८ वैशाख २०८१ शनिबार
अन्य

कर्मले जित्नेको कथा हो झिम्के मामा

काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘झिम्केमामा’ मञ्चन भइरहेको छ। दुर्गाप्रसाद पाण्डेको कथालाई प्रदीपकुमार चौधरीको लेखन र निर्देशनमा नाटकमा ढालिएको हो। प्रस्तुत छ, उनै निर्देशक चौधरीसँग यस नाटकबारे गरिएको संक्षिप्त वार्ता :

झिम्के मामा कस्तो नाटक हो ?
झिम्के मामा चरित्रप्रधान नाटक हो। जसमा झिम्के पात्रलाई हामीले हाम्रै समाजबाट टिपेर ल्याएका छौँ। झिम्के दलित समुदायको सदस्य हो। दलित भएकै कारण उसले धेरै ठाउँमा हन्डर खानुपरेको छ। तर, जातपात भन्नु अन्धविश्वास वा कुरीति हो भनेर बुझेको छ उसले। उसले फरक समाजमा गएर राम्रो काम गर्छ। उसको कामलाई त्यहाँ राम्रो मानिन्छ, तर उसको जात थाहा पाएपछि घृणा गरिन्छ।

ऊ आफ्नो समुदाय छाडेर अर्कैको समुदायमा जाँदा घुलमिल हुन सकेको छैन। कुनै एउटा व्यक्ति आफ्नो परिवार र समुदायलाई छाडी अन्यत्र गएर घुलमिल हुँदा पर्ने अप्ठेरोलाई नाटकमा एक पक्षबाट देखाइएको छ। त्यस्तै मान्छेले मान्छेको कामलाई स्वीकार गर्ने तर जातीय भेदभावका कारण उसको अस्तित्वलाई चाहिँ स्वीकार नगर्ने विषयलाई नाटकमा व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यस अर्थमा यो व्यंग्यात्मक नाटक पनि हो।

यस नाटकको सन्देश के हो ?
यसमा कर्मले जित्नेको कथा समेटिएको छ। समाजमा कोही कुनै विभेदमा पर्नुहुँदैन, न्याय र आत्मसम्मानका दृष्टिले मान्छे सबै समान हुन्। तर रुढीवादी समाज वा परम्पराका कारण हामीकहाँ अझै पनि तल्लो र माथिल्लो जात भनेर गरिने विभेद कायमै छ। यस्ता भेदभाव हटाउनुपर्छ भन्ने नै यसको सन्देश हो।

नाटकका माध्यमबाट समाजका विभेद हटाउन सकिन्छ त ?
नाटकले समाजकै कथा भन्ने हो। हामीले समाजका मुद्दाहरूलाई उठाउन सकियो भने निश्चय नै त्यसले दर्शकलाई केही सोच्न बाध्य बनाउँछ। अहिले हामीले जुन किसिमको जीवनशैली बाँचिरहेका छौँ, त्यसमा एक प्रकारको बुझाइ वा चेतना छ, त्यसलाई बदल्न कला–साहित्यको ठूलो भूमिका हुन्छ भन्ने मेरो विश्वास हो।

कलाकारले कस्तो अभिनय गरेको महसुस गर्नुभएको छ ?
यस नाटकमा केही नयाँ र केही पुराना कलाकार छन्। तर सबैले आफ्नो तर्फबाट पूर्ण सन्तुष्टि दिने प्रयत्न गरेका छन्। त्यसका बाबजुत पनि प्रस्तुतिमा केही न केही अभाव त खड्किरहेकै हुन्छ। नाटक आज जे गरियो, त्यसमा भोलि अलिकति राम्रो हुँदै जाने रहेछ। गल्ती मानवबाटै हुन्छ। त्यसैले स्टेजमा हुने पर्फमेन्समा आजका अभावलाई भोलि पूरा गर्ने अवसर पाइन्छ भनेरै नाटक गर्ने गरिन्छ। आजभन्दा भोलि राम्रो गर्न कलाकारले मेहनत गरिरहेका छन्।
प्रस्तुति : मञ्जु गौतम

 

प्रकाशित: ११ माघ २०७६ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App