७ वैशाख २०८१ शुक्रबार
राजनीति

मार्क्सको वार्षिकीमा शक्ति प्राप्तिको आधारमा बहस

काठमाडौं- समाजवादका प्रणेता, दार्शनिक तथा अर्थशास्त्री कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा दुई ठूला कम्युनिस्ट पार्टीका नेताले शक्ति प्राप्त गर्ने आधारबारे फरकफरक दृष्टिकोण राखेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता प्राप्त गर्ने आधार हतियार हुने ठानेका छन् भने अर्को कम्युनिस्ट पार्टी नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको मन जितेर शान्तिपूर्ण आन्दोलनका माध्यमबाट मात्र शक्ति प्राप्त हुने ठानेका छन्।

विगतमा ती दुवै पार्टी स्थापित हुने आधार सशस्त्र युद्ध नै भए पनि माओवादीले अझै सशस्त्र युद्धको मोह त्यागेको देखिँदैन भने एमालेले सशस्त्र युद्धको मोह बिर्संदै गएको सम्झना गराएको छ।  एमालेको जग २०२८ सालको सशस्त्र गतिविधि हो भने माओवादीले २०५२ सालमा सशस्त्र युद्ध पछ्याएको थियो।

१० वर्ष सशस्त्र युद्ध गरेर प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा प्रवेश गरेका दाहालले आफ्नो दल ठूलो पार्टी हुनुको जस हतियारबद्ध आन्दोलनलाई दिए। दाहालले सशस्त्र युद्ध गरेका कारण माओवादी पहिलो संविधानसभाको निर्वाचनमा पहिलो भएको दाबी गरे। 'हाम्रो पार्टीमात्र नभई एमाले पनि ठूलो पार्टी हुनुको कारण सुरुताका सशस्त्र युद्ध गरेकै कारणले हो,' दाहालले भने।

कार्ल मार्क्स द्विशतवार्षिकी मूल समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा दाहालले प्रधानमन्त्रीका रूपमा बोले पनि बेलाबेला आफूलाई विद्रोही नेताको रूपमा प्रस्तुत गरिरहेका थिए। हतियारबद्ध आन्दोलनले शक्ति प्राप्त हुन्छ या हुन्न भन्नेबारे विवाद गर्नुभन्दा पनि हतियार बोकेर राजनीति सुरु गरेका माओवादी र एमालेले प्राप्त गरेको उपलब्धि हेर्नुपर्ने  दाहालको भनाइ थियो। 'हतियार उठाउँदा उपलब्धि हुन्छ, हामी (माओवादी) हतियार उठाएरै पहिलो भएका हौं,' दाहालले भने।

उनले कार्ल मार्क्सले अन्यायका विरुद्ध विद्रोह गर्ने अधिकार हुन्छ भन्ने मान्यता राखेको र कम्युनिस्टले सोही मान्यतालाई अवलम्बन गरेको दाबी गरे। पछिल्लो समयमा कम्युनिस्ट नामधारी दलले मार्क्सका आधारभूत सिद्धान्तको रक्षा गर्न नसकेको दाहालको आरोप छ। एमालेप्रति लक्षित गर्दै दाहालले मार्क्सका सिद्धान्त रक्षा गर्न नसक्ने हो भने आफूलाई मार्क्सवादी भन्न छाड्नुपर्ने बताए ।

एमाले नेता नेपाल भने हतियार उठाएर कम्युनिस्टले शक्ति प्राप्त गर्न नसक्ने ठान्छन्। 'हतियार उठाएर शक्ति प्राप्त गर्न सकिँदैन। शक्ति प्राप्त गर्न जनताको मन जित्नुपर्छ। जनतालाई सचेत पार्नुपर्छ,' उनले भने। एमाले बहुदलीय जनवादको माध्यमबाट प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेपछि जनताको मन जित्दै गएको र सफल हुँदै गएको नेपालको भनाइ थियो।

'विश्वको कम्युनिस्ट आन्दोलन हेर्‍यो भने टिठलाग्दो छ,' उनले भने, 'तर नेपालमा भने कम्युनिस्टको दबदबा छ।' २०४८ सालदेखि नेपालमा कम्युनिस्ट दल सफल हुँदै आएको उनको भनाइ छ। १० करोड सदस्य रहेको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा ४ सय जना छँदा माओवादी केन्द्रीय समितिमा ४ हजार नौ सय ९९ जना राखिनु पदको लोभभन्दा अरु केही नभएको उनले बताए। 'कम्युनिस्ट आन्दोलन विचलन हुनुको कारणमा भ्रष्टीकरण, पदको लोभ, गलत आचरण र पदीय दुरुपयोग हुन्,' नेपालले भने।

मार्क्सवादी दृष्टिकोणअनुसार काम र व्यवहार नहुँदा विश्वका कैयौं मुलुकबाट कम्युनिस्ट सरकार पतन भएको कार्यक्रमका वक्ताहरूको भनाइ थियो। यो समस्या नेपालमा पनि देखिन थालेको उनीहरुले सुनाए। संसारका थुप्रै मुलुकबाट पतन भइसकेको कम्युनिस्ट शासन व्यवस्था हाल चीन, उत्तर कोरिया, भियतनाम, लाओस र क्युबामा मात्र बाँकी छ।

'ठगेर खान्छन् दुई तीन लाख नेता'

कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले विभिन्न राजनीतिक दलका दुईदेखि तीन लाख नेताकार्यकर्ताले ठगी गरेर गुजारा चलाइरहेको आरोप लगाए।

'विभिन्न राजनीतिक दलका कम्तीमा दुईदेखि तीन लाख नेता कार्यकर्ताले वर्षौंदेखि कुनै पनि काम नगरीकन खाने गरेको देखिन्छ,' श्रेष्ठले भने, 'त्यो संख्यामा आफूलाई कम्युनिस्ट बताउने पनि धेरै छन्।' उत्पादनमूलक काम गरेर समाजमा उदाहरण बन्नुपर्ने राजनीतिक दलका नेता, कार्यकर्ता कर्मचारीको सरुवा, बढुवा, ठेक्कापट्टा र दलालीमा लाग्दा भ्रष्टाचार बढेको उनको भनाइ छ। कम्युनिस्ट पार्टीका उद्देश्य एउटै भए पनि न्यूनतम साझा सहमतिमा समान दृष्टिकोण नहुनुलाई श्रेष्ठले कम्युनिस्ट पार्टी भ्रष्टीकरणको बाटोमा अघि बढेको ठानेका छन्। त्यस्तै पार्टीभित्र पद र अवसरका लागि गुटउपगुट बढेकोप्रति उनले चिन्ता व्यक्त गरे।

भाषणले समाजवाद आउँदैन : मानन्धर

नेपालका कम्युनिस्ट पार्टी र तिनका नेताले भाषण गरेकै भरमा समाजवाद नआउने कम्युनिस्ट पार्टीका संस्थापकमध्ये एक विष्णुबहादुर मानन्धरले बताए। समाजवाद ल्याउन कम्युनिस्ट पार्टी र तिनका नेताको व्यवहार आमजनताले पत्याउन लायक हुनुपर्ने उनको भनाइ थियो।

'समाज बदल्न भनेर हिँडे्का कम्युनिस्ट नेता नै आफैं बदलिएर उल्टो बाटोमा गइरहेको जनगुनासो व्याप्त छ,' मानन्धरले भने, 'केही व्यक्तिको इच्छा, चाहना र भाषणले समाजवाद आउने भए पहिल्यै आइसक्थ्यो।'

मार्क्सको द्विशतवार्षिकीको अवसरमा उनका विचारको समीक्षा गर्न तथा नेपालको कम्युनिस्ट आन्दोलनबारे चर्चा गर्न गठन गरिएको मूल समितिमा एमाले, माओवादी, नेकपा संयुक्त तथा राष्ट्रिय जनमोर्चाका नेता छन्।

कार्यक्रममा एमाले नेता वामदेव गौतम, माओवादी नेता अमिक शेरचन, गणेश शाहलगायत आयोजक समितिका संयोजक घनश्याम भुसाल र सहसंयोजक राम कार्कीले समेत मार्क्सका योगदानको समीक्षा गरेका थिए। मार्क्सको जन्म ५ मे, १८१८ मा जर्मनीमा भएको हो । मार्क्सका 'पुँजी' र 'द्वन्द्वात्मक भौतिकवाद' सर्वाधिक रुचाइएका कृति हुन्।

यसैबीच विभिन्न कम्युनिस्ट पार्टीले सोमबार नै माओको १२३ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएका छन्। सत्तारूढ दल माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादी ( वैद्य)  ले माओजयन्ती मनाए। क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले माओवादी अध्यक्ष दाहालले कम्युनिस्ट विचारधारा त्यागेको आरोप लगाए।

प्रकाशित: १२ पुस २०७३ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App