coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

असन्तुष्ट पक्षकाे नेता बन्दै शशांक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका छन्। १३औं महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुँदा शशांकले सभापतिलाई साथ दिएका थिए। पुस ११ गतेको केन्द्रीय समितिबाट संस्थापन इतरको सहभागिताबिनै १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि भने महामन्त्री शशांक देउवाविरुद्ध देखिएका हुन्।

सभापति देउवाविरुद्ध उत्रिएका संस्थापन इतरका अन्य नेताभन्दा आक्रामक देखिएका शशांकले देउवाबाट पार्टी नचल्ने बताउँदै आएका छन्। आगामी महाधिवेशनले पार्टी नेतृत्व परिवर्तन गर्ने शशांकको दाबी छ। सभापतिप्रति नरम रहँदै आएका महामन्त्री शशांक अहिले एकाएक किन देउवाविरुद्ध आक्रामक देखिएका हुन् ? महामन्त्री शशांकनिकट एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवा सहमतिका आधारमा नभएर एकलौटी ढंगले अघि बढेपछि परिस्थिति फेरिएको सुनाउँछन्। ‘सभापति आफ्नो ढंगले अघि बढ्ने, महामन्त्रीले उहाँलाई साथ दिइरहने कुरा सम्भव छैन,’ ती नेताले भने, ‘महामन्त्री भनेको आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी पनि हो। त्यसैले उहाँले आफ्नो धारलाई स्पष्ट बनाउनुभएको हुन सक्छ।’

१४औं महाधिवेशनबाट पार्टी नेतृत्व लिन आकांक्षी महामन्त्री शशांकले संस्थापन इतरको केन्द्रमा पनि बिस्तारै आफूलाई राख्न थालेका छन्। पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटलाई समेत तीव्र बनाएका उनले संस्थापन इतरको बैठक निरन्तर आफ्नै निवासमा राख्दै आएका छन्। महाराजगन्जस्थित निवासमा असन्तुष्ट पक्षको बैठक राखेर आफू नै उक्त समूहबाट सभापतिको प्रत्यासी हो भन्ने सन्देश उनले प्रवाह गर्न खोजेको कांग्रेस नेताहरूको विश्लेषण छ।

पार्टीभित्र देखिएको पछिल्लो विवाद समाधानका विषयमा सभापति देउवासँग बुधबार भएको छलफल र आगामी रणनीति बनाउन बिहीबार पनि महाराजगन्जस्थित शशांक निवासमा असन्तुष्ट पक्षको बैठक बसेको थियो। भेलाले महाधिवेशनको सुनिश्चितालाई जोड दिनुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार कार्यतालिका बनाउनुपर्ने निर्णय गरेको छ। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता वितरण र छानबिन समिति गठनलाई प्राथमिकतामा राखेर संस्थापन पक्षसँग छलफल गर्ने निष्कर्ष निकालेको भेलाले पार्टीका विभागहरू र भ्रातृ संगठनको केन्द्रीय समिति गठनलाई दोस्रो प्राथमिकतामा राखेर छलफल गर्न नेताहरूलाई सुझाएका छन्।

संस्थापनइतर समूहका नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै शेखर कोइराला, रामशरण महत पार्टी नेतृत्वका लागि आकांक्षी छिन्। सबै नेताले आ–आफ्नो ढंगबाट सक्रियता देखाइरहेका छन्। तर महामन्त्री शशांक संस्थापनइतर समूहको केन्द्रमा आफूलाई राख्दै देउवाविरोधी जनमत आफ्नो पक्षमा पार्न लागिपरेका छन्। कोइराला परिवारका शशांक र शेखर दुवैले पार्टी नेतृत्वका लागि आकांक्षी देखिएपछि पार्टी नेता तथा कार्यकर्ताले उनीहरूलाई मिलेर अघि बढ्न आग्रह गर्दै आएका छन्। शशांक र शेखरले पार्टी नेता तथा कार्यकर्तालाई आफूहरूबीच विवाद नरहेको भन्दै चिन्ता नगर्न पनि आग्रह गर्दै आएका छन्।

केही दिनअघि निकट जिल्ला सभापतिहरूलाई सिनामंगलस्थित होटल यएरपोर्टमा दिएको रात्रिभोजमा शशांक र शेखरले आफूहरूबीच विवाद नरहेको सुनाएका थिए। केन्द्रीय सदस्य चन्द्र भण्डारीले शशांक, शेखरका साथै पूर्वमहामन्त्री प्रकाशमान सिंहले आँट नगर्दा मुलुक र पार्टी अहिलेको अवस्थामा आइपुगेको भन्दै असन्तुष्टि जनाएका थिए। त्यसपछि नेता शेखरले सबैको योगदानका कारण मुलुक र कांग्रेस पार्टी पनि टिकिरहेको भन्दै शशांक र आफूबीचमा समस्या नभएको सुनाएका थिए। आफूहरू दुईजनाबीच केही कुरा मिल्ने भन्दै पार्टी नेतृत्वका लागि पनि सल्लाह गरेरै अघि बढ्ने जनाउँदै शेखरले चिन्ता नगर्न आग्रह गरे। शेखरसँग बसेका शशांकले लगत्तै दुईजनाबीच कुनै समस्या नरहेको र नरहने भन्दै सोही सन्देश नेता तथा कार्यकर्तालाई प्रवाह गर्न पनि उनले आग्रह गरेका थिए। तर शेखरका लागि सबैभन्दा बढी टाउकोदुखाइ शशांकलाई मनाउनु भएको निकटहरू बताउँछन्। शशांकलाई भने सबैभन्दा समस्या नेता सिंह बन्ने नेताहरूको बुझाइ छ। संसदीय दलको निर्वाचनमा सभापति देउवाविरुद्ध खडा भएका सिंहलाई महामन्त्री कोइरालाले असहयोग गरेको उनको विश्लेषण छ। प्रस्तावक वा समर्थक केहीमा पनि शशांक नबसेप्रति सिंह रुष्ट छन्। नेता रामचन्द्र पौडेल सभापतिको प्रत्यासी नबने सिंह आगामी महाधिवेशनमा आफैं अघि सर्ने निकटहरूलाई बताउँदै आएका छन्। नेता पौडेल पनि असन्तुष्ट पक्षबाट आगामी महाधिवेशनमा पनि सभापतिको प्रत्यासी आफैंलाई बनाउने बुझाइमा छन्।

उता संस्थापन पक्षमा भने सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने देखिन्छ। सोहीअनुसारको तयारीलाई देउवाले तीव्र बनाएका छन्। देउवा प्रत्यासी नबने उनको विकल्पमा उपसभापति विमलेन्द्र निधि मैदानमा खडा हुने निकटहरूको बुझाइ छ।

प्रकाशित: १० माघ २०७६ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App