८ वैशाख २०८१ शनिबार
राजनीति

चौध महिनापछि एकै मञ्चमा 'पूरक' नेता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन दशक कम्युनिस्ट आन्दोलनमा सँगै बिताए। दुवैले २५ वर्ष त माओवादी आन्दोलनका लागि एउटै कमिटीमा बसेर काम गरे। अघिल्लो असोजदेखि दुवै अलग भए।

२०७२ असोज ९ गते भट्टराईले तत्कालीन एनेकपा माओवादीबाट अलग भएको घोषणा गरे, त्यसपछि नयाँ शक्ति पार्टी गठन गरे। १० वर्ष लामो युद्धका योजनाकार यी दुई नेता अलग भएको १४ महिनापछि सोमबार एउटै मञ्चमा देखा परे।

दिवंगत सांसद भक्तिप्रसाद पाण्डेको जीवनयात्रा समेटिएको पुस्तक 'चाचा' को दाहाल र भट्टराईले संयुक्त रुपमा लोकार्पण गरे। पाण्डे नेकपा माओवादी केन्›का सांसद थिए। उनको अघिल्लो महिना क्यान्सरका कारण निधन भएको थियो। माओवादी युद्धमा हतियार आपूर्ति गराउने पाण्डे दाहाल र भट्टराई दुवैका विश्वासिला मानिन्थे। उनकै कारण दुई नेता अलग भएको १४ महिनापछि एउटै मञ्चमा देखिएर आफूहरू फेरि एक हुन सक्ने संकेत दिए।

कार्यक्रममा दाहालले एकअर्कालाई आरोपित गर्नेभन्दा पनि समीक्षा गर्नुपर्ने बताए। '२५ वर्ष एउटै कमिटीमा रहियो, ३० वर्ष संगत भयो,' दाहालले भने, 'हामी एकअर्कालाई जति धेरै बु‰छौं, त्यो अरुले बु‰न सक्दैनन्। यसकारण आरोप, प्रत्यारोपभन्दा पनि हामीबीच समीक्षा हुन जरुरी छ।'

भट्टराई र आफू सँगै नभएको भए 'जनयुद्ध' असम्भव भएको दाहालले बताए। 'हामी सँगै नभएको भए जनयुद्ध पनि सम्भव थिएन र युद्धको अन्त्य पनि असम्भव थियो', प्रधानमन्त्रीले भने, 'बाबुरामजी र म एकअर्काको जड होइन, पूरक भएको प्रमाणित भएको छ।'

दाहालले विगतका कुरा समीक्षा गरेर एकै ठाउँमा 'स्पेस' खोज्न जरुरी भएको धारणा राखे। उनले भने, 'देशको परिस्थितिले पनि हामीलाई एकै ठाउँमा आउन बाध्य बनाउँदै छ। हामी इमानदार हौं भने फेरि एकै ठाउँमा उभिनुपर्छ।'

आफूहरुको सम्बन्ध आफ्नै नकिकाले बिगारेको दाहालले बताए। 'नजिककाबाट उहाँ पनि प्रभावित हुनुभयो, म पनि भएँ', दाहालले भने। आफू र भट्टराई अलग हुँदा परिवर्तन खतरामा परेको उनले बताए।

कार्यक्रममा भट्टराईले दाहाल र आफू 'जनयुद्ध' को पूरक भएको बताए। 'हाम्रो पूरक भूमिका थियो तर यसलाई स्वीकार गरिएन', उनले भने, 'हिजो पनि यसलाई उचालियो र आज पनि आफ्नो स्वार्थअनुरुप भनिँदै आएको छ।'

दाहालसँग आफ्नो अहिले पनि सौहार्द्रपूर्ण सम्बन्ध भएको बताउँदै उनले दुईबीच बैचारिक मतभिन्नता मात्र भएको स्पष्ट पारे। 'अहिले पनि प्रचण्डले भन्नुभयो– तपाईंले पार्टी छोड्न अलिकति हतार गर्नुभयो। मैले भनें– म त्यहीं भएको भए तपाईंलाई गाह्रो पर्थ्याे। हाम्रो सम्बन्ध यस खालको छ', भट्टराईले भने।

आफूहरू मिल्न चाहेको भट्टराईले बताए। 'हामी मिल्न चाहन्छौं', उनले भने, 'साथीहरू रुपान्तरण हुनुभयो भने भोलि फेरि एकै ठाउँमा हुन सक्छौं तर पुरानै तरिकाले भने हुँदैन।' भट्टराईले नयाँ आधारमा रुपान्तरणसहित अघि बढ्न सकिने बताए।

प्रकाशित: १२ पुस २०७३ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App