७ वैशाख २०८१ शुक्रबार
अन्य

अचम्मको गुफा

गुफा अर्थात् प्रकृतिको अनौठा सिर्जना। गुफामा विभिन्न किसिमका आकृति हुन्छन्। कुनै देवदेवी जस्ता, कुनै फलफूल जस्ता, कुनै जनावर जस्ता र कुनै बाजागाजा जस्ता। गुफाभित्र पुग्दा बेग्लै संसार पुगेको अनुभव हुन्छ। त्यहाँ धेरै कुरा हेर्न, बुझ्न र सिक्न सकिन्छ। त्यस्तै एउटा अचम्मको गुफा–मिलेनियम केभ।  
गुफाभित्र सयौं चमेरा तुर्लङ्ङ झुन्डिएको भेटिन्छन्। रोचक कुरा त गुफाभित्रै दुइटा झरना छन्। गुफा बाहिर पनि एउटा झरना छ। शिवलिंग, शंख, चक्र, पानीमा नुहाइरहेका बुद्ध आदिका प्रतिमा छन्। त्यहाँका आकृति देख्दा यस्तो लाग्छ गुफाभित्र देवदेवीको सम्मेलन जारी छ। 

गुफा प्रवेश गर्न संरक्षण समितिलाई ५० रुपैयाँ तिर्नुपर्छ। गुफामा बिजुली सुविधा छैन। टर्चलाइट लिएर जानुपर्छ। हरपल पानी बगिरहने भएकाले जुत्ता नलगाई पस्नुपर्छ। त्यहाँका आकृति तोडमोड गर्नु हुन्न। होहल्ला गर्नु हुन्न। 

तनहुँ जिल्लाको साविक फिरफिरे गाविसमा रहेको गुफालाई सन् २००० मा पर्यटनविज्ञहरूले ‘मिलेनियम केभ’ नामाकरण गरिदिएका। त्यही बेला ‘सहस्राब्दी पदमार्ग’ सुरु भएको थियो। पृथ्वी राजमार्गको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा निस्कने पदमार्ग। ‘मिलेनियम टेक’ सँगै मिलेनियम केभ चर्चित बन्यो।

गाउँका युवाले गुफा संरक्षण गर्न समिति बनाएका छन्। उनीहरू प्रकृति, संस्कृति र इतिहासलाई जोडेर पर्यटन विकास गर्दै छन्। अचेल सबैतिर मोटरबाटो पुगिसकेको छ। त्यसैले मोटरमा सरर यात्रा गर्न सकिन्छ, पदयात्रा गर्नुपर्ने बाध्यता छैन।

दुलेगौंडा नगरपालिका–२ मा पर्दछ फिरफिरे। फिरफिरे क्षेत्रमा ८१९ घर छन्। गाउँमा गुरुङ समुदायको बाहुल्य छ। 

गुफा आफैंमा आकर्षक पर्यटकीय सम्पदा त हो। त्यसबाहेक पनि हेर्नलायक धेरै चिज छन्। फिरफिरे क्षेत्रमा ढोर दरबार छ। चौबीसी राज्यकालमा ठकुरी वंशले यहाँ शासन गरेका थिए। विसं १८३७ मा ढोर राज्य गोरखामा गाभिने बेला अन्तिम राजा सिद्धि खाण ठकुरी थिए। हाल दरबार क्षेत्रमा रानी कुवा, टुँडिखेल, कारागार, टक्सार, चौकी लगायत सम्पदाका भग्नावशेष छन्। तिनको संरक्षण प्रयास भएको छ।
हिमाली सौन्दर्यका लागि समेत गाउँ उपयुक्त छ। गाउँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल देखिन्छ। सेता हिमाल देख्दा उत्साह बढ्छ। ऊर्जा मिल्छ।

पृथ्वीराजमार्गबाट गाउँ प्रवेश गर्ने बेला दुलेगौंडामा रक गार्डेन भेटिन्छ। शुक्लागण्डकी नदीको किनारमा रहेको गार्डेन आकर्षक छ। त्यहाँबाट केही किलोमिटर अघि बढेमा ढोर वराही मन्दिर पुगिन्छ। वराहीको भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने जनविश्वास छ। अर्को रोचक कुरा त मन्दिर छेउमा पानीको लहरी चल्छ। छिनमै पानीको बहाब बढ्छ अनि छिनमै पानी सुक्छ।

प्रकृति र इतिहासको दोभान त हुँदै हो, सांस्कृतिक हिसाबले समेत अतुलनीय गन्तव्य मानिन्छ फिरफिरे। गाउँमा गुरुङ जीवनशैली र संस्कृतिको सुवास मग्मगाउँछ।

फिरफिरेका लामागाउँ र घरेडीमा सामुदायिक होमस्टे सुविधा छ जहाँ सस्तो मूल्यमा अर्गानिक परिकार खुवाइन्छ। त्यहाँ पारिवारिक वातावरणमा छ। गाउँलेको आत्मीयताले मोहित तुल्याउँछ।

तनहुँको सदरमुकाम दमौली बजारबाट बेलाबेलामा फिरफिरे पुग्ने गीतकार सागर उदास भन्छन्, ‘गाउँलेको मायालु व्यवहारले भावुक बनाउँछ। त्यसैले फिरफिरे गइरहन मन लाग्छ।’

हामी नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौं। यो राष्ट्रिय अभियान सफल बनाउन पनि हामीले मुलुकभित्र घुमफिर बढाउनुपर्छ। यसका लागि मिलेनियम गुफा एउटा आकर्षक गन्तव्य बन्न सक्छ।   

कसरी पुग्ने–काठमाडौं–दमौली हुँदै दुलेगौंडा १७६ किमि, बसमा ५ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा, २५ मिनेट। पोखरा–दुलेगौंडा २६ किमि। दुलेगौंडाबाट २१ किमिमा गुफा।

होमस्टे सुविधा
प्रेमबहादुर गुरुङ (सुजन) अध्यक्ष, गुफा संरक्षण समिति


मिलेनियम गुफा क्षेत्रमा मिलेनियम र घरेडी सामुदायिक होमस्टे सञ्चालित छन्। होमस्टेमा १२ सय रुपैयाँको प्याकेजमा ब्रेकफास्ट, लन्च, डिनर र बेड सुविधा पाइन्छ। गुफाको प्रवेश शुल्क पनि यसमै हुन्छ। हामी पाहुनालाई मौलिक ठाडो भाकाको स्वाद पनि चखाउँछौं।   
सम्पर्क : ९८२६१२१०१५

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App