coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाको आशंकामा थप तीन अस्पतालमा

फाइल तस्बिर

काठमाडौं - चीनबाट फर्र्किएका एक नेपालीमा नोवल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीनजनामा त्यसको आशंका गरिएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। कोरोनाकै आशंकामा अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको नाम खुलाइएको छैन।

रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो। चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए। संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन्। अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ। त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्।

‘नेपालमा चिनियाँ पर्यटकभन्दा पनि विविध कामले चीनमा गई फर्कने नेपालीबाट बढी जोखिम हुन सक्छ।’

कोरोना भाइरसको आशंकामा भर्ना हुने बिरामीको संख्या बढ्न थालेपिछ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आपतकालीन बैठक राखेको एक उच्च अधिकारीले बताए। बैठकले मन्त्रालयका अधिकारी र अस्पतालका चिकित्सकलाई मिडियासँग जथाभावी नबोल्न निर्देशनसमेत दिएको ती अधिकारीको भनाइ छ। ‘यस विषयमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ र महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेक लाललाई मात्र बोल्नू भन्ने उर्दी छ,’ ती अधिकारीले भने, ‘ती दुईबाहेक अन्यले कोरोना भाइरससँग सम्बन्धित विषयमा बोले कारबाही गर्ने चेतावनी दिँदै स्वास्थ्य सचिव खगराज बरालले सर्कुलर जारी गरेका छन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरसका बिरामी नेपालमा पनि फेला परेकाले सरकारले आवश्यक तयारी थालेको बताए। चीन छिमेकी राष्ट्र भएकाले कोरोना भाइरस संक्रमण नेपालमा पनि हुन सक्ने भएकाले सचेतता अपनाएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले सीमा नाका र विमानस्थलमा सतर्कता अपनाउने योजना लागू भइसकेको दाबी गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाउने प्रक्रिया अघि बढेको भन्दै उनले शंका लागे सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटनमा पठाउनेगरी तयारी भइरहेको बताए। श्रेष्ठले अस्पतालमा भर्ना भएका बिरामीलाई छुट्टै राखेर कोरोना हो कि होइन भनेर परीक्षण गरिने स्पष्ट पारे।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. पाण्डेले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अस्पतालले तयारी थालेको बताए। बिरामीको विषयमा भने आफूले बोल्न नमिल्ने उनको भनाइ छ। ‘बिरामीको विषयमा मन्त्रालयका प्रवक्ता र महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले मात्र जानकारी दिने भन्ने कुरा छ। भर्ना भएका बिरामीको विषयमा अस्पतालले महाशाखालाई नै रिपोर्ट गर्नू भनिएको छ,’ उनले भने, ‘त्यही भएर बिरामीको अवस्थाको विषयमा बोल्न मिल्दैन।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चीनमा कोराना भाइरस संक्रमितको संख्या बढिरहेको र नेपालमा पनि पुष्टि भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए। नेपालमा कोरोना भाइरस देखिसकेकाले अबको मुख्य चुनौती नै कसैलाई रुघाखोकी लागे पनि कतै कोरोना भाइरस संक्रमणको आशंका गरी त्रास लिएर अस्पताल आउनेको भीड हुने उनको भनाइ छ। ‘नेपालमा चिनियाँ पर्यटकभन्दा पनि नेपाली नागरिक चीनबाट नोबेल कोरोना संक्रमित भइ फर्केर आउनेबाट बढी जोखिम हुन सक्छ,’ डा. पुनले भने, ‘उनीहरू आफन्त तथा साथीभाइसँगको नजिक हुने र सार्वजनिक स्थलमा पुगिरहनाले पनि पर्यटकबाट भन्दा चीनबाट आएका नेपालीबाट कोरोनाको बढी जोखिम छ।’

प्रकाशित: १२ माघ २०७६ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App