coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

अब यस्तो ‘क्रान्ति’

यो ग्रहमा रहेका जीवनका असंख्य रूपमध्ये एउटा मानव प्रजाति यतिबेला यावत् प्राणीका शासकका रूपमा देखापरेको छ। कम्तीमा मान्छेकै आँखाले हेर्दा यस्तो देखिन्छ र अहिलेसम्म हामीलाई थाह भएको यत्ति हो। तर हाम्रो ज्ञानको सीमाभन्दा बाहिर अरू नै केही भइरहेको पो छ कि ? पृथ्वीमा मानव जातिको ‘शासक’को हैसियत केवल भ्रम हो कि ? अहिलेसम्म त हामीलाई थाहा छैन। तर अहिले लोप भइसकेको ‘डोडो’ चरालाई पनि त मानिसको अस्तित्वबारे थाहा थिएन नि ! मरिसियसको टापुमा निश्चिन्त भएर कैयन् सहस्राब्दी ‘राज गरेको’ त्यो ‘डोडो’लाई मान्छे भनिने खतरनाक जीवले आधा शताब्दीभित्रै आफ्नो प्रजाति नै मासिदिनेछ भन्ने कहाँ थाहा थियो र !

अहिले लोप भइसकेको यो चराबारे वैज्ञानिक/अध्येताका विभिन्न अनुमान छन्। यीमध्ये एउटाले भन्छ– ढुकुर÷परेवाका कुनै प्रजातिको एउटा बथान उड्दै मरिसियसको टापुमा पुग्यो। त्यहाँ कुनै हिंस्रक जनावर थिएनन्। प्राकृतिक जंगलमा कहिल्यै नसकिने यथेष्ट चारो थियो। अर्थात् ती चराका लागि त्यो ‘स्वर्ग’ नै थियो। भोजनका निम्ति कहिल्यै कुनै यत्न गर्नुपरेन न त ज्यान बचाउनका लागि कोही भाग्नै प-यो। टन्न हुन्ने गरी चर्न पाएपछि कालक्रममा तिनका सन्तान दरसन्तान मोटाउँदै गए। ठूला दारका भए। भाग्नै नपरेपछि उड्नु पनि परेन; पखेटा साना हुँदै गए, हुँदाहुँदा उड्नै नसक्ने भए। कैयन् सहस्राब्दी यसैगरी आनन्दसँग बिते। एउटा अलच्छिन साँझ ः  केही डच जहाजी संयोगले त्यो टापुमा पुगे। अचम्म आकारप्रकारका ठूला, मोटा, नभाग्ने, नउड्ने चरा देखेपछि धमाधम मारेर खान थाले। एउटा मारिन आँट्दा उसका अरू बन्धु आत्तिँदै ‘डो डो डो डो’ आवाज निकाल्दै मद्दत गर्न आउँथे रे। तर के मद्दत गरुन्, ती विचराले ! ती पनि मनुवाका हातबाट मारिन्थे। अनि जे हुनु थियो त्यही भयो– आधा शताब्दीजतिमै त्यो चरोको प्रजाति नै लोप भयो।
मानिस पनि प्रकारान्तरले कतै त्यही ‘डोडो’जस्तै बेखबर त छैन ? हामीलाई थाहा छैन।

यतिबेला होस नगुमाउने हो भने मानिसले आफ्नै प्रयत्नले आफ्नो चेतमा अर्को महान् क्रान्ति ल्याउन सक्छ– ‘प्रज्ञानात्मक क्रान्ति’।

नृशास्त्री, इतिहासविद्, जीवशास्त्रीलगायत अध्येताले अनेक किसिमले लेखेका छन्, मानव जातिका कथा। केही वर्षयता निकै चर्चामा रहेका युवाल हरारी ७० हजार वर्षयता मात्र अहिलेको मानव प्रजाति ‘विजेता’का रूपमा देखापर्न थालेको कुरा गर्छन्। आम पाठकका निम्ति उनका तर्क, उनका कथा वाचन चित्तबुझ्दा लाग्छन्। सत्तरी हजार वर्षजति अघि मात्र उसमा सामूहिक कल्पनाशीलता  विकास भयो भन्छन्, उनी। यही नयाँ क्षमताका कारण मानिस अहिलेको स्थितिमा पुगेको हो रे। कसरी मानिसमा अचानक यो ‘सामूहिक कल्पनाशीलता’ विकास भयो त ? मानिसको वंशाणुमा अचानक आएको उत्परिवर्तन (म्युटेसन)का कारण होला भन्ने अनुमान गर्छन्, हरारी। हुन पनि सक्छ। तर त्यस्तै म्युटेसन सहसा अरू कुनै प्राणीमा आयो भने ? र, तिनका ‘सामूहिक कल्पनाशीलता’ले मानिस खतरनाक प्राणी हो भन्ने ठम्यायो भने ?

मान्छेले पहिलो एन्टिबायोटिक पत्ता लगाएको एक शताब्दी पनि पूरा भएको छैन। अहिले नै कुनै एन्टिबायोटिकले नछुने ज्याद्रो ब्याक्टेरिया निस्किन थालिसके। सत्तरी हजार वर्षअघि मान्छेको चेतमा संज्ञानात्मक क्रान्ति (कोग्निटिभ रेभोलुसन) ल्याउने म्युटेसन भएजस्तै कुनै मानवइतर, मानवद्वेषी अर्को प्राणीमा पनि ‘संज्ञानात्मक क्रान्ति’ भएछ, कुनै बेला भने ? यी सब भयावह अनुमानका कुरा लाग्छन्। हावा गफ लाग्छन्।  तर चिया पसलका गफभन्दा अलिकति भने पनि बढी नै महत्व राख्लान्, यी अनुमानले।

सत्तरी सहस्राब्दीयताकै मात्र कुरा गर्दा पनि मानिसको यात्राले अनेक सर्पिल बाटो लिएको स्पष्ट देखिन्छ। मानिसका अनेक जमातले विभिन्न कालखण्डमा स्वीकार गरेको सत्यको धारणा, अंगीकार गरेका आचार मान्यता, तिनका सौन्दर्यबोधलगायत सबै धारणा र आग्रह एउटा कालखण्डमा एकातिर ढल्किएका हुन्छन्, अर्को कालखण्डमा त्यसविपरीत अर्को दिशामा। कुनै बेला दुवै सँगसँगै हुर्किरहेका पनि हुन्छन्। एकातिर ऊ आफ्नै प्रजातिभित्र बृहत् मेल, आपसी सहयोग तथा प्रेम चाहना गरिरहेको हुन्छ भने अर्कातिर बेमेल, वैरभाव, घृणाको खेती पनि गरिरहेको हुन्छ।

एकातिर मानिस–मानिसबीच भयानक विद्वेष, लडाइँ, एकार्कालाई नष्ट पार्ने प्रयत्न थामिएकै छैन भने अर्कातिर आपसमा समान हितको खोजी पनि भइरहेकै छ। २०औं शताब्दीको उत्तराद्र्धले मानिस–मानिसबीच समता, सामाजिक न्याय, स्नेह र एकार्काको स्वतन्त्रताको सम्मानका ठूलठूला यत्न र यज्ञ पनि देख्यो, तर त्यही कालखण्डमा थपिएका घृणा, द्वेष र हिंसाका बिरूवा अहिले अजंगका विषवृक्षका रूपमा झाँगिँदै पनि छन्। एकातिर सम्पूर्ण विश्व उस्तै हुँदै छ, अर्कातिर अन्धराष्ट्रवाद, नयाँ प्रभ्त्ववाददेखि आपसी द्वेषसम्मलाई बढावा दिने अनेक नयाँ सोचका बिरूवा पनि बढ्दै छन्।

आफंैभित्रका उज्यालो र अँध्यारो, विद्या र अविद्या, प्रेम र घृणा, सकारात्मकता र नकारात्मकताजस्ता अनगन्ती विपरीत तŒवबीच कहिले यता कहिले उता ढल्किँदै आएको मानिस अझै उही यात्राको निरन्तरतामा छ। तात्कालिक सुखका निम्ति जे गर्न पनि तयार रहने एउटा गजबको वंशाणुले भने निरन्तरता पाई नै रहेको छ। बुद्धका वाणी उद्धृत गर्दै बौद्ध गुरू भन्छन्– ‘दुःखमेवाभिधावन्ति दुःखनिःसरणाशया’ (दुःखबाट भाग्छु भनेर मानिस दुःखैतिर दौडिरहेको हुन्छ)। २६ सय वर्षअघिको यो सत्योद्गारको यतिबेला अझै बृहत् अर्थ लाग्छ। एउटा  व्यक्ति वा समुदायको दुःख र सुखभन्दा अकल्पनीय ठूलो मात्रामा– मानव जातिको ‘सुख’ खोजले आफ्नो प्रजातिको मात्र होइन, पृथ्वीमा रहेका अनगन्ती प्राणीलगायत पृथ्वी स्वयंकै भविष्य भयावह बन्दै छ। ‘सुख’को यो बेलगाम खोजमा मानव जातिले प्रलय निम्त्याउँदै छ।

छाडा बजारको गौरव बढाइरहने ‘समृद्धि’, ‘सामाजिक न्याय’लाई निरर्थक कर्मकाण्डीय मन्त्र बनाउने आडम्बर, आफूपछिका अनेक पुस्ताको बाँच्न पाउने अधिकार हनन गर्ने प्रकृति दोहन र निरन्तर नांगिरहेको पाखण्डपूर्ण ‘क्रान्तिकारिता’को कर्कश आवाजले भने हामीलाई यस्तो हुनबाट रोकिरहनेछन्, रोकिरहेकै छन्। यसबाट मुक्तिको यत्न गरौं।

मनमा प्रश्न उब्जिन सक्छ– यी ‘कोरा सैद्धान्तिक’जस्ता लाग्ने कुरामा हामी नेपालीलाई केको चासो ? चासो किनभने सापेक्षिक रूपले ‘गरिब’ र ‘दुःखी’ हामी नेपाली पनि प्रलय निम्त्याउने मानिसको जमातमा ‘दर्शनाभिलाषी’ भएर उभिइसकेका छौं। समृद्धिको सपनालाई उचित दिशातिर डो¥याउन सकिएन भने हामी पनि पृथ्वी मासेको महापापका भागी हुनेछौं। तर समृद्धिलाई साँच्चै सम्यक् दिशा प्रदान गर्न सक्ने हो भने बाँकी विश्वलाई नै बाटो देखाउन सक्ने सम्भावना पनि हामीसँग छ।

धेरै गर्नु पनि पर्दैन। यातायातका साधनको विद्युतीकरणजस्तो अति साधारण र सजिलो काममा इमान्दारी, दृढ संकल्प, द्रुत गति र जोडतोडसाथ लागेर मात्रै हेरौं त ! त्यसले ल्याउने समृद्धिको चरित्र नै फेरिनेछ। ‘समृद्धि’  शब्दलाई व्यवहारमा भ्रष्टाचारसँग छुट्याउनै नसक्ने पापलौकिक दुर्बलतालाई जित्ने दृढ निश्चय गरेर साँच्चै काममा लागौं त ! त्यो समृद्धि मृत्युउन्मुख होइन, साँच्चै जीवनउन्मुख हुनेछ। कृषिलाई ‘उखुचोर’को सुविधा होइन, खाद्य सुरक्षाकवच बनाएर हेरौं त ! जताततै ‘माता मे पृथ्वी, पुत्रोऽम् पृथिव्या’ मन्त्र गुञ्जिन थाल्नेछ। 

सत्तरी हजार वर्षअघि मानिसको चेतमा संज्ञानात्मक क्रान्ति भएको थियो, वंशाणुमा भएको उत्परिवर्तनले। यो जीवशास्त्रीय कुरो थियो। सायद मानिसको आफ्नै नियन्त्रणभन्दा बाहिर ‘प्रकृतिको छनोट’ थियो। तर यतिबेला होस नगुमाउने हो भने मानिसले आफ्नै प्रयत्नले आफ्नो चेतमा अर्को महान् क्रान्ति ल्याउन सक्छ– ‘प्रज्ञानात्मक क्रान्ति’। पाँच हजार वर्षभन्दा पनि कम समयमा आफ्नो चेतमा मानिसले जे जति प्रज्ञानोन्मुख तत्व जम्मा  गर्न सकेको छ, त्यसको उचित उपयोग गर्ने हो भने यस्तो प्रज्ञान–क्रान्ति कोरा कल्पना मात्रै हुने छैन।

‘बुद्ध नेपालमा जन्मिएका थिए’, ‘जनक नेपालमा जन्मिएका थिए’ जस्ता नारा घोक्रो सुकुन्जेल भट्याइरहनुको सट्टा उनीहरूका केही कालजयी शिक्षाका निम्ति मात्रै आफ्नो चेतनाको द्वार खोलिदिऊँ त ! प्रज्ञानको अद्भूत नदी बग्न थाल्नेछ। पापीको लाममा प्रलयका ‘दर्शनाभिलाषी’ भएर उभिनुको सट्टा हामी सम्भवतः बाँकी विश्वलाई बाटो देखाउन सक्ने कर्ता नै हुनेछौं। छाडा बजारको गौरव बढाइरहने ‘समृद्धि’, ‘सामाजिक न्याय’लाई निरर्थक कर्मकाण्डीय मन्त्र बनाउने आडम्बर, आफूपछिका अनेक पुस्ताको बाँच्न पाउने अधिकार हनन गर्ने प्रकृति दोहन र निरन्तर नांगिरहेको पाखण्डपूर्ण ‘क्रान्तिकारिता’को कर्कश आवाजले भने हामीलाई यस्तो हुनबाट रोकिरहनेछन्, रोकिरहेकै छन्। यसबाट मुक्तिको यत्न गरौं।

प्रकाशित: १० माघ २०७६ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App