coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अग्रवाल कार्यकक्षको ताला खुल्यो

काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा नियुक्त डिन डा. जगदीशप्रसाद अग्रवालको कार्यकक्षमा असन्तुष्ट समूहले लगाएको ताला सहमतिपछि सोमबार खुलेको छ। आगामी दिनमा मापदण्डअनुसार डिन नियुक्ति थाल्न सिनेटमा प्रस्ताव लाने, रिक्त पदाधिकारीमा वरिष्ठतासँगै योग्यता र कार्यकुशलतासमेत हेरेर नियुक्ति गर्नेलगायतको सहमतिपछि ताला खुलेको हो।

यसअघिका डिनलाई जबरजस्ती राजीनामा दिन बाध्य पारिएको भन्दै असन्तुष्ट समूहले २३ दिनअघि ताला लगाएको थियो। वरिष्ठताविपरीत डा. केपी सिंहलाई त्रिवि कार्यकारी परिषद्ले डिन बनाएपछि डा. गोविन्द केसीले अनशन थालेका थिए। अनशन लम्बिँदै जाँदा दबाब बढेपछि सिंहले राजीनामा दिएर अग्रवाल डिन बनेका थिए। अग्रवाल डिन बनेको दिनदेखि नै तालाबन्दी सुरु भएको थियो।

पदबहाली गरे पनि कार्यकक्षमा प्रवेश गर्न नपाएका अग्रवालले सोमबार काम सुरु गरेका छन्। आफूले आइओएमको हितबाहेक केही नहेर्ने प्रण गरेर जिम्मेवारी स्वीकार गरेको बताउँदै अग्रवालले सबैको साथ पाउने विश्वास व्यक्त गरे। 'भ्रम रहेका विषयमा हामी बसेर छलफल गरेर सहमतिमा समेत पुगेका छौं,' अग्रवालले भने, 'अब म कामबाट देखाउँछु।'

ताला खोल्नुअघि डा. अग्रवालको राजीनामा माग गर्दै मंसिर १९ गते तालाबन्दी गरेको आइओएम बचाऊ संघर्ष समितिसँग ६ बुँदे सहमति भएको थियो।  दुई पक्षबीच आगामी दिन डिन नियुक्ति गर्दा डा. रमेशकान्त अधिकारी संयोजकत्वको समितिले बुझाएको डिन नियुक्ति मापदण्ड सिनेटबाट पास गराउने र आगामी दिनमा सोहीअनुसार गर्नेे सहमति भएको छ।

असहमति हुँदा बन्दहडताल गरेर कामै रोक्ने र मानमर्दन गर्ने प्रवृत्ति अन्त्य गर्ने सहमति पनि भएको छ। यस्तै आइओएममा दीर्घकालीन असर पार्ने निर्णय गर्दा सबै सरोकारवाला पक्षबीच छलफल गर्ने र द्वन्द्वको अवस्थामा एकबद्ध भएर संस्थाका पक्षमा उभिने सहमति पनि भएको छ।

रिक्त सहायक डिन र पदाधिकारीमा पनि वरिष्ठतासँगै क्षमता, कार्यदक्षता र संस्थाप्रतिको लगाबका आधारमा पारदर्शी प्रक्रिया बनाएर नियुक्ति गर्ने, फ्याकल्टी बोर्डमा प्राध्यापक संघ क्याम्पस एकाइका प्रतिनिधि राख्न दुवै पक्ष सहमत भएका छन्।

प्रकाशित: १२ पुस २०७३ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App