७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँका डाक्टर !

कामको कदर गर्दै प्रमाण पत्रसंगै नयाँ मोवाइल पाएका पाङ स्वास्थ्य चौकी अन्र्तगतका महिला स्वास्थ्य स्वयंसेविकाहरु। तस्बिरः दिनेश/नागरिक

रोल्पा - केहि महिना अगाडि स्टेचरमा बोकेर स्वास्थ्य चौकी ल्याउँदै गरेकी १८ वर्षिया पुष्पा पुनले बाटैमा छोरो जन्माइन्। घरभन्दा पर गोठमा गएकी उनलाई ब्यथा लागेपछि हेल्थ पोष्ट ल्याउँदै गर्दा रातिमा स्टेचरमै छोरो जन्मियो।

बाटैमा सुत्केरी भएपछि गाउँकी महिला स्वास्थ्य स्वयंसेविकाले सकेको सहयोग गरिन्। लुङग्री गाउँपालिका पाङ मादर घर भएकी पुन जस्तै बाटोमा बच्चा जन्माउने अरु पनि छन्। यस्तो समस्या रोल्पा पाङको मात्र होइन अन्य क्षेत्रमा पनि छ।

पहाडी जिल्लाका सदरमुकामसम्म डाक्टरहरु मुस्किलले भेटिन्छन्। त्योभन्दा पर गतिलो स्वास्थ्य सेवा एकादेशको कथा जस्तै हुन्छ। साविकका गाबिस तथा अहिलेका वडा केन्द्र सम्म अहेव वा अनमीहरु हुन्छन्। अलि भित्र गाउँमा स्वास्थ्य सेवा बिरलै पाइन्छ। यहाँ गाउँका हरेक टोलमा सधै उपलब्ध हुने भनेका महिला स्वास्थ्य स्वयंसेविका मात्र हुन्।

दुर्गम गाउँहरुमा सामान्य सिटामोल, पाखालाको औषधि, परिवार नियोजनका साधन कण्डम र पिल्स, आईरन, जिङ्क र जीबनजल बोकेर घर घरै डुल्ने महिला स्वास्थ्य स्वयंसेविकाको ब्यथा अलग्गै छ। पछिल्लो समय उनिहरुको काम धेरै सुबिधा थोरै भएको भन्दै त्रिबेणी गाउँपालिकाले प्रत्येक स्वयंसेविकालाई मासिक रुपमा एक हजार रुपैयाँ भत्ता थपेको छ। त्यसो त लुङग्री गाउँपालिकाले पनि भत्ता थप गर्ने जनाएको छ।

अफ्ठ्यारोमा काम लाग्ने भन्दै लुङग्री गाउँपालिकाले प्रत्येक स्वयंसेविकालाई मोवाईल र सिम कार्ड समेत दिन सुरु गरेको छ। ‘महिला स्वास्थ्य स्वयंसेविकाहरु दुर्गम गाउँका डाक्टर हुनुहुन्छ। स्वास्थ्य सुधारमा दिनरात खटिइरहने उहाँहरुको योगदान धेरै छ।’ त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली भन्छन् ‘त्यसैले उहाँहरुलाई मासिक एक हजार रुपैया प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय गरेका हौ।’

त्यसो त कतिपय स्थानीय तहले स्वास्थ्य सस्थामा सुत्केरी गराउन लिएर आउने स्वयंसेविकालाई थप ५ सय रुपैया प्रोत्साहन भत्ता दिन थालेका छन्। परिवर्तन गाउँपालिकाले त झन ‘स्वयंसेविका प्रोत्साहन कार्यक्रम’ नै राखेको छ। स्वयंसेविकाको सेवा गतिलो भएको भन्दै गाउँपालिका अध्यक्ष निमकान्त डागी भन्छन् ‘टोल टोलका घर घरै पुगेर सेवा गर्ने उहाँहरुको योगदानको कदर गर्दै स्वयंसेविका प्रोत्साहन कार्यक्रम नै राखेका छौ।’ अध्यक्षले भने ‘उहाँहरुको चित्त बुझएका छौ।’

गाउँ गाउँ पुगेर गर्भवती खोज्दै स्वास्थ्य सस्थामा जँचाउन पठाउने स्वयंसेविकाहरु ब्यथा लागेका सुत्केरी संगै स्वास्थ्य सस्था पुग्ने गर्दछन्। तलब वा नियमित पारिश्रमिक नहुँदा काम गर्न कठिन भएको बताउदै उनिहरु केहि पारिश्रमिक भए काम गर्न सहज हुने बताउछन्। ‘परिवार नियोजनका साधन बाड्दै हिड्छौ। कतै सिटामोल चाहिन्छ कतै जिङ्क चक्की भने आईरन पनि घरघरै पु¥याउनु पर्छ।’ महिला स्वास्थ्य स्वयंसेविका जागृता पुन भन्छिन् ‘हाम्रो काम धेरै छ तर सुविधा कम छ।’ पछिल्लो समय स्थानिय सरकारले केहि सहयोग गरेकोमा भने उनि खुसी छिन्।

आवस्यकता अनुसार दिन रात जतिबेला पनि तैनाथ हुनु पर्ने तर सुविधा नभएको भन्दै महिला स्वास्थ्य स्वयंसेविका गणेशा पुन भन्छिन् ‘जानेको र अराएको काम गरिरहेका छौ। हाम्रा कारणले स्वास्थ्य सस्थामा गर्भ जाच गर्ने र सुत्केरी हुने दर बढेको छ। हामी सकृय नहुने हो भने अहिले जिल्ला स्वाथ्य वा गाउँपालिकाले बनाउने प्रतिबेदन हेर्न योग्य हुने थिएन।’

समग्र जिल्लाको स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वय सेविकाहरुको भुमिका अतुलनिय रहेको स्वास्थ्यकर्मीहरु समेत बताउछन। ‘बिषेश गरी संस्थागत सुत्केरी, खोप अभियान सफल गराउन उहाँहरुको सहयोग धेरै छ।’ पाङ स्वास्थ्य चौकिका अनमि सिता पुलामी भन्छिन् ‘स्वयंसेविकाहरु दिन रात सेवामा लागिरहनुभएको हुन्छ।’ उनि जस्तै जिल्ला स्वास्थ्य कार्यालयका नोखराज पोख्रेल पनि स्वयंसेविकाको काम गराईप्रति सन्तुष्ट छन्। ‘यहाँको स्वास्थ्य सुधारमा स्वयंसेविकाको भूमिका उच्च छ।’

केहि कक्षा पढेकादेखि सामान्य लेखपढ गर्न जानेका महिला स्वास्थ्य स्वयंसेविकाहरु स्थानिय स्तरमा दिइएको निरन्तरको तालिमपछि गाउँ गाउँमा जाने गर्दछन्। वर्षौसम्म काम गरिरहेका उनिहरुलाई घर गाउँमा डाक्टरका रुपमा समेत सम्वोधन गरिने गर्दछ।

प्रकाशित: १० माघ २०७६ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App