coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

लोभको परिणाम

कल्पना प्रधान

मेरो नाम सविता हो। म कक्षा पाँचमा पढ्छु। मैले आज स्कूलमा लोभी मान्छेको कथा सुनें। त्यो कथा निकै रमाइलो लाग्यो। त्यसको पनि कारण थियो। मेरो बाबा पनि निकै लोभी हुनुहुन्छ। मेरो आमाले भनेको मैले बारम्बार सुनेकी छु।

यो घरको काम गर्दागर्दा मर्नै लागिसकैं। मलाई कसैले दयामाया गर्दैनन्। कहिलेकाहीं त माइत जान मन लाग्छ। त्यो पनि म सक्दिनँ। मेरो हातमा एक पैसा छैन। यो घरको काम जति गरे पनि सकिँदैन। फेरि हामी घरमा आफ्नो काम गर्ने महिलाले पैसाको मुख देख्न पाइँदैन। अनि के गर्नु। मेरो बूढा पनि उस्तै लोभी छन्। मैले पैसा माग्दा दाँतबाट पसिना निकाल्छन्। म कस्तो लोभीको हातमा परेछु।

मेरो बाबा त्यत्ति गरीब मान्छे पनि हैन। हामी पहाडको साधारण घरपरिवारकै हौं। तर मेरो आमालाई अति दुःख छ। घरमा हाम्रो सात जनाको परिवार छ। सबै घरको काम धेरै जति आमाले नै गर्नुपर्छ। भनेको बेला मेरी आमा खान पनि पाउनु हुन्न। भाइ धेरै सानो छ। ऊ विरामी भइरहन्छ। हजुरआमाले सधंै त्यही भाइको हेरचाह गर्नुहुन्छ। हजुरबा खेतीपातीको काममा व्यस्त हुनुहुन्छ। फुपूले प्रत्येक बिहान पँधेराबाट डोकामा बोकेर दुईतीन गाग्री पानी ल्याउनुहुन्छ अनि मलाई लिएर पढ्न स्कूल जानुहुन्छ।

बाबालाई कत्ति पैसाले पुग्दैन। सधैँ पैसाकै कुरा गर्नुहुन्छ। त्यो कुरा सुन्दासुन्दा मलाई भातै नखाई बाँच्न सके म भात पनि खान्नथें जस्तो लाग्छ। कत्ति पैसाको मात्र कुरा गरेको ? खाने धान, मकै, दाल र आलु सबै आफ्नै घरैकाले पुग्छ। दूध दिने एउटा गाई पनि छ। तर, बाबाले के खोज्नुहुन्छ त्यो मलाई थाहै भएन।

आमा पनि कहिलेकाहीँ बाबासँग गनगन गर्नुहुन्छ। ‘माइत जान नपाएको धेरै भयो। भाइबहिनीले दिदी त मरिछ भन्छन् होला। मलाई एक हजार रुपियाँ दिनु न। भाइबहिनी र आमाबुबालाई केही किनेर माइत जान्छु। स्कूल विदा छ। छोराछोरी मसँग जान्छन्, घुमेर आउँछन्। तपाईंहरूलाई बहिनीले  खाना खुवाइहाल्नुहुन्छ। म एकै हप्ता मात्र बस्छु।’

‘एक हजार त्यसै आउँछ। त्यस्ता तँलाई दिने एक हजार भए केके पो गर्ने थिएँ।’ बाबाले भन्नुभयो। म आमा र बाबाको कुरा सुन्छु र बुझ्छु पनि  अनि मलाई नराम्रो लाग्छ।

मेरी आमाले जति अनुरोध गरे पनि बाबाले त्यो एक हजार दिन सक्नुभएन। मैले त त्यो दिन आमाको मुख पनि हेर्न सकिनँ। मलाई आमाको सारै नै माया लाग्यो। मेरो आमाले पनि पढ्न त पढेकै छ। तर, घरव्यवहारको कारण बाहिरको केही काम गर्नुभएन। बाबाले आमालाई एक पैसा खर्च दिनु हुन्न। म ठूलो भएर पैसा कमाउँछु र पहिले आमाकै इच्छा पु-याइदिनेछु भन्ने मैले सोच बनाएकी छु।

बल्लतल्ल कसरी मेरी आमाले एक हजार पैसा जम्मा गर्नु भएछ अनि हामीलाई मामाघर लानुभयो। यता आमा नहुँदा गाई चराउने मान्छे राख्न नसकी गाई दाम्लोमै अल्झेर मरेछ। लोभको परिणाम सबैले बुझे।

प्रकाशित: ११ माघ २०७६ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App