coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

माटो अभावले मूर्तिकला प्रभावित

वीरगन्ज – सरस्वती पूजा नजिकिँदै गर्दा माटो अभावमा मूर्तिकला प्रभावित बन्न पुगेको छ। पर्साको पोखरीया नगरपालिका–९ का कालीगढहरू माटो अभावका कारण सरस्वतीको मूर्ति तयार गर्ने काम प्रभावित हुँदा सोचेअनुसारको व्यापार नहुनेमा चिन्तित छन्।

विगत पाँच वर्षदेखि मूर्तिकलाबाट जीविकोपार्जन गर्दै आएका पोखरीया नगरपालिका–९ का शिवचन्द्र महतोका अनुसार सरस्वती पूजाको निम्ति मूर्तिको माग बढेपनि माटो अभावले व्यापार ह्वात्तै घटेको छ। ‘यस क्षेत्रमा मूर्तिकला बनाउने माटो पाइँदैन्। माटो पाइहाले पनि जग्गाधनीले प्रति ट्र्याक्टर करिब ६ सयका दरले रकम लिने गरेकाले यसपालि थोरै मूर्तिकला तयार भएका छन्,’ उनले भने। विगतका वर्षमा यस सिजनमा मूर्तिकला बनाएर लाखौं रुपैयाँ आम्दानी गरेपनि यसपालि किसानले खेतमा गहुँ छरेकाले माटो नपाउँदा समस्या भएको गुनासो उनले गरे।

यस क्षेत्रका कालीगढहरूले सडक छेउ, दलान, घर–आँगनमा मूर्ति बनाउन सक्रिय भएसँगै प्रतिस्पर्धा समेत बढेको स्थानीय रमेश पण्डितले बताए। भावना र कलाको संयोजनले काँचो माटो र पराललाई मिसाएर विभिन्न आकृति दिने यसतर्फ नयाँ पुस्ता आकर्षित हुन सकेका छैनन्।

आगामी माघ पञ्चमीको अघिल्लो दिनसम्म सरस्वरतीका मूर्तिहरू बिक्री भइसक्नुपर्नेछ। हुस्सु र शीतलहरको कारण मौसमको खराबीले घाम उदाउन नसक्दा कालीगढलाई मूर्ति सुकाउन समस्या समेत भइरहेको छ। प्रविधिले विकास गरिसक्दा समेत भगवानप्रतिको आस्थाका कारण सर्वसाधारण माटोको मूर्ति खोज्ने हुँदा यो व्यवसाय संकटमा नपर्ने अनुमान उनीहरूले गरेका छन्। यस क्षेत्रमा मूर्तिकला बनाउन कालीगढहरू निरक्षर भएकाले आम्दानीबाट आएको रकम सीप विकास गर्नभन्दा परिवारमा खर्च गरिरहेका छन्।

बुद्धि, ज्ञान र विद्याका रूपमार्फत संसारभर प्रकाश फैलाउने सरस्वतीलाई श्रीपञ्चमीको दिन विद्यार्थीहरूले पूजाअर्चना गरेर सम्झने गरेका छन्।

प्रकाशित: १० माघ २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App