६ वैशाख २०८१ बिहीबार
समाज

शितलहरले अस्तव्यस्त बन्दै तराईको जनजीवन

बर्दिया- गत शनिबार यादव कन्स्कट्रक्सन सञ्चालक अशोक यादवले गुलरिया नगरपालिका भित्रका विपन्न परिवारलाई चिसो छल्न दुई सय कम्बल वितरण गरे। गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव र मधुवन नगरपालिका नगर प्रमुख कृष्ण केसीले आ–आफ्नो क्षेत्रका बिपन्न परिवारलाई कम्बल वितरण गर्दा बिपन्न वर्गले केहि सुरक्षित महसुस गरे। प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाका अनुसार करिब १५ दिनलाई पुग्ने गरि ८ वटा स्थानीय तहसँगको समन्वयमा ग्रामिण र शहर क्षेत्रका चोकचोकमा प्रहरीले दाउरा वितरण गरेको थियो। बिपन्न वर्गमा पर्ने ती परिवार कम्बल र दाउराको साहरामा रात र दिन कटाउँन  पाउँदा कम्ता खुसी भएनन्। तर, यतिखेर उनीहरुको खुसी देखिदैनन्। दाताले दिएको कम्बल र दाउराको भरमा कति दिन रात काट्ने चिन्ताले पिरोल्न थालेको छ।

लगातारको चलिरहेको शितलहरले कम्बलले चिसो थेग्न नसकेपछि उनीहरुलाई चिसो छल्न भगवानसँग याचना गर्न थालेका छन्। ‘हामीले त चिसो छल्न भगवानलाई सम्झन थालेका छौ’ चौगुर्जि गाउँका बृद्ध रामशरण लोधले हिन्दी लवजमा भने, ‘यो जाडो भरि बाचे भने अझै दश वर्ष बाच्छु, चिसोले मर्ने होकि भन्ने डर लागिरहेको छ।’ पुस पहिलो सातादेखि सुरु भएको शीतलहर लगातार चलिरहेको उनले सुनाए। पश्चिम तराईमा बिहीबार र शुक्रबार घाम लाग्न सकेन।

लामो सयमसम्म तापक्रमको पारो घट्ने क्रम नरोकिँदा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ। पश्चिम तराईको व्यापारिक केन्द्र बुटवललगाएत पश्चिमका अधिकांश तराईका क्षेत्रमा लामो समयदेखि शितलहर चल्दा जनजीवन प्रभावित बन्दै गएको हो।

शितलहरका कारण पश्चिम तराईका जिल्लाको जनजीवन अस्तव्यस्त बन्न थालेको छ। चिसो बढेपछि सवारी साधनमा यात्रुको चाप घटेको छ भने सडकमा मोटरसाईकल देखिन छाडेका छन्। ‘म नेपालगंजबाट फर्कदै छु,’ मोटरसाईकलमा सवार कर्मचारी रुपन ज्ञवालीले भने,‘ हुस्सु र शितलहरका कारणले ३५ किलोमिटर बाटो काट्न तीन घन्टा लाग्यो, आगो ताप्दै कार्यालय पुगे, धेरै नै गाह्रो भयो।’

चिसो बढेपछि निमोनिया र रुखाखोकीका बिरामी बढिरहेका छन्। जिल्ला अस्पतालमा समेत दिनभरि चल्ने शितलहरका कारण बिरामी बढेको जनाएको छ। बालबालिकामा चिसोको कारण निमोनिया देखिएको र वृद्धवृद्धामा रुघाखोकीको समस्या देखिएको बर्दिया जिल्ला अस्पतालका प्रमुख सुभास पाण्डेले बताए। चिसोको कारणले आलुको उत्पादनमा समेत कमि आउने देखिएको छ।

शितलहरले हिउँदे बालिलाई नोक्सान गर्ने कृषि ज्ञान केन्द्रका कमल तामाङले बताए। ‘शितलहरले आलु, टमाटर, काउली जस्ता तरकारीमा असर गर्छ,’ उनले भने, ‘शितलहर सुरुपछि तराईका जिल्लामा हिउँदे बालीमा ढुसीको प्रकोप बढेको छ।’

 

प्रकाशित: १० माघ २०७६ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App