७ वैशाख २०८१ शुक्रबार
खेल

एथलेटिक्समा सेनाको दबदबा कायमै

इटहरी- नेपाली सेनाकी सरस्वती भट्टराईले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा स्वर्ण पदकको ह्याटि्रक गरेकी छन्। विभागीय टोलीको दबदबा कायमै रहेको दिन सोमबार पनि इटहरी रंगशालाको ट्र्याकमा ८ सय मिटर दौडको उपाधि जित्दै उनले ह्याटि्रक पूरा गरेकी हुन्।

१ हजार ५ सय मिटर महिला र ४ गुणा ४ सय मिटर रिलेमा उनले स्वर्ण पदक जितिसकेकी छन्। 'राष्ट्रिय प्रतियोगितामा सहभागी भएर एकैपटक तीन स्वर्ण पदक जित्दा औधी खुुसी लागेको छ,' सरस्वतीले नागरिकसँग भनिन्, 'आर्मीले खेलमा गरेको लगानीले गर्दा मैले पनि मौका पाएँ।'

महिला ८ सय मिटर दौडमा सरस्वतीले स्वर्ण जित्दा उनकै क्लबकी सानुमाया कार्कीले रजत पदक जितिन् भने सुदूरपश्चिमाञ्चलकी सीमाकुमारी चौधरीले कांस्य पदक हात पारिन्। सोमबार ९ स्वर्ण पदकको टुंगो लाग्दा ७ वटा स्वर्ण आर्मीकै खेलाडीले जिते। बाँकी दुई स्वर्ण मध्यपश्चिमाञ्चल र नेपाल पुलिसका खेलाडीले जिते।

आर्मीका लागि पुरुष ८ सय मिटर दौडमा सोमबहादुर कुमालले स्वर्ण पदक जिते। यो दौडमा आर्मीकै जीवन चौधरीले रजत र सशस्त्र प्रहरी बलको एपिएफका हिक्मत धामीले कांस्य जिते। पदक जित्नमात्र सीमित नभइ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेकाले आर्मीका खेलाडी सफल भएको एथलेटिक्सका सिनियर खेलाडी हरि रिमालले बताए। उनले एथलेटिक्सको पहिलो दिन १ हजार ५ सय मिटर पुरुष दौडमा स्वर्ण पदक जितेका थिए।

एथलेटिक्सको महिला ४ सय मिटर हर्डल्समा आर्मीकी दुर्गा देवकोटाले स्वर्ण जितिन्। सशस्त्र प्रहरीको सविता चौधरीले रजत र पूर्वाञ्चलकी सविता श्रेष्ठले कांस्य पदक जितिन्। यस्तै, २ सय मिटर पुरुष दौडमा मध्यपश्चिमाञ्चलका यामसाजन सुनारले स्वर्ण पदक जिते। उनले पहिलो दिन सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका थिए। एपिएफका आशिष चौधरीले रजत र आर्मीकै आनन्ददेव थारुले कांस्य पदक जिते।

महिलातर्फ २ सय मिटर दौडमा आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितिन्। कृष्णाले योसँगै सातौं राष्ट्रिय खेलकुदमा तीन स्वर्ण र एक रजत पदक जितेकी छन्। उनले १ सय मिटर दौड र ४ गुणा ४ सय मिटर दौडमा पनि स्वर्ण पदक हात पारेकी थिइन्। महिला लङजम्पमा भने उनले रजत पदक जितेकी थिइन्।

पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागी भएर धेरै पदक हात पार्दा अनपेक्षित खुसी भएको कृष्णाले बताइन्। महिला २ सय मिटर दौडमा आर्मीकी संगीता मेचेले रजत र मध्यपश्चिमाञ्चलकी प्रमिला थारुले कांस्य पदक जितिन्।

महिला टि्रपल जम्पमा भने नेपाल पुलिसकी केशरी चौधरीले स्वर्ण पदकमा नाम लेखाइन्। योसहित उनले पनि तेस्रो स्वर्ण पदक जितेकी छन्। उनले महिलातर्फ लङजम्प र हाइजम्पमा पनि स्वर्ण जितेकी थिइन्। टि्रपल जम्पमा एपिएफकी शीला चौधरीले रजत र संगीता मोचेले कांस्य जिते। टि्रपल जम्पमा पुरुषतर्फ आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जिते। उनले पुरुषतर्फ लङजम्पमा पनि स्वर्ण जितेका थिए। नेपाल प्रहरीका चन्द्रदेव जोशीले रजत र सुदूरपश्चिमाञ्चलका प्रविनबहादुर पालले कांस्य जिते।

यसैगरी डिस्कस थ्रोमा महिलातर्फ आर्मीकी अमृता महतोले स्वर्ण, नेपाल प्रहरीकी हरि चौधरीले रजत र एपिएफकी जीतकुमारी महतोले कांस्य पदक जिते। पुरुषतर्फ आर्मीकै विनोद राईले स्वर्ण, एपिएफका प्रेमबहादुर हुन्चिङले रजत र नेपाल प्रहरीका पुस्कल खड्काले कांस्य जिते।

प्रकाशित: १२ पुस २०७३ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App