फ्याटी लिभर भनेको के हो ? कलेजो कसरी बिग्रिन्छ ? के के कुरामा सावधानी अपनाउँदा कलेजो बिग्रिनबाट बच्न सकिन्छ ? लगायत विषयमा प्रस्तुत छ नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीसित गरेको कुराकानीको सम्पादित अंश :
फ्याटी लिभर भनेको के हो ?
शरीरका अन्य अंगमा जस्तै कलेजोभित्र पनि बोसो हुन्छ। साधारणतया कलेजोमा ५ प्रतिशतभन्दा कम बोसो हुन्छ तर योभन्दा बढी भएको अवस्थालाई फ्याटी लिभर भनिन्छ। भिडियो एक्स–रे गर्दा कलेजोमा बोसो देखियो भने त्यो फ्याटी लिभर (कलेजोमा बोसो) भएको अवस्था हो। एक्स–रे गर्दा कलेजोमा बोसो देखिनु भनेको बोसोको मात्रा ५ प्रतिशतबाट बढेर ३० प्रतिशत या त्योभन्दा बढी पुगेको अवस्था हो। फ्याटी लिभरको सामान्य, मध्यम र उच्च या एक, दुई र तीन तहको हुन्छ। यस्तो अवस्था चिकित्सकले भिडियो एक्स–रे हेरेपछि मात्र छुट्याउन सक्छन्।
फ्याटी लिभर पनि दुई प्रकारका हुन्छन् होइन र ?
हो, दुई प्रकारका हुन्छन्। एउटा रक्सी सेवनले हुने ‘अल्कोहलिक फ्याटी लिभर’ र अर्को रक्सीविना हुने ‘नन अल्कोहलिक फ्याटी लिभर’।
नन अल्कोहलिक फ्याटी लिभर भनेको के हो ?
नन अल्कोहलिक फ्याटी लिभर भनेको रक्सी सेवन नगरेको अवस्थामा हुने हो। अत्यधिक तौल हुने, मधुमेह देखिने, उच्च बिपी हुने, रगतमा उच्च कोलस्ट्रोल हुनेजस्ता समस्या हुन्छन्। यसलाई मेटाबोलिक सिन्ड्रोम पनि भनिन्छ। त्यो मेटाबोलिक सिन्ड्रोम भएर त्यसको एउटा भाग फ्याटी लिभर हुने गर्छ। यस्तो समस्या नेपालमा बढी देखिन्छ।
अल्कोहलिक फ्याटी लिभर भनेको के हो ?
लगातार रक्सी खाँदै गएपछि कलेजोलाई पु¥याउने हानिलाई अल्कोहलिक फ्याटी लिभर भनिन्छ। योचाहिँ रक्सी खानेहरूमा मात्र देखिन्छ। नन अल्कोहलिकचाहिँ रक्सी नखानेहरूमा बढी हुन्छ। बिएम आई २५ भन्दा बढी भयो भने त्यो व्यक्तिमा विस्तारै फ्याटी लिभर देखिन्छ। हाम्रो देशको सन्दर्भमा चाहिँ धेरैजना बच्चा पाएका महिलामा बढी देखिन्छ। कुनै कारणले मानिसमा मोटोपन भयो भने फ्याटी लिभर हुन्छ। मोटो हुनुको एक नम्बर कारण नै शरीरमा बोसो जम्नु हो भन्ने बुझ्नुपर्छ।
महिलामा फ्याटी लिभर किन बढी हुन्छ ?
हामीकहाँ महिलाले बच्चा जन्माउनेबित्तिकै अत्यधिक चिल्लो तथा घिउ खाने चलन छ। सुत्केरीमा चिल्लो र गुलियो बढी खुवाउनाले बोसो बढ्ने समस्या बढी हुन्छ। सुत्केरीपछि जसले व्यायाम गरेर बिस्तारै बोसो घटाउन सक्छन्। उनीहरूमा चाहिँ फ्याटी लिभरको मात्रा कम हुन्छ। जसको बढेको तौल घट्दैन र त्यसमाथि दोस्रो बच्चा जन्मेको अवस्थामा पुनः मोटोपनका साथै फ्याटी लिभर बढ्छ। जति बच्चा जन्माउँछन्, क्रमिक रूपमा बढ्ने सम्भावना हुन्छ। तर, गाउँघरका महिला, जो कृषिजन्य तथा अन्य काम गर्छन्, उनीहरूमा फ्याटी लिभरको समस्या कम देखिन्छ भने सहरका महिलामा बढी देखिन्छ। सहरका स्कुटी, गाडी चढ्ने र वाइन पार्टीमा बढी सहभागी हुने आधुनिक महिलामा यो समस्या बढिरहेको देखिन्छ।
मोटा पुरुषमा कत्तिको फ्याटी लिभर देखिन्छ ?
मोटा पुरुषहरूमा पनि बढी देखिन्छ।
नन अल्कोहलिक फ्याटी लिभर बढ्नुका अन्य कारण ?
नन अल्कोहलिक फ्याटी लिभर हुनुको मुख्य कारणचाहिँ जीवनशैली नै हो। खाने संस्कृति दोस्रो नम्बरमा पर्छ। हामी धेरै भात खान्छौं। वास्तवमा हाम्रो खाने चलन मिलेको छैन। सागपात, फलफूलभन्दा बढी भात खाने चलन धनी र गरिब दुवै समूहमा छ। शरीरमा बोसोको मात्रा जम्मा हुन नदिन खाने कुराको अनुपात मिलाएर खानुपर्छ। त्यो हामीकहाँ धेरै मानिसले जानेका छैनन्।
अल्कोहलिक फ्याटी लिभरको अवस्था कस्तो छ ?
जसले नियमित रक्सी सेवन गर्छन् र छोड्दैनन्, उनीहरूमा फ्याटी लिभर हुन्छ। रक्सीले कोष नष्ट गरेर फ्याटमा परिवर्तन आउँछ।
कुनै घरेलु उपचार छ त ?
फ्याटी लिभर हुनुका समस्या जे जे छन् ती हटाउनुपर्छ। फ्याटी लिभर छोटो समयमा जमेको हो भने त्यो समस्या सामान्य अवस्थामा फर्किन सक्छ। जस्तो कुनै औषधिको कारण कलेजोमा बोसो जमेको छ भने उपचारको केही समयपछि सामान्य अवस्थामा फर्किन सक्छ। अल्कोहल भर्खरै खान थालेको छ भने रक्सी खान छोडेपछि सामान्य अवस्थामा आउँछ।
नन अल्कोहलिकले पनि खानपान सुधार गरे समस्या हट्छ त ?
अत्यधिक मोटोपन भएपछि मात्र धेरैजसो डाक्टरकोमा पुग्छन्। तर, बोसोचाहिँ धेरै समयदेखि जम्मा भइरहेको हुन्छ। यस्तो फ्याटी लिभर सजिलै सामान्य अवस्थामा आउन सक्दैन। कसै कसैले आफ्नो तौल घटाउन व्यायाम गरेको अवस्थामा १० देखि ३० प्रतिशतसम्मको फ्याटी लिभर पनि सामान्य अवस्थामा आएको पनि देखिन्छ।
फ्याटी लिभर बनाउने अरू खानेकुरा ?
कार्बोहाइड्रेटजन्य खाने कुरा अत्यधिक खाएपछि त्यो पनि बोसोमा परिणत हुन्छ। जस्तो कि भात तथा मैदाबाट बनेका परिकार तथा रोटी जेसुकै बढी मात्रामा खाएमा बोसोमै परिणत हुन्छ। विशेष गरी चिल्लो र कार्बोहाइड्रेट बढी खाएमा फ्याटी लिभर हुन्छ। त्यसकारण चिल्लो र कार्बोहाइड्रेट भएका खानेकुरा कम खानुपर्छ। फ्याटी लिभर हटाउन भनेर किटो डाइटको चलन आएको छ। यो डाइटअन्तर्गत विशेष गरी प्रोटिन बढी र कार्बोहाइड्रेट कम हुन्छ।
कस्तो खाना खाने त ?
के खानेभन्दा पनि खानाको मात्रा कम गर्नुप-यो। जति धेरै खायो, त्यति भोक लाग्छ। जति कम खायो, त्यति कम भोक लाग्छ। यो कुरालाई सोचेर कम खाने बानीको विकास गर्नुप-यो।
फ्याटी लिभरको लक्षण ?
धेरै असर गरेपछि मात्र थाहा हुने भएकाले सुरुमै लक्षण देखिँदैन। लक्षण देखिए पनि एकदमै कममा मात्र देखिन्छ। रक्सी खानेहरूको एकदम बिगे्रपछि मात्र थाहा पाइन्छ। त्यस्ता व्यक्ति पनि धेरै बिगे्रपछि मात्र आउँछन्। नन अल्कोहलिक फ्याटी लिभरका व्यक्तिचाहिँ लक्षण नदेखिए पनि आउँछन्। लक्षणभन्दा पनि भिडियो एक्स–रेबाट थाहा भएपछि बढी आउँछन्।
वीर अस्पतालमा यस्ता बिरामी कत्तिको आउँछन् ?
सातामा २० देखि ३० जनाको हाराहारीमा आउँछन्। त्यसमा बढीचाहिँ नन अल्कोहलिक फ्याटी लिभर बढी आउँछन्। रक्सी सेवन गर्नेहरू रोग बढेपछि मात्र आउने भएकाले रोग बढेपछि मात्र आउँछन्। लक्षण बढी लिएर आउनेहरू रोगको लक्षण बढेपछि मात्र आउँछन्।
प्रकाशित: ११ माघ २०७६ ०२:४९ शनिबार