८ वैशाख २०८१ शनिबार
अन्य

म्याग्दीमा पर्यटनको उज्यालो

नवराज शर्मा, पूर्व सभासद्

म्याग्दीका प्रमुख पर्यटकीय आकर्षण केके हुन् ?
हामीले म्याग्दीको आकर्षणलाई तीन खण्डमा विभाजन गरेर हेर्नुपर्छ। कुमारी हिमालहरू, मुक्तिनाथसँग जोडिएको धार्मिक रुट र अवलोकनका लागि सुन्दर ठाउँहरू। हिमालको कुरा गर्दा गुर्जादेखि धौलागिरि हिमालसम्म छन्। धार्मिक गन्तव्यहरूमा गलेश्वरधाम, जगन्नाथ मन्दिर, पुलाश्रम, मालिकाथान, महारानी थान लगायत छन्। त्यस्तै धौलागिरि सेन्चुरी, धौलाागिरि राउण्ड, धौलागिरि आइसफल, गुरिल्ला पदमार्ग छन्। त्यसैगरी रुइसे, झाँक्रीपानी, तातोपानी लगायत ठाउँ छन्।

पर्यटकीय पूर्वाधारको अवस्था के छ ?
पूर्वाधारका हिसाबले हामी कमजोर छौं। अन्नपूर्ण पदमार्ग मोटरबाटोले मासिँदै छ तर, हाम्रो धौलागिरि राउण्ड पदमार्ग आजसम्म राम्रोसँग विकास भैसकेको छैन। गन्तव्यहरूमा राम्रो बाटो, होटल आदि बनिसकेको छैन। घोडेपानी क्षेत्रबाहेक अन्यत्र पूर्वाधारको अवस्था सन्तोषजनक छैन। 

पूर्वाधार विकासका काममा किन ढिलाइ भयो ?
पर्यटन गुरुयोजना पहिल्यै बनेको हो। म जिविस सभापति हुँदा गुरुयोजना बनाएका थियौं। ०५९ पछि स्थानीय तहमा लामो समयसम्म जनप्रतिनिधि भएनन्। त्यसैले गुरुयोजना अनुसार काम भएन। आज स्थानीय तहमा केही न केही काम भैरहेको छ। तर सरोकारवाला सबै संस्थाबीच एकीकृत प्रयास भएको छैन। पर्यटनमा ठूलो बजेट लगानी गर्नुपर्ने अवस्था छ। त्यसैले गुरुयोजनालाई समय अनुसार परिमार्जन गरेर विकासका काम गर्नुपर्छ।

जिल्लामा पर्यटकीय चहलपहल कत्तिको छ ?
अचेल विदेशीभन्दा स्वदेशीको संख्या बढी देखिन्छ। बेनी, तातोपानी, घोडेपानी, टोड्के, झाँक्रीपानी, करबाकेली, मालिका लगायत ठाउँमा नेपाली बढेका छन्। सबैभन्दा पहिला हामी म्याग्देली नै आफ्नो जिल्ला घुम्नुपर्छ। 

म्याग्दीको पर्यटनमा गैरआवासीय म्याग्देलीको संस्था मोनाले पनि योगदान गर्न सक्छ नि ?
मोनाका साथीले बेनीदेखि लभ्ली हिलसम्म पदमार्ग बनाउन हातेमालो गरेका छन्। यहाँको उत्पादन बाहिर लैजाने काममा उहाँहरूले सहकार्य गर्छु भन्नु भएको छ। म्याग्दीमा पर्यटनको प्रचुर सम्भावना भएको सत्य उहाँहरूले बुझ्नुभएको छ। यहाँका गन्तव्यमा मोनाले होटल, लज तथा रेष्टुराँमा लगायत व्यवसायमुखी काममा लगानी गर्न सक्छ। यसका लागि हामी योजना बनाउँदै छौं।

प्रकाशित: ११ माघ २०७६ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App