६ वैशाख २०८१ बिहीबार
समाज

मुम्बईबाट फर्किएका युवक लेकमा मृत भेटिए

बाजुरा- बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीच क्षेत्र पर्ने पोरखे लेकमा एक युवक मृत भेटिएका छन्। बुढीनन्दा नगरपालिका-९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ।

पोरखे लेकस्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले जानकारी दिएका छन्। मृत शवको पहिचान भए पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली पुग्न बाँकी छ।

ल्वार रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए। उनी मुम्बईबाट घर फर्किदै गर्दा बीच बाटोमा नै मृत भेटिएका हुन्। घटना स्थलबाट ल्वारको घर मात्र १ घण्टाको दुरीमा पर्दछ।

मृत्युको कारणबारे आधिकारी जानकारी प्राप्त नभए पनि चिसोका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। ढम्कनेबाट लगातार २ घण्टा हिउँकै बाटोमा हिँड्नु पर्ने हुन्छ। ल्वार मुम्बईबाट एक्लै नेपाल आएको परिवार श्रोतले बताएको छ।

तीन दिनपहिले मार्तडी पुगेको खबर गरे पनि त्यो भन्दापछि कुनै जानकारी नभएको र फोन समेत नलागेकोले आफूहरुले खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन्। शव भेटिएको स्थानमा सशस्त्र प्रहरी र आफन्त समेत पुगीसकेका छन्।

पोरखे काँधमा भारी हिमपातका कारण तीन सातादेखि सडक अवरुद्ध रहेको छ। ढम्कनेबाट हिँडेर जानु पर्ने हुँदा प्रहरी घटना स्थल पुग्न चार घण्टा बढी लाग्ने छ। पोरखे क्षेत्रमा यसअघि पनि हिमपात भएकै बेला तीन जनाको ज्यान गइसकेको छ।

यस्तै चोरी लुटपाटका घटना पनि हुने गरेका छन्। प्रहरी प्रशासनबाट दुरीमा टाढा रहेको र जंगलको बाटो भएकोले पोरखे लेकमा अपराधिक घटनाहरु घटनेक्रम जारी छ। सरकारले पोरखेमा सशस्त्र प्रहरी क्याम्प राख्ने भने पनि अझै कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: ११ माघ २०७६ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App