८ वैशाख २०८१ शनिबार
समाज

प्राथमिक उपचार सिक्दै शिक्षक

तालिममा अभ्यासद्वारा प्राथमिक उपचार सिक्दै शिक्षकहरु ।

अरुण बम

डोटी–रविन्द्रप्रसाद जोशी डौड गाविसमा रहेको जनता जनार्दन उच्च माध्यामिक बिद्यालयका शिक्षक हुन्। उनको काम अन्य शिक्षकहरुझै शिक्षण गर्नु हो। तर, शनिबार दिपायलमा उनी छुट्टै अभ्यासमा देखिए। उनी प्राथमिक उपचारका चरणहरुबारे ज्ञान लिँदै थिए। ‘विद्यालयमा विभिन्न किसिमका समस्या आउँछन्। ती समस्या धेरैजसो स्वास्थ्यसँग सम्बन्धित हुन्छन,’ उनले भने, ‘ती समस्याको समाधान प्राथमिक उपचारले गर्न सकिन्छ भन्ने बुझेर यो तालिम लिन आएको हुँ।’

उनीजस्तै जिल्लाका १० वटा विद्यालयका २० जना शिक्षकले बुधबारदेखि शनिबारसम्म चलेको प्राथमिक उपचार सम्बन्धी तालिम लिए। भविष्यमा आउनसक्ने सम्भावित बिपद्को पूर्वतयारीका लागि उनीहरुले तालिम लिएका हुन्। ‘विपद् कुनै तिथिमिति तय गरेर आउँदैन्’, बगलेग गाविसमा रहेको भारतोली माविका प्रधानाध्यापक गणेश कुँबरले भने, ‘अकस्मात विद्यालय समयमा पनि आइदिन सक्छ, यसर्थ त्यतिबेला जोकोही पनि घाइते हुनसक्छन्। यस्तोमा प्राथमिक उपचार आवश्यक पर्छ।’ यही कारणबाट बिद्यालयका शिक्षकलाई पनि प्राथमिक उपचारबारे ज्ञान जरुरी हुने भएकाले तालिम लिन आएको उनले बताए ।

तालिमबाट जोखिमका बेला हुनसक्ने समस्या र ती समस्यामा गरिने प्राथमिक उपचार, ज्यान जोगाउन गरिने उपाय, र स्वास्थ्य संस्था वा अस्पताल सम्म पुर्याउन गर्नुपर्ने प्रयासका बिषयमा शिक्षकले ज्ञान सीकेका छन्। ती सीपहरु विद्यालयमा पुगेर आवश्यकता परेका बेला उपयोगमा ल्याउने शिक्षक बताउँछन्। ‘तालिममा दिनहुँ विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई आइपर्ने समस्या र तीनको साधारण उपचारका साथै प्रकोप तथा जोखिमका बेला गरिने प्रारम्भिक उपचारका बारेमा ज्ञान सिकेका छौं,’ डौडको ओम निमावि सुण्डकी महिला शिक्षक बिमला उपाध्यायले भनिन्, ‘यस्ता ज्ञानको विद्यालयमा प्रायः आबश्यकता परिरहन्छ ।’

‘बिद्यालयमा ठूलो मासमा बालबालिका हुन्छन,’ जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्री भन्छन,‘उनीहरु करिब÷करिब दैनिक ६ घण्टा भन्दा बढी समय बिद्यालयमा बिताउँछन् । जुनबेला बिभिन्न समस्या आइपर्न सक्छन् । जुनबेला प्राथमिक उपचारको खाँचो पर्छ। त्यो ज्ञान शिक्षकलाई भए, धेरै सहज हुनजान्छ । जुन कुरा तालिमले सिकाएको छ ।’ बिद्यालय पनि बिपद्भन्दा बाहिर नरहेन भएकाले यस्ता ज्ञानले ठूलो जोखिमको बेलाका लागि पनि उपयोगी हुने उनले बताए। तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले गरेको थियो।

शिक्षकहरुलाई यो तालिमको अबसर जिल्लामा संचालित बालकेन्द्रित जोखिम न्यूनिकरण परियोजनाले उपलब्ध गराएको हो । यूरोपियन यूनियनको सहयोगमा वल्र्ड भिजन र समाजसेवा डोटीले यो कार्यक्रम संचालन गरिरहेका छन् । कार्यक्रमले बालबालिकामा हुने बिपद्को जोखिम घटाउनका लागि काम गरिरहेको परियोजना संयोजक एकराज बडुले बताए।

 

प्रकाशित: १९ असार २०७३ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App