६ वैशाख २०८१ बिहीबार
समाज

मुद्दा फेर्दै पैसा कमाउँदै

वीरेन्द्रनगर - जिल्ला अदालत सुर्खेतमा असार २६ गते जबरजस्ती करणीको मुद्दा दर्ता भयो। सो मुद्दामा ‘आठ दिनसम्म कोठामा राखी जबरजस्ती बलात्कार गरेको’ व्यहोरा उल्लेख छ। सोही मुद्दा दर्ता गराएकी युवतीले मुद्दा फैसला हुने दिन अर्थात भदौ १० गते आफ्नै जाहेरीविरुद्ध बयान दिइन्। आफ्नै विरुद्ध उनले ‘मलाई विवाह गर्ने सहमति भएको थियो। केटाले विवाह गर्न नमानेपछि मलाई जबरजस्ती बलात्कार गरेको उजुरी दर्ता गराएकी हुँ’ भन्ने बयान दिँदा न्यायमूर्तिले जबरजस्त बलात्कार भएको पृष्टि गर्न सकेन। पीडित भनिएकी केटीले बयान फेरेपछि दोषी निर्दाेष कहलिए। सोहीअनुसार अदालतले फैसला सुनायो। यति मात्र होइन, जिल्ला अदालत सुर्खेतमा आउने मुद्दामध्ये ९० प्रतिशतले आफ्नो बयान फर्ने गरेका छन्।

यस्ता घटनाले न्यायपालिकाप्रति विश्वास कम हुँदै गएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्रकुमार आचार्यका अनुसार पछिल्लो समय पीडितले बयान फेर्ने क्रम बढ्दो छ। यसले न्यायपालिकाप्रति विश्वास कम हुँदै गएको र पीडकले छुटकारा पाउँदै गएको उनले सुनाए। समाजमा चेतना अभिवृद्धि बढ्दै जानु र अपराध बढ्दा मुद्दाको संख्या बढे पनि पीडित आफैंका कारण पीडितले न्याय पाउन नसकेको उनको जिकिर छ। घटना क्यासमा ‘कन्भर्ट’ हुँदा न्याय कमजोर भएको उनको भनाइ छ। ‘पीडकलाई सजाय लामो हुन्छ,’ उनले भने, ‘सजायभन्दा पैसाको प्रलोभनमा पीडितलाई सहमतिमा ल्याइन्छ।’ अनि पीडितले घटनालाई क्यासमा कन्भर्ट गर्दै बयान फेर्ने गरेको उनी बताउँछन्। ‘समाजले घटना देख्छ,’ आचार्य भन्छन्, ‘पीडितले अदालतमा बयान फेरेको देख्दैन, जसले अदालतको कामकारबाहीप्रति अविश्वास पैदा हुन्छ।’ केही बयान फेर्ने व्यक्तिलाई कारबाही गरेको उनको भनाइ छ।

अदालतका अनुसार बिचौलियाले पीडकसँग मिलेर पीडितलाई आर्थिक प्रलोभनमा पार्दा अधिकतर मुद्दा फेरिने गर्छन्। पछिल्लो समय अदालतको हाताभित्र बिचौलियालाई प्रवेश निषेध गरिए पनि बाहिरबाटै बिचौलियाले चलखेल गरिरहेको बताइएको छ।

बिचौलियाका कारण मुद्दा मिलापत्र हुने गरेको अदालतको भनाइ छ। अदालतका अनुसार बिचौलियाले पीडकसँग मिलेर पीडितलाई आर्थिक प्रलोभनमा पार्दा अधिकांश मुद्दा ‘होस्टायल’ हुने गर्छन्। पछिल्लो समय अदालतको हाताभित्र बिचौलियालाई प्रवेश निषेध गरिए पनि बाहिरै बिचौलियाले चलखेल गरिरहेको बताइएको छ।

जिल्ला अदालत सुर्खेतमा चालू आवभित्र ७ सय ४८ वटा मुद्दा दर्ता भएका छन्। गत वर्ष ५ सय ३८ वटा मुद्दा जिम्मेवारी सरी आएका थिए। कुल मुद्दामध्ये ५ सय ७९ वटा मुद्दा फछ्र्योट भएको र सात सय एकवटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार भूपाल भण्डारीले जानकारी दिए। सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। दुई सय २१ वटा सम्बन्ध विच्छेद, जबरजस्ती करणी ६० र घरेलु हिंसा ३४ वटा भएको उनले जानकारी दिए।

अदालत साक्षीको बयान र प्रहरीले संकलन गरेको प्रमाणका आधारमा मुद्दा किनारा लगाउने गरेको भन्दै जिल्ला न्यायाधीश आचार्यले आफ्नो छुट्टै प्रविधि हुनुपर्ने बताए। ‘हामी बयानका आधारमा फैसला सुनाउँछौं,’ उनले भने, ‘त्यस्तो हुँदा जनताले अदालतमाथि प्रश्न उठाउने गर्छन्।’ घटना वास्तविक भए पनि पीडितले बयान फेर्दा दोषी निर्दाेष सावित हुने उनको भनाइ छ। अर्थात् घटनाको बयान फेर्दा समाजमा हुने आपराधिक क्रियाकलाप बढ्दै जाने र आपराधिक मानसिकताका व्यक्तिको मनोबल बढ्दै जाने जिल्ला अदालतका सेस्तेदार भण्डारीले बताए। बहुविवाह, बलात्कार, कर्तव्य ज्यानलगायत केही घटनामा पीडितले बयान फेर्ने गरेका छन्।

मुद्दा होस्टायल गर्ने क्रम बढ्दै जाँदा समाजमा नकारात्मक सन्देश गएको छ। मुद्दा होस्टायल हुँदा समाजमा अझ आपराधिक घटना बढ्नसक्ने अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिए। मुद्दा होस्टायल गर्ने व्यक्तिलाई दोषी सरहकै सजाय भए यस्तो काम कम हुने उनी बताउँछन्।

प्रकाशित: १२ माघ २०७६ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App