७ वैशाख २०८१ शुक्रबार
अन्य

बोन गुम्बामा स्वागत

हिमालय क्षेत्रको प्राचीन धर्म ‘युङढुङ बोन’ हो। बुद्ध तोन्पा शेन्राव मिवोले प्रतिपादन गरेको यस धर्मले संसारका सबै प्राणीलाई सबै किसिमका दुःखबाट मुक्त गराउँछ भनिन्छ। जनहितका लागि मिवोले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्ग नै बोन धर्म हो। यसको अभ्यासले सुख प्राप्त हुने जनविश्वास छ।  
समयक्रममा पृथ्वीमा एक हजार आठ जना बुद्धको जन्म हुन्छ भन्ने बोन धर्मग्रन्थहरूमा लेखिएको छ। तोन्पा शेन्राव आठौं बुद्ध हुन्। उनका दिव्योपदेश संग्रह गरिएका १४० पुस्तक छन् जसलाई ‘काङग्युर’ भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीन सय शास्त्र रचिएका छन्, तिनलाई ‘कातेन’ भनिन्छ।

मिवो तत्कालीन स्याङ्सुङ राज्यको होल्मो लुइरिङ भन्ने ठाउँमा पिता ग्याल्बोन थोकार र माता योछि ग्याल्सेमाका पुत्रका रूपमा जन्मेका थिए। स्याङसुङ राज्य आठौं शताब्दीसम्म दक्षिण एसियाका ठूला र शक्तिशाली राज्यमा गनिन्थ्यो। भोटका पहिलो राजा न्याठी चेन्पोदेखि ३२ औं राजा नम्री स्रोङचेनसम्म त्यहाँ बोन धर्मले व्यापकता पाएको थियो।

बोन धर्म १८ हजार ३६ वर्ष पुरानो भएको नेपाल बोन बुद्धिस्ट महासंघका महासचिव गेसे लोटोई छोगलेक (छिरिङ लामा) बताउँछन्। नेपालको हिमाली भेगमा धेरै बोन्पो (बोन धर्मावलम्बी)को बसोबास छ।

डोल्पा, मुस्ताङ, जुम्ला, बागलुङ, मुगु, कास्की, चितवन र काठमाडौं लगायत ठाउँमा बोन्पोको बसोबास छ। डोल्पामा मात्र सानाठूला गरी तीन दर्जन जति बोन गुम्बा छन्। त्यसैले डोल्पालाई ‘ल्याण्ड अफ बोन’ भनिन्छ।

काठमाडौंमा पनि एउटा आकर्षक बोन गुम्बा छ। चक्रपथ नजिकै इचंगुनारायण, तीनघरेमा गुरु योङजीन रिम्पोचेले ३४ वर्षअघि स्थापना गरेको त्रितेन नोर्बुचे गुम्बा। गुम्बामा मिवोको अग्लो बुद्ध मूर्ति छ। उनको दायाँ तान्त्रिक गुरु टेम्पा नाम्खा र बायाँ विनय गुरुका मूर्ति छन्। गुम्बाका भित्ताभरि थरीथरीका चित्र छन्।
गुम्बामा बोन धर्मसम्बन्धी ‘फिलोसपि अफ डाक्टर’ पढाइ हुन्छ। यस्तो कोर्स पूरा गर्नेलाई ‘गेसे’ भनिन्छ। यसका लागि १५ वर्ष पढ्नुपर्छ। त्यस्तै ४ वर्षे ध्यानको कोर्ष पनि गराइन्छ।

गुम्बामा बिहानबेलुका पूजा हुन्छ। तीर्थालुहरू आफ्ना पितृलाई सम्झन्छन्, व्यापार–व्यवसाय लाभको कामना र बिरामी निको होस् भन्दै पूजापाठ गर्छन्। धूपबत्ती बाल्छन्। फागुन–चैतमा मिवो र विनय गुरुको जयन्तीमा विशेष पूजापाठ गरिन्छ।
गुम्बामा जडीबुटीबाट उपचार गर्ने आम्ची क्लिनिक पनि छ जहाँ आम्ची पढाइ हुन्छ।

बोन धर्मको अध्ययन र अभ्यासका लागि गुम्बा उपयुक्त छ। गुम्बा बिहानदेखि साँझसम्म खुल्छ। गुम्बाले बेलाबेलामा ध्यान शिविर चलाउँछ। शिविरमा सर्वसाधारण सहभागी हुन्छन्। घुमन्तेहरूले चाहेमा त्यहाँ केही घन्टा ध्यान सिकाइन्छ। त्यसका लागि पैसा तिर्नु पर्दैन। दान गर्न सकिन्छ।

गुम्बामा धूमपान र मद्यपान निषेध छ। घुमन्तेलाई बास बस्ने सुविधा छैन। रेष्टुराँचाहिँ छ। काठमाडौं चक्रपथको ठूलो भ¥याङबाट दुई किलोमिटर दूरीमा छ गुम्बा। 

नेपालमा मात्र होइन, भारत र तिब्बत लगायत मुलुकमा पनि बोन्पोको बसोबास छ। बोन धर्म संरक्षण गर्न विसं २०६४ मा नेपाल बोन बुद्धिस्ट महासंघ खोलिएको हो।

इचंगुको गुम्बामा गत बुधबारदेखि चहलपहल बढेको छ। बोन्पो सम्मेलन, स्याङसुङ लोसारको माहौल छ। यतिबेला त्यहाँ घुम्दा बेग्लै मिठास र थप आध्यात्मिक वातावरण पाइन्छ।

लोसारको उमंग  
छिरिङ लामा,महासचिव, नेपाल बोन बुद्धिस्ट महासंघ


हाम्रो गुम्बामा पढाइ हुन थालेको २५ वर्ष पुगेको उपलक्ष्यमा हामी रजत महोत्सव मनाइरहेका छौं। महोत्सवमा बोन्पो सम्मेलन, पूजापाठ, ध्यान लगायतका कार्यक्रम भैरहेका छन्। यही बेला लोसार समेत परेकाले बेग्लै उमंग र उत्साह छाएको छ।

प्रकाशित: ११ माघ २०७६ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App