coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमणको लक्षण देखिएमा चिनियाँलाई सीमाबाटै फिर्ता गरिने

रसुवा - रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भूभागबाटै फिर्ता गरिने भएको छ। रसुवागढी नाकास्थित चीनतर्फ रहेको चिनियाँ क्यारेन्टाइनले स्वास्थ्य परीक्षण गरेर संक्रमणको लक्षण देखिएमा त्यहीबाट फिर्ता गर्ने जनाएको हो।

चिनियाँ तथा विदेशी पर्यटक भए त्यहीबाट फर्काउने र नेपाली रहेको खण्डमा नेपालस्थित रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा पठाउने चिनियाँ क्वारेन्टाइनको तयारी छ। जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चिनियाँ क्वारेन्टाइन बीच भएको अनौपचारिक छलफलमा चिनियाँ पक्षले कोरोनाको लक्षण देखिएको बिरामीलाई नेपालतर्फ नपठाउने जानकारी दिएको हो।

मन्त्रालय तथा विभागबाट कुनै पनि निर्देशन नआएको भएपनि जोखिमलाई मध्यनजर गर्दै जिल्लास्तरबाटै शनिबारदेखि नाकाबाट सेवा सुरु गरिएको छ। त्यहाँ रहेको हेल्थ डेक्सबाट सेवा सुरु गरिएको हो। शनिबार शंका लागेका एक जना पनि बिरामी नआएका स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपाल प्रवेश गर्ने पर्यटकको शनिबारदेखि स्वास्थ्य परीक्षण सुरु गरिने भएको छ। चीनमा पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाइरस भित्रने जोखिम उच्च भएकाले नाकामा उच्च सतर्कता अपनाइएको हो।

नाकामा यसअघि स्थापना गरिएको हेल्थ डेक्सलाई नै प्रभावकारी बनाएर सञ्चालनमा ल्याइएको हो। जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो। कोरोना भाइरसको संक्रमणबाट हालसम्म चीनमा हालसम्म ४१ जनाको मृत्यु भएको छ भने नेपालमा पनि यसको संक्रमण देखिएको छ।

प्रकाशित: ११ माघ २०७६ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App