coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नारायणी यातायातले तिर्‍यो ८३ लाख

मकवानपुर- नारायणी यातायात व्यवसायी संघको रुपान्तरित कम्पनी पुरानो नारायणी यातायात कम्पनी प्रालिको प्रथम वार्षिक साधारण सभा हेटौंडामा भएको छ। ४० वर्षअघि स्थापित संघले गत तीन आर्थिक वर्षमा ८३ लाख २२ हजार रुपैयाँ सरकारलाई कर तिरेको सभामा जानकारी दिइएको छ।

सभाको उद्घाटन गरेपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यवसाय विशिष्ठ प्रकृतिको भएको भन्दै सरकारले सबैभन्दा राम्रो वातावरण बनाएको दाबी गरे। ‘सरकारले यातायातसहित सबै व्यवसाय गर्न अहिलेसम्मकै सबैभन्दा राम्रो वातावरण बनाएको छ,’ उनले भने, ‘यातायात क्षेत्रमा लगानीकर्ता प्रायः नेपाली रहेकाले व्यवसायीहरुलाई जोगाउनुपर्छ।’

यातायात क्षेत्रमा नियम कानून अपुग रहेको आफूहरुलाई पनि जानकार रहेको भन्दै उनले व्यवसायीको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताए। यातायात व्यवसायी संघसंस्थाहरु जवरजस्ती रुपमा कम्पनीमा गएको भन्दै उनले नयाँ मोडल ल्याउनु पर्नेमा जोड दिए। शासन व्यवस्था फेरिए पनि सोच र व्यवहार नफेरिएकाले यातायात क्षेत्रमा पहुँच र पैसावालाले राज्यबाट छुट, सुविधा धेरै लिइरहेकाले नेता, कर्मचारी, व्यवसायी सबै बदलिनुपर्ने तर्क उनले गरे।

प्रदेशका प्रमुख प्रतिपक्ष दल कांग्रेसको संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले राज्यले व्यवसायीहरुबीच विभेद गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष बनाउने काम बन्द गर्नुपर्ने बताए। ‘नारायणी यातायात व्यवसायी संघ जस्ता यातायात संस्थाहरुप्रति सरकारले गम्भीर विभेद गरेको छ,’ उनले भने, ‘व्यवसायीहरु भनेका व्यवसायी मात्र हुन्, राज्यले सत्तापक्ष र प्रतिपक्ष बनाउने काम तत्काल रोक्नुपर्छ।’

व्यवसायीहरुबीच सरकारले विभेद गरेमा देशलाई नै ठुलो घाटा पुग्ने चेतावनी दिँदै उनले राज्य विभेदकारी भएमा विद्रोह हुने बताए। सत्तापक्ष नेकपाको बोली र व्यवहार फरक रहेको आरोप लगाउँदै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई नारामै सीमित रहेको दाबी गरे। बागमती प्रदेशका सांसदहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामालगायतले सरकारले यातायात सेवालाई गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने भन्दै व्यवसायीहरुले यातायात पेशालाई मर्यादीत र व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

पुरानो नारायणी यातायात कम्पनी कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले सवारी दुर्घटनाका घाइते पक्षले औषधि उपचारमा अत्याधिक खर्च गराउने गरेकाले बिमा नीतिमा जोखिम बहन गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे। ‘यातायात क्षेत्रका केही अधिकार प्रदेश सरकारमा पनि हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘५० प्रतिशत बढी व्यवसायी स्वरोजगार रहेकाले उनीहरुको पक्षमा केन्द्र र प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ।’

कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीले उत्कृष्ट व्यवसायीको रुपमा चितवनका बलराम थापालाई सम्मान समेत गरिएको थियो। ४० वर्षअघि (वि.सं. २०३६)मा स्थापित संघ अन्तरगत हाल यात्रुवाहक सवारीको सञ्चालन र व्यवस्थापन तथा दुर्घटना, औषधी उपचार, क्षतिपूर्ति र मर्मत गर्न दुई कम्पनी पुरानो नारायणी यातायात कम्पनी र नारायणी संघ हेटौंडा स्थापना गरिएको छ।

प्रकाशित: ११ माघ २०७६ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App