सुनसरी – नेपालका नाम चलेका–नचलेका सबै पितृहरूको उद्धारको कामना गर्दै शुक्रबार सुनसरी खोलाकिनारस्थित गोविन्द घाटमा सामूहिक तर्पण दिइएको छ। सनातन कुटुम्ब इनरुवाद्वारा संयोजित सो कार्यक्रममा सहभागी श्रद्धालुले गौतम बुद्ध, राजा जनक, सीता, अंशुबर्मा, अरनिको, पृथ्वीनारायण शाह, खप्तड स्वामी, बालागुरु षडानन्द, आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भाषाशास्त्री महानन्द सापकोटालगायत नातागोताका पितृहरूको उद्धारको कामना गरिएको थियो।
कार्यक्रममा सयभन्दा बढी श्रद्धालुलाई सत्यनारायण मन्दिरका पुजारी गोपाल ढुंगेलले नेपालका सनातन पितृहरू एकएक गर्दै नामोच्चारणसहित तर्पणका लागि सहजीकरण गरेका थिए। इनरुवाको सुनसरी खोलाकिनारस्थित गोविन्द घाटलाई तीर्थस्थलका रूपमा विकास गर्न नेपालमै पहिलोपल्ट सनातन पितृहरूको आत्म–उद्धारका लागि सामूहिक पितृ–तर्पण कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रमेश खनालले बताए।
प्रकाशित: ११ माघ २०७६ ०२:१५ शनिबार