coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाहुनीमा पेट्रोलियम उत्खनन अलपत्र

तीस वर्षअघि पेट्रोलियम पदार्थ उत्खननका लागि डिलिङ (पाइपिङ) गरिएको स्थान देखाउँदै बाहुनीका स्थानीय। फाइल तस्बिर : नागरिक

इटहरी – मोरङ बेलबारीको बाहुनी राधानगरमा झन्डै पाँच बिघा क्षेत्रफलमा पेट्रोलियम पदार्थ अन्वेषण परियोजना सञ्चालन भएको तीन दशक बिते पनि काम अघि बढ्न सकेको छैन। परियोजना सञ्चालन भएपछि उत्साहित भएका स्थानीय अहिले निरास छन्। सरकारी बेवास्ताका कारण उत्खनन कार्य अघि बढ्न नसकेको आरोप स्थानीयको छ।

‘तीन दशकअघि पेट्रोल खानी अन्वेषणा परियोजना सुरु भएपछि खुसी भएका स्थानीय काम नहुँदा निरास बनेका छन्, बेलबारी–८, राधानगरका नारायण लिङ्देनले भने, ‘२०४५ सालमा अन्वेषणा सुरु गर्दा जस्तो थियो, अहिले पनि त्यस्तै छ।’ उनका अनुसार, पेट्रोलियम पदार्थको अन्वेषणा गर्ने भनेपछि तीन दसकअघि स्थानीयमा पूरै उत्साह थियो तर अहिले त्यो उत्साह छैन्। ‘अन्वेषण केही भएको छैन, सुनसान छ। दुईजना गाउँलेुले सुरक्षागार्डको जिम्मेवारी मात्र पाएका छन,’ उनले भने, ‘दुई वर्षअघि मन्त्रीसहितको एउटा टोली आएर निरीक्षण गर्दा केही होलाजस्तो लागेको थियो तर, त्यसयता पनि केही भएन्।’ पेट्रोलियम पदार्थ अन्वेषणका लागि स्थानीय गाउँलेले सरकारलाई दबाब दिँदै आए पनि उपलब्धि नभएको उनले बताए। केही समयअघि पनि गाउँलले अन्वेषण सुरु गर्न संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म काम अघि नबढेको स्थानीय सामुदायिक वन समूहका विमल लिम्बुले बताए।

‘गाउँलेले संघीय सरकारको ध्यानाकर्षण गराए पनि जनताको चाहनाले मात्र केही नहुने छनक पाइयो,’ स्थानीय नेता रवीन थापाले भने, ‘यसमा खास गरेर अन्तर्राष्ट्रिय चासो नै चाहिँदो रहेछ।’ २०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि सरकारले बाहुनीमा पेट्रोलियम पदार्थ उत्खननका सुरु गरे पनि त्यसले निरन्तरता पाएन, बीचमै काम छाडियो। २०७२ सालमा भारतले फेरि नाकाबन्दी लगाएपछि बाहुनीमा पेट्रोलियम पदार्थ उत्खनन र अन्वेषण थाल्नुपर्ने माग गरे। त्यतिबेला सरकारी निकायका विभिन्न जिम्मेवारी व्यक्तिले पनि अन्वेषण थाल्ने बताए पनि काम अघि बढ्न सकेन। सरकारी अधिकारीका प्रतिबद्धता भाषणमै सीमित भए।

२०४५ चैत १० गते नेपाल–भारत पारवहन सम्झौताको म्याद सकिएपछि भारतीय परराष्ट्र मन्त्रालयले सम्झौता नवीकरण हुन नसक्नुको दोष नेपाललाई दिँदै नाकाबन्दी लगाएको थियो। नाकाबन्दीपछि इटालीको साइपिम कम्पनीले बाहुनीमा तीन हजार चालीस मिटर गहिरो खनेर पाइपिङ गरेको थियो तर पेट्रोलियम पदार्थ उत्खनन गर्न सकिने–नसिकने टुंगो नलाग्दै काम रोकियो। खानी तथा भूगर्भ विभागले जग्गाको रेखदेख र निगरानी गर्न दुई सुरक्षा गार्ड खटाए पनि तत्कालीन समयमा केमिकल राख्न निर्माण गरेको गोदाम घर पूरै खण्डहर बनेको छ। सो जग्गा खानी तथा भूगर्भ विभागको स्वामित्वमा रहेको छ। पेट्रोलियम पदार्थ उत्खनन थालिएको ठाउँ पूरै जंगलजस्तो देखिन्छ।

प्रकाशित: ११ माघ २०७६ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App