८ वैशाख २०८१ शनिबार
अर्थ

बुकिङ रद्द गर्दै चिनियाँ पर्यटक

पोखरा आएका चिनियाँ पर्यटक विमानस्थलबाट बाहिरिँदै। तस्बिरः सन्तोष/नागरिक

पोखरा - पर्यटन बोर्डद्वारा हालै प्रकाशित तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रिएकामध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय मूलका थिए। भारतीयपछि दोस्रो नम्बरमा चिनियाँ पर्यटकको हिस्सा छ। २०१९ मा नेपाल भित्रिएका भारतीयको संख्या दुई लाख ५४ हजार छ। चिनियाँको संख्या एक लाख ६८ हजार छ।

सन् २०१८ मा पनि नेपालको पर्यटन क्षेत्रमा चिनियाँको हिस्सा दोस्रो नम्बरमै थियो। २०१८ मा नेपाल भित्रिने चिनियाँको संख्या एक लाख ५३ हजार थियो। त्यो संख्या २०१७ मा एक लाख चार हजार, २०१६ मा एक लाख चार हजार, २०१५ मा ६४ हजार र २०१४ मा एक लाख २३ भन्दा केही बढी थियो थियो। बर्सेनि यतिधेरै चिनियाँ भित्र्याइरहेको नेपाली पर्यटन बजारले २०२० मा नेपाल भ्रमण वर्ष मनाइरहँदा चिनियाँ पर्यटकबाट निकै आस गरेको थियो। नेपाल घुम्न आउने चिनियाँको आगमन बढिरहँदा २०२० मा त्यो संख्या अझै बढ्ने आशामा पर्यटन बजार थियो। तर नेपाल आउने चिनियाँ पाहुनाको मुख्य समय चलिरहँदा चीनमा नोवेल कोरोना भाइरस संक्रमण बढ्दै विश्वव्यापी हुँदै जाँदा त्यसको मार पोखराको पर्यटन क्षेत्रले पनि खेप्न थालेको व्यवसायीले बताएका छन्।

चीन सरकारले नै आफ्ना नागरिकलाई हिँडडुलमा रोक लगाइरहँदा त्यसको असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको भन्दै व्यवसायीले चिन्ता जनाए। नेपालमा पनि कोरोना भाइरसको बिरामी फेला परेको सरकारले पुष्टि गरेपछि त नेपाल आइसकेका चिनियाँ पनि झनै त्रसित हुन थालेका छन्। आउन तयारीमा रहेकाले धमाधम बुकिङ रद्द गर्न थालेको व्यवसायीले बताएका छन्। चीनमा संक्रमण बढ्दो क्रम रहेकोले नेपाल आउने चिनियाँ त्रसित भएको उनीहरुले बताए। पोखरामा अधिक चिनियाँ पाहुनालाई सेवा दिइरहेको गिरी गेस्टहाउसका सञ्चालक खिमबहादुर नेपालीका अनुसार कोरोना भाइरसका कारण चिनियाँ पाहुनाको नेपाल यात्रा धमाधम रद्द भइरहेको छ। नेपालमा पनि यो भाइरस भेटिएको सरकारले जनाएपछि त चिनियाँ आउनै डराएको उनले बताए।

‘शुक्रबार मात्र मेरो नौवटा चिनियाँ पर्यटक समूहले पोखरा भ्रमण रद्द गरेका छन्,’ नेपालीले भने, ‘अहिलेसम्म मेरो १५ वटा समूहले भ्रमण रद्द ग-यो।’ उनका अनुसार चीनले नै आफ्ना नागरिकलाई हिँडडुलमा कडाइ गर्दा पनि चिनियाँ पर्यटक उतिसारो डराएका थिएनन्। जब नेपालमा भाइरस संक्रमित भेटिएको सरकारले पुष्टि ग-यो, त्यसपछि चिनियाँ पाहुनाले एकाएक भ्रमण रद्द गरेको उनले बताए। नेपालमा पनि कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी फैलिएको भन्ने सन्देश चिनियाँ पर्यटकमाझ पुगिसकेकोले घुमघामका कार्यक्रम रद्द गरेको उनले बताए।

‘चिनियाँको एकै समूहमा १०–१२ जना हुन्छन्। नेपाल भ्रमण रद्द गर्ने क्रम अझै चलिरहेको छ। यो बेला चिनियाँ पर्यटक नेपाल आउने समय हो,’ उनले भने, ‘यही बेला भाइरस संक्रमण फैलिँदा चिनियाँ पाहुना आउने अवस्था रहेन।’ अहिलेसम्म नेपाल सुरक्षित गन्तव्य रहेको भनेर बुझेका चिनियाँले नेपालमा पनि भाइरस संक्रमित भेटिएको पुष्टि भएपछि असुरक्षित ठान्न थालेको उनले बताए। यो बेला चीनमा नयाँ वर्ष मनाइन्छ। नयाँ वर्ष मनाउन साताव्यापी बिदा दिइने हुँदा यही मौका पारेर चिनियाँहरु घुमघामका लागि विभिन्न मुलुक जान्छन्। ‘नेपाल आइसकेका चिनियाँ विभिन्न रुटको पदयात्रामा छन्। नेपाल आइसकेकाहरु फर्किने हतारमा छैनन्। तर आउने तयारीमा रहेकाले भ्रमण रद्द गरेका छन,’ उनले भने, ‘यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो मार पर्ने निश्चित छ। चिनियाँ पर्यटकबाट ठूलो आस गरेको पर्यटन क्षेत्रले चिनियाँ भित्रिने समयमै रोग फैलिँदा पाहुनाको ठूलो हिस्सा गुमाएको छ।’ यो सिजनमा मात्र नेपालमा १५ हजार हाराहारी चिनियाँ पर्यटक आउने गर्छन्।

पछिल्लो समय नेपाल आउने चिनियाँको संख्या बर्सेनि बढिरहेको छ। भूकम्प गएको वर्ष केही खस्किए पनि त्यसपछिका हरेक वर्ष चिनियाँको आगमन बढेको छ। सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाइरहँदा आगमन अझै बढ्ने व्यवसायीको अपेक्षा थियो। असोज अन्तिम साता नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा बढीभन्दा बढी चिनियाँलाई घुम्न पठाउन उत्प्रेरित गर्ने प्रतिबद्धता जनाउँदा व्यवसायी ढुक्क जस्तै थिए। भूकम्पपछि ओरालो लागेको चिनियाँ पर्यटकको आगमन पछिल्लो समय केही सुधारिँदै गए पनि सोचेजस्तो वृद्धि नभएको गुनासो व्यवसायीले गरिरहँदा राष्ट्रपति सीको आगमन र प्रतिबद्धताले व्यवसायी आशावादी देखिएका थिए।

संक्रमणले गति लिइरहँदा नेपाल आउने चिनियाँले भ्रमण रद्द गर्न थालेको सांग्रिला होटलका आवासीय म्यानेजर गुप्त गिरीले बताए। ‘चिनियाँका कारण यतिबेला होटलको अकुपेन्सी उच्च बिन्दुमा पुगेको थियो। तर कोरोना भाइरसका कारण उनीहरुले भ्रमण रद्द गर्न थालेका छन्,’ गिरीले भने, ‘एक–दुईदिनदेखि बुकिङ रद्द हुने क्रम चलेको छ। अहिलेसम्मको रद्दले खासै असर नपारे पनि यो क्रम बढ्न सक्ने सम्भावना छ।’ रोगको संक्रमण फैलिन नदिन चीनबाट हुने सबै अन्तर्राष्ट्रिय आउजाउ नै रोक लगाउने तयारी भईरहँदा त्यसको मार नेपालको पर्यटन क्षेत्रले पनि खेप्ने उनले बताए। ‘चीनबाट हुने सबैखाले अन्तर्राष्ट्रिय उडान रोकियो भने त्यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो मार पर्नेछ। आउजाउ रोकिएको खण्डमा ९० प्रतिशत बुकिङ क्यान्सिल हुनेछ,’ उनले भने, ‘उडान रोकिएको खण्डमा पोखरामा रहेका चिनियाँ पर्यटक काठमाडौंमा थुप्रिनेछन र त्यो बेलाको असर पनि पोखराले खेप्नुपर्नेछ।’

अर्काे पाँचतारे होटल पोखरा ग्रान्डका महाप्रबन्धक रोशन खवासले अहिलेसम्म बुकिङ रद्द भइनसके पनि संक्रमण फैलँदो क्रममा रहेकोले त्यो खतरा औंल्याए। खवासले भने, ‘यो बेला चिनियाँकै कारण होटलको अकुपेन्सी दर शतप्रतिशत हाराहारी रहेकोले आगमनमा असर पर्नासाथ मार होटलमा पर्नेछ।’ उनका अनुसार अहिले पोखरा ग्राण्डको अकुपेन्सीको ७० प्रतिशत हिस्सा चिनियाँको छ। यो हिस्सा अझै १० दिनका लागि छ। चिनियाँ पाहुनाकै कारण होटलको अकुपेन्सी दर पनि बढेको हो। पदयात्रा व्यावसायी दीपकराज अधिकारीका अनुसार पोखरा आएका अधिक चिनियाँ पर्यटक यहाँको प्याराग्लाइडिङ र अल्ट्रालाइटमा रमाउँछन्। त्यस्तै घोरेपानी, घान्द्रुकसम्मको ३–४ दिनको रुटको पदयात्रामा पनि चिनियाँ पाहुना जान थालेका छन्। पछिल्लो समय अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको पदयात्रामा जाने चिनियाँ बढिरहेका छन्।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि चीनमा फैलिएको संक्रमणको मार पोखराको पर्यटन क्षेत्रमा पर्ने निश्चित भएको बताउँछन्। ‘अरु मुलुकका पाहुना यो बेला कम छन्। चिनियाँ पाहुना आउने सिजन हो। तर, यही मुखमा सबैतिर कोरोनाको संक्रमण फैलिएको छ,’ पराजुलीले भने, ‘नेपालमा पनि यो संक्रमण देखिएकोले पनि सबैतिर त्रास फैलिएको छ।’ पर्यटन क्षेत्र निकै नै संवेदनशील हुने भएकोले अहिलेको संक्रमण तत्काल नरोकिए त्यसको मार पोखराले खेप्नुपर्ने निश्चित रहेको उनले बताए। ‘केही महिना अघि डेंगीले सतायो। डेंगीकै कारण पर्यटन क्षेत्रमा मार खेप्यो, अहिले त्यो भन्दा पनि खतरायुक्त कोरोना संक्रमण फैलिएको छ,’ उनले भने, ‘यसले विश्वभर नै प्रभाव पार्ने सम्भावना छ।’ संक्रमण नरोकिएको खण्डमा पर्यटकको घुमघाम बन्द हुँदा पोखरा पनि चोखो नरहने उनले बताए।

सन् २०१८ मा चीनका झन्डै १५ करोड नागरिक घुम्नका लागि निस्केका थिए। त्यसैको सानो हिस्सा नेपालले पनि चिनियाँ पर्यटकलाई स्वागत गर्दै आएको छ। चीनले आफ्ना नागरिकलाई घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेशन स्टासट (एडिएस)’ मा नेपाल पनि परेको छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिइरहँदा चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’ मा राखेको थियो।

एडिएस प्राप्त मुलुकमा घुम्नका लागि चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्। सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा मात्र सिमित चिनियाँ नेपाल आउने गरेका थिए।

प्रकाशित: १२ माघ २०७६ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App