coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘मिलन स्मारिका’ को रकमबाट कर्मचारी भवन

नवनिर्मित भवन अगाडी अध्यक्ष न्यौपानेलगायत पदाधिकारी । तस्बिरः महेश्वर

उदयपुर- कर्मचारी मिलन केन्द्रले स्मारिका प्रकाशन गरेर आफ्नो भवनको तल्ला थपेको छ। केन्द्रले जिल्लाको पर्यटकीय, भौगोलिक, सामाजिक, सांस्कृतिक र स्थानीय तहहरुको गतिबिधि समेटेर प्रकाशिन गरेको ‘मिलन स्मारिका’ बाट संकलित रकमबाट पुरानो भवनमा तला थपेको हो।

गएको साउनमा पुनर्गठित समितिका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेको कार्यसमितिले जिर्ण भवन मर्मत तथा स्तरोन्नति गर्ने उद्देश्यले स्मारिका प्रकाशन गरेको हो। गत मंसिरमा प्रकाशित स्मारिकामा बिभिन्न संघसंस्था, उद्योगधन्दा, जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहका पर्यटकीय स्थल, धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक विषयवस्तु समेटिएको छ।

सो स्मारिकामा प्रकाशित विज्ञापन तथा पुस्तक बिक्रीबाट २० लाख रुपैयाँ संकलन भएको र सोही रकमबाट पुरानो जीर्ण भवनको मर्मत गर्नुका साथै ट्रस प्रविधिको एकतला थप निर्माण गरिएको समितिले जनाएको छ। अध्यक्ष न्यौपानेका अनुसार भवन मर्मत सुधार तथा तला थप्ने काम सम्पन्न भइसकेको छ। उनले स्रोत अभावका कारण २०७२ को भूकम्पले जीर्ण बनाएको २०५४ सालमा निर्मित एकतले पक्की भवनको मर्मतसमेत हुन सकेको थिएन।

भवन मर्मत गर्न नसक्दा सरकारी कार्यालयका बैठक र कार्यक्रमहरु गर्नुपरे होटल र भाडाका हल खोज्नुपर्ने बाध्यता आफ्नै भवन मर्मत सुधार भएपछि हटेको छ। भवन आप्mनै भएपछि सबै सरकारी कार्यालयको नियमित बैठक र बिभिन्न कार्यक्रमहरु गर्न सहज भएपछि खर्च कटौतीमा सहयोग पुग्ने अध्यक्ष न्यौपानेले बताए।

नव निर्मित भवनको तलामा १ सय जनासम्म बसेर कार्यक्रम गर्न मिल्ने सभाकक्ष तयार भएको छ। मिलन केन्द्रले भवन मर्मत र सुधार गर्ने उद्देश्यले नै स्मारिका प्रकाशन गरेको र त्यसका लागि सबै स्थानीय तह र जिल्लाका सरकारी संघसंस्थाको सहयोग पाएको उपाध्यक्ष तथा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए। उनका अनुसार केन्द्रले भवनलाई व्यवसायिक प्रयोजनमा सञ्चालन गर्ने तयारी गरेको छ।

‘यसअघि जीर्ण भवनमा सानोतिनो बैठक गर्नसमेत नमिल्दा होटल र हल भाडा लिनुपर्ने बाध्यता थियो’ केन्द्रकी सहसचिव तथा त्रियुगा नगरपालिकाकी लेखा अधिकृत विनया बस्नेतले भनिन् ‘अब त्यो समस्या हटेको छ। सबैको सहयोगले हामी सभाकक्ष र पुरुष/महिला शौचालय तथा खानेपानी सुविधासहितको आफ्नै भवन बनाउन सफल भएका छौं। अब यसलाई सरकारी मात्र नभएर गैरसरकारी संघसंस्थाले पनि प्रयोग गर्नेगरी व्यवसायिक बनाउदैछौं।’

स्मारिकाका सम्पादक तथा केन्द्रका कोषाध्यक्ष सुमन बुढाथोकीले भवन बनाउन स्मारिकामा प्रकाशित विज्ञापन र सूचनामूलक सन्देशवापत २० लाख भन्दा बढी रकम संकलन भएको बताए। उनका अनुसार भवन बनाउदा लागेको २० लाख १९ हजार ४ सय ७५ रुपैयाँमध्ये सबै भन्दा बढी चौदण्डीगढी नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको छ। कटारी र बेलका नगरपालिका तथा मदन भण्डारी स्मृति लोकमार्गले डेढ/डेढ लाख रुपैयाँ सहयोग गरेका छन् भने लिमचुङबुङ, रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिका तथा त्रियुगा नगरपालिकाले १/१ लाख रुपैयाँ सहयोग गरेका छन्। उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ७५ हजार रुपैयाँ दिएको कोषाध्यक्ष बुढाथोकीले बताएका छन्।  
    
 

 

प्रकाशित: ११ माघ २०७६ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App