coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्मचारी गुटबन्दीले हाकिम टिक्नै गाह्राे

टीकापुर – टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी साढे तीन महिना नपुग्दै सरुवा भए। छिमेकी जिल्ला बर्दियाको बारबर्दिया नगरपालिकाबाट सरुवा भएर आएका पन्थी असोज १३ गते कार्यालयमा हाजिर भएका थिए। उनी माघ ५ गते रमाना बुझेर कपिलवस्तुको बाणगंगा नगरपालिका गएका छन्।

उनले नगरपालिकाले आयोजना गरेको बिदाई कार्यक्रममा घरपायक सरुवा रोजेको भने पनि स्रोतका अनुसार कर्मचारीबीचको गुटबन्दी थेग्न नसकेपछि भाग्नु परेको हो। नगरपालिकामा विगत लामो समयदेखि कर्मचारीबीच गुटबन्दी रहेको छ। स्थानीय निकायबाट समायोजन भएका कर्मचारीले आन्तरिक बढुवाको माग गर्दै नगरसभामा प्रस्ताव पेस गर्न प्रमुख प्रशासकीय अधिकृतलाई दबाब दिएका थिए। तर, केही कर्मचारी भने यस प्रस्तावको विपक्षमा थिए। उनीहरू कानुनसम्मत नभएको भन्दै विपक्षमा उभिएका थिए। यही मुद्दामा कर्मचारी दुई गुटमा विभाजित भए।

प्रमुख प्रशासकीय अधिकृत पन्थीले कर्मचारीबीचको विवाद साम्य पार्न बैठक राखे। सो बैठकमा दुई पक्षबीच हात हालाहालको अवस्था सिर्जना भयो। कर्मचारी आन्तरिक बढुवाको कुरा २०७५ पुस १७ गतेको नगर कार्यपालिका बैठकमा पेस भएको थियो। बैठकले ४७ जना कर्मचारीको नामावलीसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो। तर, मन्त्रालयले नगर कार्यपालिकाको निर्णयलाई अस्विकार गरेको थियो।

२०७५ चैत ४ गतेको नगरसभाले संघीय सरकार र प्रदेश सरकारलाई श्रेणीगतसरह स्वतः तह वृद्धि हुनुपर्ने अनुरोध गरेर पठायो। नगरसभाले गरेको अनुरोधलाई संघ र प्रदेश सरकारले विचाराधीन अवस्थामा राखेको छ।

हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले विकासनिर्माणका काम तीव्र गतिमा अघि बढाएका थिए। उनले वैशाखभित्रै सबै काम सक्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेका थिए।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीसमेत कर्मचारीबीचको गुटबन्दीका कारण सरुवा भएर हिँडेका थिए। २०७५ फागुनमा आएका केसी २०७६ साउनमा प्युठान सरुवा भएका थिए। त्यतिबेला कर्मचारीको आन्तरिक सरुवाको मुद्दा पेचिलो बनेको थियो। कर्मचारीको एउटा समूहले मेयर रावललाई प्रभावमा पारेर आफूहरू रोजेको ठाउँमा जान खोजे। मेयर रावलले त्यसैअनुसार जिम्मेवारी प्रदान गर्न प्रमुख प्रशासकीय अधिकृत केसीलाई दबाब दिए। स्रोतका अनुसार उनले मेयर रावलले कर्मचारीको मुद्दामा हस्तक्षेप गरेको कुरालाई असामान्य रूपमा लिएका थिए।

मेयर रावलको समर्थनमा कर्मचारीको एउटा समूहले केसीलाई निकै दबाब दियो। उनले राति नै कर्मचारीको आन्तरिक सरुवामा हस्ताक्षर गर्नुप¥यो। र भोलिपल्ट सरुवा भएर हिँडे। स्रोतका अनुसार उनी आफैले तयार गर्न लगाएको क्वाटरमा समेत बस्न पाएनन्। ‘नगर विकास समितिको गेस्ट हाउसको माथिल्लो तलामा उनका लागि क्वाटर तयार गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर उनी एक रात पनि त्यहाँ बस्न पाएनन्।’

केसी अचानक हिँडेपछि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नगरपालिकामा कार्यरत शिक्षातर्फका उपसचिव दमन चौधरीलाई दिइएको थियो। उनले करिब एक महिना मात्रै जिम्मेवारी निर्वाह गर्न पाएका थिए।

केसीभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्यसमेत कर्मचारीबीचको विवादकै कारण सरुवा लिएर हिँडेका थिए। २०७४ फागुनमा आएका आचार्य २०७५ चैतमा कीर्तिपुर सरुवा भएर गएका थिए। आचार्यलाई समेत कर्मचारीको एउटा समूहले निकै अप्ठ्यारोमा पार्ने काम गरेको थियो।

तर, मेयर रावल कर्मचारीबीचको गुटबन्दीका कारण नभई संघीय सरकारले नै कार्यालय प्रमुखको अनावश्यक सरुवा गर्नाले प्रमुख प्रशासकीय अधिकृत लामो समय नटिक्ने गरेको बताउँछन्। उनले अन्य पालिकाका तुलनामा आफ्नो नगरपालिकामा कार्यालय प्रमुख लामो समय टिकेको बताए। ‘अन्य ठाउँको तुलनामा हाम्रोमा धेरै समय टिकेका छन्,’ उनले भने, ‘यो सबै ठाउँको समस्या हो।’

छोटो समयमा कार्यालयप्रमुख सरुवा भइरहने प्रक्रियाले विकास निर्माणका काममा समेत प्रत्यक्ष असर पारेको छ। हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत पन्थीले विकास निर्माणका काम तीव्र गतिमा अघि बढाएका थिए। उनले वैशाखभित्रै सबै विकासनिर्माणका काम सक्ने लक्ष्यका साथ कर्मचारी परिचालन गरेका थिए।

योजना शाखाका अनुसार ५४ वटा सूचना सार्वजनिक भएका छन्। जसमध्ये ५ वटाको काम अघि बढेको छ। १२ वटा मूल्यांकनको क्रममा छन्। २० वटा योजनाको टेन्डर खोलिएको छ। योजना शाखाका प्रमुख नवराज जोशीले अन्य वर्षको तुलनामा यस वर्ष समयमै विकासनिर्माणका काम सम्पन्न हुने गरी काम भइरहेको थियो। उनले कार्यालयप्रमुखको सरुवाले तीव्र गतिमा भइरहेका विकासनिर्माणका काममा असर पर्ने बताए। ‘आर्थिक अधिकारसँग जोडिएका कुरा अघि बढ्दैनन्,’ उनले भने, ‘यसले विकासनिर्माणका काममा असर पार्ने देखिन्छ।’

प्रमुख प्रशासकीय अधिकृत सरुवाको कुराले नगरपालिकाभित्र रहेको कर्मचारी गुटबन्दी बाहिर आएको छ। कर्मचारीहरू नै सरुवाको विषयलाई लिएर सामाजिक सञ्जालमा पक्षविपक्षमा आफ्ना धारणा पोस्ट गर्न थालेका छन्। यसले नगरपालिकाभित्रको कार्यशैलीप्रति नगरवासीलाई निराश पारेको छ।

प्रकाशित: ११ माघ २०७६ ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App