्लादिमिर पुटिनले सत्ताको चाबी सित्तैमा जस्तो पाएका थिए। पूर्व राष्ट्रपति बोरिस यल्तसिन र उनका निकटतम सहयोगीले देशलाई एक्काइसौँ शताब्दीमा लैजानका लागि रुसी जासुसी संस्था केजिबीका पूर्व अधिकारीहरुलाई छनोट गरेका थिए। तीमध्ये एक पुटिन थिए।

पुटिनलाई राष्ट्रपति बनाउन ज्यादै महत्वपूर्ण भूमिका भेलेन्टिन युमासेवले खेलेका थिए। पूर्वपत्रकारसमेत रहेका युमासेवले पछि विभिन्न महत्वपूर्ण पद पनि पाए। युमासेव यल्तसिनका सबैभन्दा भरोसायोग्य पात्रमध्येका थिए।

यल्तसिनले एक अन्तरवार्तामा भनेका थिए, ‘मलाई कहीँकतैबाट पनि पुटिन देशका राष्ट्रपति बन्लान् भन्ने सोचेको थिइनँ।’ बरु उनको दिमागमा अन्य कयौँ नाम दिमागमा थिए।

सन् १९९९ को अगस्तमा यल्तसिनले पुटिनलाई प्रधानमन्त्री बनाएका थिए। भविष्यमा देश हाँक्न सक्छ भन्ने धारणाका साथ राष्ट्रपतिको तयारीका लागि पुटिनलाई नियुक्त गरिएको थियो।

१९९९ को डिसेम्बरमै अचानक यल्तसिनले पद छाड्ने घोषणा गरे जबकि एक वर्ष अझै उनले कार्यकाल चलाउन बाँकी थियो। उनको घोषणालगत्तै पुटिन कार्यवाहक राष्ट्रपति बने र तीन महिनापछि नै उनले राष्ट्रपतिको चुनाव जिते। त्यसयता रुसको सत्ता पुटिनकै वरिपरि घुमिरहेको छ। र, अझै कति घुम्ने हो।
तर यो पक्का हो, उनले रुसी जनताको निहुरिएको शिर उठाएकै हुन्।
(बिबिसी)

प्रकाशित: १२ माघ २०७६ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App