सार्वजनिक सम्पत्तिको दोहन अचेल कुनै नौलो कुरा होइन। सत्तामा एकपटक पुग्नु भनेको यो दोहनका निम्ति मौका हो भन्ने सोच विकास भएको छ। त्यही भएर जसरी पनि चुनाव जित्ने र सत्तामा पुग्ने अपेक्षा धेरैको छ। पहिले–पहिले राज्यको सम्पत्ति दुरुपयोग गर्नुलाई ठूलै अनैतिक काम ठानिन्थ्यो। त्यही भएर सकेसम्म यस्तो स्थितिबाट जोगिन सरकारमा पुगेका व्यक्ति सतर्क हुन्थे। जतिबेला राज्यको सम्पत्ति निजी काममा प्रयोग गर्नु हुन्न भन्ने मान्यता थियो। हामीभन्दा अलिअघिको पुस्ताले समेत सरकारी गाडी आफूलाई प्राप्त छ भने निजी कामका लगाउँदैनथे। कुनै पदविशेषले पाएका सुविधा उपयोग गर्न परिवार पनि हच्किन्थे। जो पदधारी हो, उसैले मात्र त्यसको उपयोग गर्नुपर्छ भन्ने मान्यता बलियो थियो।
राज्यको राजस्व, मन्दिरको सम्पत्ति शिवस्व मात्र होइन, अन्य व्यक्तिलाई समेत दुःख दिएर कमाउनु हुन्न भन्ने मान्यता, अचेल कमजोर बनेको छ। घरपरिवारका मानिसले समेत मेहनत नगरी आएको सम्पत्तिबारे खासै प्रश्न गरेको देखिँदैन। मेहनत नगरी आउने धनबाट पाउने सुख क्षणिक हुन्छ भन्ने मान्यताको विकास हुने हो भने अनियमितता आफैं कम भएर जान्छ।
अचेल उच्च पदस्थ व्यक्तिका लागि राज्यका सेवा÷सुविधा र व्यक्तिगत सम्पत्तिबीच खासै भिन्नता छैन। सरकारी निवासमा पार्टीको बैठक गर्नु हुन्न भन्ने हेक्का पनि छैन। भए पनि मतलब गरिन्न। प्राचीन भारतीय शिक्षक, दार्शनिक, अर्थशास्त्री चाणक्यसम्बन्धी यो प्रसंग कुनै पनि पदाधिकारीले मनमा राख्ने हो भने दुरुपयोग कम हुन्छ कि ?
ग्रिक राजाका दूत भेट्न आउँदा चाणक्य मैनबत्तीको प्रकाशमा केही लेखिरहेका थिए। ग्रिक दूत कक्ष प्रवेश गर्नासाथ चाणक्यले त्यसलाई निभाएर अर्को मैनबत्ती बाले। दूत फर्कने बेला उनले फेरि पहिलेकै मैनबत्ती बाले, अनि दोस्रो निभाए।
यो देखेर आश्चर्यचकित ग्रिक दूतले उनलाई कारण सोधे। चाणक्यले प्रस्ट्याए– ‘तिमी आउनुअघि म निजी पत्र लेख्दै थिएँ, त्यसका लागि आफ्नै मैनबत्ती बालिरहेको थिएँ। तिमी आएपछि म राज्यको काम गर्दै छु, त्यसैले मैनबत्ती पनि राज्यको बालें। अब तिमी गएपछि फेरि निजी काम सक्न चाहन्छु, आफ्नै मैनबत्ती बालेर।’ राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिले निजी र सार्वजनिक काममा स्रोत÷साधन प्रयोग गर्दा पु-याएको ध्यानको योभन्दा आदर्श उदाहरण अर्काे के होला र !
प्रकाशित: १० माघ २०७६ ०३:०८ शुक्रबार