coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

काठमाडौं - २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ सहयोग गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहिबार उक्त रकम पुनर्निर्माण समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई हस्तान्तरण गरेका हुन्। यसअघि महानगरले काष्ठमण्ड पुननिमार्णको लागि पाँच करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो।

हालसम्म पुननिर्माणको करिब ५५ प्रतिशत काम सम्पन भएको जनाइएको छ। ‘महानगरभित्रका सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा प्रवद्र्धन गर्न हामीले अरुको बाटो हेर्नु हुँदैन,’ महानगरप्रमुख शाक्यले भने, ‘यहाँका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको मर्मतमा हामीले सक्रियताका साथ काम गर्दै आएका छौं।’ महानगरले काम सुरु गर्न ५० लाख रुपैयाँ दिँदा काम हुन्छ कि हुँदैन भन्ने शंका थियो तर काम सुरु भएपछि बजेट अभाबले कुनै काममा अवरुद्ध नभएको उनले दावी गरे।

कामको प्रगति राम्रो भएपछि महानगरले थप ५ करोड रुपैयाँ उपलब्ध गराएको प्रमुख शाक्यको भनाइ छ। आफ्नै कार्यकालमा पुनर्निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले तिव्रगतिमा काम गर्न उनले निर्देशनसमेत दिएका छन्। सीप र कला भएका कलाकार भेला गराएर समितिले काम गराउनु नै सबैभन्दा ठूलो उपलब्धी भएको महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताइन्।

‘महानगर आफैले खर्च गरेर सम्पदा पुनर्निर्माण गर्छ। पैसाको समस्या हुँदैन। समयमा काम सम्पन्न गराउन समितिले ध्यान दिनुप¥यो,’ उनले भनिन्। त्यस्तै प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको भन्दै प्रसंशा गरे। रकम हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य राजेशकाजी श्रेष्ठले काष्ठमण्डपलाई छिटो, मौलिक स्वरूप र दिगो रूपमा पुनर्निर्माण गर्न सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै पुनर्निमार्ण समितिका अध्यक्ष राजेश शाक्यले अहिलेसम्म ५५ प्रतिशत काम सम्पन्न भएकाले तीन वर्षमा सबै काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘अहिले पहिलो तलाको छाना बनाउने अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘दोस्रो तलाको झ्याल राख्ने काम पनि भैरहेको छ। हामी तोकीएकै समयमा काम सम्पन्न गर्छाैँ।’ अहिलेसम्म काष्ठमण्डप पुनर्निर्माणमा पाँच हजार क्यूफिट काठ उपभोग भइसकेको पुननिर्माण समितिले जनाएको छ।

पुनर्निर्माणका लागि दैनिक ४० जनाभन्दा बढी कलाकार तथा श्रमिकले काम गरिरहेको बताइएको छ। काष्ठमण्डपलाई उपत्यकाको सबभन्दा पुरानो र ठूलो सार्वजनिक स्थल मानिन्छ। उपत्यकाको नाम काष्ठमण्डपबाटै काठमाडौं भएको मान्यता छ्।

२०७५ साल बैशाख १८ गते काठमाडौं क्षेत्र नं. ८ क का प्रदेशसभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा ५५ सदस्यीय काष्ठमण्डप पुनर्निर्माण समितिले नगर कार्यपालिकामा पुनर्निर्माणका लागि प्रस्तावना पेश गरेको थियो। सोही प्रस्तावका आधारमा पुनर्निर्माण सुरु गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन गरेर पुरातत्व विभागबाट स्वीकृत गराइ काम गर्ने महानगरपालिका र काष्ठमण्ड पुनर्निमार्ण समितिबीच २०७५ जेठ २४ गते सहमति भएको थियो।

प्रकाशित: १० माघ २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App