कांग्रेसले भन्यो- 'चुनाव तत्काल, अनि संशोधन'

मङ्गलबार, १२ पुष २०७३, ०८ : २५ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं- निर्वाचनले मात्र संविधान कार्यान्वयन र प्राप्त उपलब्धि रक्षा गर्न सक्ने ठहर गर्दै नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेको छ। संविधान संशोधन प्रस्ताव र स्थानीय निकाय निर्वाचन सँगसँगै अघि बढाउने कांग्रेस निष्कर्ष छ। पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताको आइतबार र सोमबार छलफलले स्थानीय निर्वाचन र संशोधनलाई एकसाथ अघि बढाउने निष्कर्ष निकालेको हो।

'संविधान संशोधन प्रस्ताव स्थगन गर्ने भनेको होइन र हुँदैन,' नेता रामचन्द्र पौडेलले बैठकपछि भने, 'संशोधन प्रक्रिया अघि बढ्दै जान्छ, देशलाई अब चुनावमा पनि लैजानुपर्छ।'

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनपछि निर्वाचनमा जाँदा ढिला हुने बुझाइमा रहेको कांग्रेसले पुरानै संरचनामा चुनावमा जानुपर्ने निष्कर्ष निकालेको छ। तर दलीय सहमति जुटे तहको निर्वाचन गर्न पनि कांग्रेस सकारात्मक छ।

'अब स्थानीय चुनाव हुनुपर्छ, त्यसका लागि जुन सजिलो हुन्छ त्यही गर्ने हो,' नेता पौडेलले भने, 'चुनाव रोक्नु हुँदैन। अहिले सहजचाहिँ अन्तरिम व्यवस्था नै हो।'

पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार स्थानीय तह स्थापित गर्न अझै धेरै समय लाग्ने जनाउँदै पौडेलले तह स्थापित गराउन पनि थुप्रो समय लाग्ने र अझै धेरै काम गर्न बाँकी रहेको बताए। निर्वाचनले संविधान कार्यान्वयनसाथै विकासका काममा पनि सहयोग पुग्ने दाबी गर्दै पौडेलले भने, 'चुनावचाहिँ हुनैपर्ने पार्टीको धारणा छ।'

स्थानीय निकायकै निर्वाचनमा जान एमाले र नेकपा माओवादी केन्द्र सकारात्मक रहेको कांग्रेसको बुझाइ छ। २०७४ माघभित्र स्थानीय, प्रदेश र केन्द्रीयको चुनाव गराउनु बाध्यता रहेको निष्कर्ष निकाल्दै उसले सरकारलाई आवश्यक तयारीलाई तीव्र बनाउन सुझाएको छ।

'स्थानीय निकाय वा तह जेको निर्वाचन गरे पनि तत्काल मिति घोषणा गर्नुपर्छ,' नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'निर्वाचन सम्बन्धी कानुन तत्काल संसद्मा ल्याउन सरकारलाई दबाब दिनेछौं।'

कांग्रेसले निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्न पनि सरकार र सम्बन्धित पक्षको ध्यान खिचेको छ। संविधानको धारा २४५ अनुसार आयोगमा प्रमुख आयुक्तसहित पाँच सदस्यीय रहने व्यवस्था भए पनि हाल दुई जना मात्र छन्। 

निर्वाचनको वातावरण बनाउन संविधान संशोधन र कानुन निर्माणका लागि संसद् बैठक सुचारु हुनुपर्ने ठहर पार्टीको छ। मुलुक र जनताप्रति जिम्मेवार हुँदै संसद्को जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी एमालेलाई उसले आग्रहसमेत गरेको छ।

स्थानीय निकाय निर्वाचनको मिति घोषणाले संसद्को जारी अवरोध अन्त्यका लागि बाटो खुल्न सक्ने बुझाइमा हरेको कांग्रेसले निर्वाचन सम्बन्धी कानुन निर्माणका साथै संसद्को अन्य गतिविधिलाई सुचारु गर्न पनि बैठक अवरोध अन्त्य हुनुपर्ने निष्कर्ष निकालेको छ।

'संसद् बैठक सुचारु हुनैपर्छ,' महामन्त्री शशांक कोइरालाले बैठकपछि भने, 'एमालेले अब त्यसलाई रोक्न मिल्दैन।'

संसद् बैठक खुलाउन एमालेसहित दलसँग पनि छलफल गर्ने निष्कर्ष निकालेको कांग्रेसले सूचना टाँसेर बैठक नरोक्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीलाई आग्रह गर्ने निष्कर्ष पनि निकालेको छ। 'संसद् बैठक ग्याप राख्ने होइन निरन्तर चल्नुपर्छ,' संसदीय दलका सचिव धुव्र वाग्लेले भने, 'पार्टीतर्फबाट नेताले सभामुखलाई बैठक निरन्तर राख्न आग्रह गरेको छ।'

कांग्रेसले संसद् बैठक निरन्तर राखेर प्रतिपक्षी एमालेलाई गलाउने नीति लिएको स्रोतको दाबी छ। बैठकमा सभापति शेरबहादुर देउवाले संसद् सूचना टाँसेर स्थगित हुनुका साथै लामो समय ग्याप राखेकोमा असन्तुष्टि जनाएका थिए। 'हाउस अवरुद्ध गर्न हुन्न,' देउवालाई उद्धृत गर्दै एक नेताले भने, 'बैठक सधैँ हुनुपर्छ।'

संसद् बैठक अवरोध हुँदा निर्वाचन कानुनका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पेस भएको महाभियोग प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन। निर्वाचनका लागि आवश्यक कानुन पारित गर्न पनि संसद् सुचारु हुनुपर्ने बताउँदै प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, 'संसद् चल्न नदिने अनि चुनावको कुरा मात्र गरेर हुँदैन।'

तर, कांग्रेसले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर वा स्थगन गरेर समस्या समाधान नहुने जनाउँदै त्यसलाई अघि बढाउने पनि ठहर गरेको छ। संशोधन प्रस्ताव फिर्ता लिने वा स्थगन गर्ने विषयमा पार्टीभित्र कुनै छलफल नै नभएको बताउँदै महामन्त्री कोइरालाले भने, 'त्यो यथावत रहन्छ, अघि बढ्छ। संशोधन नगरी स्थानीय निकाय निर्वाचन हुँदैन।'

बैठकमा सभापति देउवाले स्थानीय निकाय निर्वाचन राष्ट्रिय हितका लागि आवश्यक रहेको जनाउँदै २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने धारणा राखेका थिए।

बैठकमा एनपी साउदसहितका केही नेताले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने धारणा राखे पनि सभापति देउवाले त्यसलाई अस्वीकार गरेका थिए। सत्ता सञ्चालनका लागि राजनीतिक संयन्त्र आवश्यक नरहेको दाबी गर्दै देउवाले भनेका थिए, 'त्यसले अविश्वास पैदा गर्छ। त्यो आवश्यक छैन।'

त्यस्तै, बैठकमा सरकारले माओवादीका पूर्व लडाकुलाई तामाकोसी जलविद्युत आयोजनाको सेयर दिन लागेको भन्दै त्यसको विरोध गरेको छ। 'सरकारले माओवादी लडाकुलाई सेयर दिए कांग्रेसले प्रतिवाद गर्छ, हामी त्यस्तो हुन दिन्नौँ,' नेता पौडेलले भने।

पौडेलले भेटे शीर्ष नेता

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय निकाय निर्वाचनका विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतासँग छलफल गरेका छन्। नेता पौडेलले आइतबार र सोमबार बिहान गरी ओलीसहित नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका हुन्।

ठाकुरबाहेक सबै नेता निर्वाचनका लागि तयार रहेको जानकारी पौडेलले बैठकलाई गराएका छन्। ठाकुरले भने संविधान कार्यान्वयनका लागि निर्वाचनले मात्र नहुने अडान दोहोर्‍याएका थिए। उनले स्थानीय निकाय नभएर तहको निर्वाचन गर्नुपर्ने बताउँदै त्यसअघि मधेसको समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए। 'तपार्इंहरु संविधान कार्यान्वयन मात्र भन्नुहुन्छ, स्थानीय निर्वाचनले मात्र हुँदैन,' ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'मुलुकलाई निकास दिने गरी समाधानमा पुग्नुपर्छ। यो समाधान होइन।'

अन्य पार्टीका शीर्ष नेता निर्वाचनका लागि सकारात्मक रहेको दाबी गर्दै नेता पौडेलले भने, 'मेरो अन्य दलका नेतासँग कुरा भएको छ, उहाँहरु निर्वाचनका लागि सकारात्मक हुनुहुन्छ। समस्या समाधान गर्नुपर्छ भन्नेमै देखिनुभएको छ।'

आइतबारै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि माओवादी नेता श्रेष्ठसँग र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग निकासका विषयमा छुट्टाछुट्टै छलफल गरेका थिए।





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad