coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेक्वान्दोमा आर्मीको ६ स्वर्ण

इटहरी- पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेका सोमबारसम्मका खेलमा आर्मी स्वर्णसहित अन्य पदक प्राप्त गर्नेमा अगाडि रहेसँगै तेक्वान्दोमा पनि शीर्ष स्थानमा छ।

तेक्वान्दोका सोमबार भएका चार वटा फाइनल जितेर चारै स्वर्ण पदकमा आर्मीले कब्जा गरेको छ। सुनसरीको इटहरीमा भइरहेका खेलमा पुरुषतर्फ ५८ केजी र ८७ केजीमुनि तौल समूहमा आर्मीका खेलाडीले स्वर्ण पदक जिते भने महिलातर्फ ७३ केजीमाथि र ६७ केजीमुनि तौल समूहमा स्वर्ण पदक हात पारे। अहिलेसम्म तेक्वान्दोमा ७ स्वर्णको टुंगो लाग्दा आर्मीले ६ स्वर्ण पदक जितिसकेको छ। बाँकी एउटा मात्र स्वर्ण नेपाल प्रहरीले जितेको छ।

सोमबार भएका खेलमा ५८ केजीमुनि तौल समूहमा आर्मीका सागर गुभाजुले स्वर्ण पदक जिते। यो तौल समूहमा नेपाल प्रहरीका रञ्जन श्रेष्ठले रजत जिते। कांस्य पदक भने मध्यमाञ्चलका युजन गुरुङ र पूर्वाञ्चलका अर्जुन सुनुवारले जिते। पुरुष ८७ केजीमुनि तौल समूहमा आर्मीका सक्षम कार्कीले स्वर्ण पदक जिते। राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जित्दा धेरै रमाइलो लागेको सक्षमले बताए। उनले छैठौं खेलकुददेखि सहभागिता जनाउन थालेका हुन्।

८७ केजीमुनि तौल समूहमा नेपाल प्रहरीका अनुज पुजारीले रजत पदक पाए भने मध्यपश्चिमाञ्चलका पारसविक्रम साह र पूर्वाञ्चलका दुर्गाबहादुर थापाले कांस्य पदक जितेका छन्।

महिलातर्फका खेलमा ७३ केजीमुनि तौल समूहमा आर्मीकी निशा रावलले स्वर्ण पदक जितिन्। 'जसरी पनि स्वर्ण पदक जित्ने लक्ष्य लिएकी थिएँ, सफल भएँ। खुसी लागेको छ,' उनले पदक र प्रमाणपत्र पाएपछि भनिन्, 'छैठौंमा पनि मैले स्वर्ण जितेकी थिएँ।'

यो तौल समूहमा नेपाल प्रहरीकी राधिका श्रेष्ठले रजत जितिन्। यस्तै,  मध्यपश्चिमाञ्चलकी संगीता थारु र पूर्वाञ्चलकी बाला शाक्यले कांस्य पदक पाए। सातौं राष्ट्रिय खेलकुदको तेक्वान्दोमा महिलातर्फकै ६७ केजी तौल समूहमा आर्मीकी प्रतिज्ञा भण्डारीले स्वर्ण पदक जितिन्। पश्चिमाञ्चलकी ममता गर्बुजाले रजत पदक प्राप्त गरिन्। यो तौल समूहमा पूर्वाञ्चलकी दीक्षा लिम्बु र मध्यमाञ्चलकी जमुना श्रेष्ठले कांस्य पदक जितिन्।

सोमबारका खेलमा स्वर्ण, रजत र कांस्य पदक जित्ने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले पदक र प्रमाणपत्र प्रदान गरे।

आइतबार भएको खेलमा महिलातर्फ ४९ केजीमुनि तौल समूहमा आर्मीकी यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी थिइन्। पुरुषतर्फ ५४ केजीमुनि तौल समूहमा आर्मीकै ताराकुमार रायमाझीले स्वर्ण पदक जितेका थिए। अहिलेसम्म ४६ केजीमुनि तौल समूहमा नेपाल प्रहरीकी रेजिना कार्कीले मात्र स्वर्ण पदक जितेकी छन्। तेक्वान्दोका १६ इभेन्टमध्ये अब ९ वटा इभेन्टको छिनोफानो हुन बाँकी छ।

प्रकाशित: १२ पुस २०७३ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App