१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हेल्प नेपाल र एपिएफ च्याम्पियन

काठमाडौं - महिलातर्फ विभागीय टोली एपिएफ क्लब र पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा शुक्रबार सम्पन्न फाइनलमा एपिएफको महिला टोलीले होङ्वान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई र तीन विदेशी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफको चुनौती समाप्त गर्दै उपाधि जितेका हुन्। न्यु डायमण्डकी स्पाइकर प्रतिभा माली तेस्रो सेटको खेल चलिरहँदा घाइते हुँदै कोर्टबाट बाहिरिको खेलमा एपिएफले ३–१ को सेटमा जित निकाल्दै उपाधि उचाल्यो। निकै प्रतिस्पर्धात्मक फाइनलमा एपिएफले पहिलो सेट २५–२३ ले आफ्नो बनाउँदै अग्रता बनायो।

दोस्रो सेटमा पनि न्यु डायमण्डले अन्तिम समयमा लय गुमाउँदा एपिएफलाई २५–२१ ले सुम्पियो। तेस्रो सेटमा भने न्यु डायमण्डले २२–२० को अग्रता बनाइरहँदा प्रतिभा माली स्पाइक प्रहार गर्ने क्रममा लड्न पुग्दा घाइते भइन्। घुँडामा गम्भीर चोटका कारण प्रतिभालाई लगत्तै हस्पिटल लागिएको थियो। ब्लु क्रस हस्पिटलमा उपचार भइरहेको छ। उक्त सेट २५–२३ ले जित्दा न्यु डायमण्डले पुनरागमनको संकेत देखाएको थियो। चौथो सेट भने न्यु डायमण्डले २५–१८ ले सुम्पिँदा एपिएफ उपाधिले उचाल्यो।

विजेता एपिएफले २ लाख र उपविजेता न्यु डायमण्डले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त ग-यो। महिलातर्फ नै त्रिभुवन आर्मी क्लब तेस्रो भयो। आर्मीले तेस्रो स्थानको लागि प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २५–२२, २५–१३ र २५–२१ को सेटमा जित निकाल्यो। तेस्रो भएको आर्मी ५० हजार रुपैयाँबाट पुरस्कृत भयो। प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न पुरुषतर्फ तीन विदेशी खेलाडीको साथ पाएको हेल्प नेपालसँग टोली एपिएफ सोझो सेटमा निराश बन्यो।

सेमिफाइनल आर्मीलाई हराउँदै फाइनलमा स्थान बनाएको एपिएफ उच्च मनोबलका साथ कोर्टमा उत्रिए पनि हेल्प नेपालसामु खुलेर खेल्न सकेन। हेल्प नेपालसँग एपिएफ २५–१७, २५–१४ र २५–२० ले स्तब्ध भयो। पाँचौं संस्करणको पुरुष क्लब च्याम्पियनसिप सम्पन्न हुँदा हेल्प नेपालले दोस्रो पटक यसै प्रतियोगिताको उपाधि उचाल्यो। यस अघि हेल्प नेपालले वि.सं. २०७३ को संस्करणमा उपाधि जितेको थियो।

विजेता हेल्प नेपालले २ लाख र उपविजेता एपिएफले एक लाख रुपैयाँ हात पार्दा तेस्रो स्थानको आर्मीले ५० हजार रुपैयाँ हात पा-यो। शुक्रबारै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पुलिसमाथि २५–१८, २५–१८ र २५–२० को सहज जित निकालेको थियो। घाइते भएकी न्यु डायमण्डकी प्रतिभा माली र हेल्प नेपाल स्पोटर््स क्लबका अमित सर्वाेत्कृष्ट खेलाडी घोषित भए।

प्रतिभाले दोहोरो सफलता प्राप्त गर्दा उत्कृष्ट सर्भर पनि घोषित भइन्। प्रतिभा र अमितले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गरे। एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू डामण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए।

पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, हेल्प नेपालकै  विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपिएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका सोमविक्रम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागत उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे।

शुक्रबार सम्पन्न फाइनलमा एपिएफको महिला टोलीले होङवान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई र पुरुषतर्फ तीन विदेशी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफको चुनौती समाप्त गर्दै उपाधि जितेका हुन्।

प्रकाशित: ११ माघ २०७६ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App