coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमा पनि काेरोना भाइरस

काठमाडौं – नेपालमा नोवेल कोरोना भाइरस फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एक साता अघि टेकु अस्पतालमा उपचारमा पुगेका चीनबाट नेपाल आएका ३५ वर्षीय  एक युवकमा सो भाइरस प्रमाणित भएको जनाइएको छ। उनको परिक्षण रिपोर्टमा भाइरस पोजिटिभ देखिएको आधारमा मन्त्रालयले सो जानकारी दिएको हो। नयाँ भाइरसको परिक्षण नेपालमा उपलब्ध नभएपछि राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपचारको लागि विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याव चीन पठाएको थियो। उनको रिपोर्ट विहिवार साँझ प्राप्त भएको हो।

बिरामी भने शुक्रराज टेकु अस्पतालमा तीन दिनको उपचार पछि घर पठाइएको छ। अस्पतालले उपचारमा पुगेका उनलाई शंकास्पद लागेपछि आइसोलेशन वार्डमा भर्ना गरेको थियो। लाक्षणिक उपचार गरी अस्पतालले डिस्चार्ज गरेको थियो। रिपोर्ट आएपछि अस्पतालले उनी र उनको सम्पर्कमा पुगेका  व्यक्तिहरुको समेत निगरानी गरिरहेको जनाएको छ। त्यसै गरी टेकु अस्पतालमा अर्को उक जना चीनवाट आएका व्यक्तिलाई पनि निगरानिमा राखिएको छ। यो  भाइरसवाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेशन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ।

गत डिसेम्वर २०१९ मा पहिलो पटक देखा परेको यो भाइरस अन्य राष्ट्रहरु कोरिया,सिंहापुर,थाइल्याण्ड जापान,थाइल्याण्ड र अमेरिका,लगायत मूलुकमा फैलिसेको छ। यो भाइरस पशुवाट मान्छे र मान्छेवाट मान्छेमा सरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।  यो रोगको कारण हालसम्म १७ जनाको मृत्यु भएको र ५ सय ८१ जनामा संक्रमण भइसकेको छ। नेपालमा चीनवाट दैनिक आवात जावात हुने र अन्य मूलुकमा समेत फैलिएको अवस्थामा नेपालमा यसको थप जोखिम रहेको मन्त्रालयले जनाएको छ।  भाइरसले जनस्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पुर्व तयारीमा जुटेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ,राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.विवेक कुमार लाल र टेकु अस्पताल प्रमुख डा.वासुदेव पाण्डेले बताए।

त्यसै गरी अन्तराष्ट्रिय विमानास्थलमा हेल्थ डेस्क(स्वास्थ्य कक्ष)को व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। ज्वरो आएका तीन जनाको विवरण संकलन गरिसकेको,हवाइ यात्रावाट जाने र आउनेहरुलाई रोगवारे जानकारी दिने,सर्तकता दिने,चीनवाट आएका तथा शंकास्पद बिरामीको ज्वरो नाप्ने,जानकारी लिने लगायतका कार्यहरु भइरहेको जनाएको छ।  संकांस्पद बिरामीलाई सिधै अस्पताल पु-याउने तयारी भएको जनाएको छ।

यसको साथै भाइरस संक्रमणको थप जोखिम न्युनीकरण गर्न पाँच वटा प्रक्रियाको उपचार तालिका समेत स्वास्थ्यकर्मीलाई उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ। जसमा निगरानी र रिर्पोटिङ,बिरामीको उपचार,संक्रमण रोकथाम र नियन्त्रण,जोखिम संचार र प्रयोगशाला नमूना संकलन र ढुवानी व्यवस्था गरिएको छ।

विश्वका अन्य देशमा यो संक्रमण फैलिसकेपछि विश्व स्वास्थ्य संगठनले विहिवार आकस्मिक  समितिको वैठक वसी सम्वन्धित देशहरुलाई विशेष सर्तकता अपनाउन निर्देशन दिएको छ। वैठकले मध्यम तहको सचेत भएर बस्न निर्देशन दिएको छ। समितिले चीनलाई समेत सर्तकता अपनाउन बिशेष सुझाव दिएको छ। जस अनुसार प्रवेशद्धारमा स्वास्थ्य जाँच,स्वास्थ्य सूचना,सवै देशहरुले अस्पतालको तयारी गर्न निर्देशन दिएको छ।

 जनस्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै रोगदेखि आत्तिनु नपर्ने तर सतर्क हुन आग्रह गरेको छ। यसको लागि व्यक्तिगत सफाइमा ध्यान दिएमा बच्न सकिने बताए। यसको लागि कुनै पब्लिक स्थान छोएपछि हात धुने,रुघाखोकी लागेका व्यक्तिसंग नजिक नजाने र रुघाखोकी लागेका व्यक्ति अरुको सामुन्ने हाच्छ्यिु नगर्ने र खोकी लागेमा रुमाल या टिसियुले मुख छोपेर मात्र गर्ने र रुघाखोकी ज्वरो आएका व्यक्ति आफै  सचेत भएर उपचारमा गएमा अरुमा संक्रमण हुन नपाउने सुझाव दिएका छन्। विश्व स्वास्थ्य संगठनका नेपाल निर्देशक डा. जोश भेण्डरले भने,‘धेरै आत्तिनु पर्दैन,अन्य फ्लुमा जस्तै सचेत भए जोगिन सकिन्छ,व्यक्तिगत सफाइमा ध्यान दिनु पर्छ’।

के हो कोरोना भाइरस ?
कोरोना भाइरस सन् २००३ मा देखिएको सार्स प्रजातिभित्रकै नयाँ भाइरस हो। यो पशुवाट मान्छे र पशुमा संक्रमण गर्छ। तर अहिलेसम्म जनवारवाट मानिसमा संक्रमण भएको आधार प्रमाणित भइसकेको छैन। सुरुमा रुघाखोकी लाग्ने र कडा ज्वरो आउने र समयमै उपचार नभए मिर्गौला समेत फेल भई बिरामीको मृत्यु हुन सक्छ। यो भाइरस मानिस या पशुवाट मानिसमा सरिरहेको छ भन्ने बारेमा प्रमाणित भइसकेको छैन। तर एउटै परिवारका सदस्यहरु विरामी भएको पाइएकोले परिवारका सदस्यहरु एउटै स्रोतवाट संक्रमण भएको देखिन्छ।  यो रोगको कुनै औषधी छैन तर लक्षणको आधारमा उपचार गरिन्छ।

लक्षणहरु
– कडा ज्वरो आउने
– श्वास–प्रश्वासमा अत्यधिक समस्या हुने
– रुघाखोकी लाग्ने
– समयमै उपचार नभए मिर्गौला फेल हुने

कसरी बच्ने ?
– नियमित रुपमा सावुन पानीले हात धुने
– यदि फ्लु  जस्तो लक्षण देखिएमा चिकित्सकसित परामर्श लिने
– जंगली तथा घरेलु पशुपंक्षीहरुसित असुरक्षित सम्पर्कवाट  टाढा रहने
– खोक्दा हाँच्छ्यिु गर्दा नाक र मुख छोप्ने
– रुघाखोकीको लक्षण देखिएकाहरुको सम्पर्कबाट टाढा रहने
– पशुजन्य माछा–मासु राम्रोसित पाकाएर मात्र खाने।

प्रकाशित: ११ माघ २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App